२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निषेधाज्ञामा रोकिएन पुनःनिर्माण

३० बैशाख २०७८, बिहीबार १०:४३

शर्मिला पाठक । वैशाख ३०, काठमाडौँ (रासस)। विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरबार क्षेत्र (हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदा पुनःनिर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित अन्य जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको भए पनि यहाँको ऐतिहासिक सम्पदाको पुनःनिर्माणको काम नियमितरूपमा भइरहेको छ ।

निषेधाज्ञाकै बीच कामदारले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै पुनःनिर्माणको काम गरिरहेका छन् । गोरखा भूकम्पका कारण ५८ वटा सम्पदामा क्षति भएको थियो । तीमध्ये अहिले २७ सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन । आगम्छे मन्दिर, मोहनकाली र नागपोखरीसँगै रहेको शिव मन्दिरको पुनःनिर्माण शुरु हुन बाँकी छ ।

फरासखाना, राणाकालीन सेतो भवन, त्रिभुवन स्मृति भवन र नौतले दरबारलगायतका ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ ।

यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर वाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनःनिर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनःनिर्माण भइरहेको छ । आगम्छे र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । मोहनकाली चोक, मूलचोक, नासल चोकलगायतका चोक यहाँका अन्य महत्वपूर्ण सम्पदा हुन् । 

विगत तीन महिनाअघि पुनःनिर्माणका लागि आवश्यक पर्ने लामा काठको अभाव भएको भन्दै पुनःनिर्माणको काममा समस्या भएको थियो । अहिले आवश्यक पर्ने काठ आइपुगेको र आयातमा सहज भएपछि निर्माणको कामले पुनः गति लिएको हो । ठूला र लामा काठ अभावमा यस क्षेत्रको नौतले दरबार र दश अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदा निर्माणको काम तीव्ररूपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।

निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र दश अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख खनालले जानकारी दिनुभयो । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनःनिर्माण गरेको गद्दी बैठक विसं २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।

विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठककक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा विसं १९६५ मा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।

शुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्र प्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ ।

काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा  

हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको कामअन्तर्गत अहिले ९० प्रतिशतभन्दा बढी काम सकिसकेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । अहिले छानो छाउने काम भइरहेको छ । छानाका लागि आवश्यक पर्ने केही अपुग काठ ल्याउने प्रक्रियामा रहेकाले निर्माणको काम केही बाँकी रहेको हो ।

यस सम्पदाको पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई आवश्यकतानुरूप रकम हस्तान्तरण गरिरहेको छ । पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना रवि लामिछानेलाई भद्रकालीको हिरासतमा राखिने, सोमबार अदालत हाजिर गरिने केरलामा दलित छात्रालाई सामूहिक बलात्कार, ६४ आरोपितमध्ये २० जना पक्राउ एनपीलगत्तै चन्द्र भण्डारीलेपनि गरे अध्यादेशको विरोध ओलीप्रति नेपालको कटाक्ष : अनुहार नै हेर्न मन लाग्दैन भन्नेहरू सत्ताका लागि मसँग दौडिएर आए ८४ को चुनावपछि मात्र कांग्रेस महाधिवेशन हुन्छ : शशाङ्क कोइराला रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का