९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीवनको उर्वर समय खाडीमा बिताए पनि कोरोनाले फेरिदियो जिन्दगीको बाटो

३१ चैत्र २०७७, मंगलवार ०४:४४

चैत ३१, म्याग्दी । काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो । जीवनको उर्वर समय मलेशिया र विभिन्न खाडी मुलुकमा बिताउनुभएका ज्यामरुककोट सानालेखका धु्रव थापा गत वर्षदेखि गाउँमै तरकारी खेती गरेर बस्नुभएको छ । 

जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर छन्त्याल विश्वव्यापीरूपमा कोरोना महामारी शुरु भएपछि कतारस्थित कार्यरत कम्पनी बन्द हुँदा गाउँ फर्केर फलफूल खेती र पशुपालनमा जम्नुभएको छ । त्यसैगरी मङ्गला गाउँपालिकाको अर्मनका सुरेश सापकोटा, मालिकाको देवीस्थानका जसबहादुर फगामी, रघुगङ्गाका सागर भण्डारी, अन्नपूर्ण गाउँपालिकाको शिखका टेकबहादुर बुद्धुजालगायत जिल्लाका तीसभन्दा बढी युवाले विदेश र शहरको बसाइँलाई बिट मारेर गाउँमा फर्किएका मात्रै होइनन्, कृषि र उद्योगजन्य व्यवसाय गरेर गाउँमा पनि पैसा कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिएका छन् ।

विदेश र शहरबाट गाउँमा फर्केर कृषिकर्ममा लागेका युवाले उत्पादन गरेका तरकारी र पशुपक्षी रैथाने किसानले उत्पादन गरेका कृषि उपज तथा पशुभन्दा उन्नत र फरक हुने गरेको यस क्षेत्रका व्यापारीले बताएका छन् । शहर र विदेशमा सिकेको सीप एवं प्रविधिको प्रयोग गरी गाउँमा कृषिकर्म गरेका युवा नयाँ उत्साहका साथ लागेको आफूले पाएको मङ्गला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । 

धान फल्ने १६ रोपनी खेतमा मालभोग र रानीजातका केराखेती गर्नुभएका दुर्गाबहादुरले कोरिया र काठमाडौँको रोजगारी र व्यवसायभन्दा आफ्नै गाउँको माटोमा गरिएको व्यवसायले बढी आनन्द दिएको बताउनुभयो । “पैसाको खोजीमा कहाँकहाँ भौतारिइयो, तर कतै पनि सन्तुष्ट हुन सकिएन”, ५२ वर्षीय थापाले भन्नुभयो, “तर पैसाको सुगन्ध त आफ्नै माटोमा पो पाइँदोरहेछ ।” उहाँ १४ वर्ष कोरियामा पोखेको पसिनाको मूल्यभन्दा गाउँमै गरेको श्रमको प्रतिफल निकै मीठो भएको बताउनुहुन्छ । 

थापाले जस्तै विदेश र शहर बसेर गाउँ फर्किएका धेरै युवाले गाउँको माटोमै पैसाको महत्व पाउन थालेको बताएका छन् । भारतको मुम्बईस्थित पाँचतारे होटलमा कुकको काम गरेका बगरफाँटका गणेश घिमिरे र युएईको एक होटलमा १० वर्षसम्म काम गरी गत वर्ष गाउँ फर्केर होटल व्यवसाय सञ्चालन गरेका राजु कार्कीले आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय सञ्चालन गरेर त्यसबाट प्राप्त हुने आम्दानीको मज्जै बेग्लै हुने बताउनुभयो । घिमिरेले गाउँमा नै होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्नुभएको छ भने कार्कीले म्याग्दीको नयाँ पर्यटकीयस्थल लभ्लीहिलमा सञ्चालित लभ्लीहिल रेष्टुरेन्टमा कुकको काम गर्दै आउनुभएको छ ।

थापा, छन्त्याल, कार्की, घिमिरे, सापकोटा र फगामीजस्ता धेरै व्यक्ति अहिले शहर छाडेर गाउँमा फर्किनुभएको छ । गत वर्षदेखि महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेकाहरू गाउँ फर्किएपछि गाउँले नयाँ त्राण पाएको छ । यसले गर्दा गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेशा÷व्यवसाय तथा अध्ययनका लागि शहर बसेकाहरू फर्किएपछि गाउँको रूप फेरिएको छ । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन । पछिल्लो समय वृद्धाश्रमजस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ ।

युवाहरु धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरुप नै फेरिएको बेनी नगरपालिका–२ ज्यामरुककोटका ८६ वर्षीय रणबहादुर घिमिरेले बताउनुभयो । “पहिला शून्यशून्य देखिने गाउँ अहिले भरिभराउ भएको छ”, घिमिरेले भन्नुभयो, “आपत्विपत, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दोरहेछ ।” गाउँमा फर्केर आफ्नो १६ रोपनी खेत र बारीमा ५०० बढी मालभोग जातका केराका बिरुवा लगाउँदै गर्नुभएका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले शहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताउनुभयो ।

वर्षौँदेखि बाँझो रहेका खेतबारीमा अहिले हरियाली छाएको र उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय कृषकले बताएका छन् । कोरोनाका कारण उद्योग, शिक्षा, रोजगारलगायत धेरै क्षेत्र प्रभावित भएका छन् । तर कृषि र स्वास्थ्य क्षेत्रमा भने निकै सुधारका सङ्केत देखिएका सरोकारवालाको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र तीन हजार बढी करदाताले बुझाएनन् विवरण कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध राप्रपाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिए महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’ वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता