२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुलाकी राजमार्गमा निर्माणाधीन पुलको काम सुस्तः स्थानीयवासीलाई सास्ती

४ भाद्र २०७८, शुक्रबार ०८:१९

राजु विश्वकर्मा । भदौ ४, लहान (रासस)। तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीमा निर्माणाधीन अधिकांश पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ । 

ठेकेदार कम्पनीको लापर्बाहीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न नहुँदा सर्वसाधारण हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । सिरहाको औरही गाउँपालिकास्थित गागन खोलामा निर्माणाधीन पुल ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र पर्दा वर्षायाममा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेको स्थानीयवासी मुकेश यादवले बताउनुभयो । 

हुलाकी सडकअन्तर्गत पूर्व बरियारपट्टिदेखि पश्चिम सदरमुकाम सिरहासम्मको सडकमा कालोपत्र सकिए पनि गागन खोलामा पुल निर्माण हुन नसक्दा सिरहाको एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पुल निर्माण कार्य सुरु भएको एक वर्ष बित्न लाग्दा पनि १० प्रतिशत काम हुन नसकेको स्थानीयवासीको गुनासो छ । 

खोलामा पुल नहुँदा काम विशेषले सदरमुकाम सिरहा बजार आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्काेतिर खोला गहिरो भएकाले बाढीका बेला सवारी साधन नै भासिने जोखिम पनि त्यतिकै छ । उहाँले भन्नुभयो, “पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर सदरमुकाम पुग्छन् भने कतिपयले लामो र घुमाउरो बाटोबाट आवतजावत गर्न बाध्य भएका छन् ।”

करिब २० वर्षअघि सडक डिभिजन कार्यालयले सो खोलामा पुल निर्माण गरेको थियो तर पुल निर्माण सम्पन्न भएको १० वर्षपछि आएको ठूलो बाढीले पुलदेखि ३५० मिटर उत्तरको पूर्वी बाँध भत्काएर खोलाले साविकको पुलदेखि २०० मिटर पूर्वबाट धार बनाएर बग्न थालेपछि सो क्षेत्रका स्थानीयवासीको आवतजावत कष्टकर बनेको हो । “खोलाले धार परिवर्तन गर्दा साविकको खोलामा पानी बग्न छोडेको छ तर त्यहाँ पुल छ । धार परिवर्तन गरेको स्थानबाट अहिले बाह्रै महिना पानी बग्ने गरेको छ”, सिरहाको बरियारपट्टि गाउँपालिका–३ का महेश यादवले भन्नुभयो, “सुक्खायाममा त केही सहज हुन्छ, तर वर्षायाममा यस क्षेत्रका नागरिकलाई आवतजावत गर्न गाह्र्रो हुन्छ ।”

हुलाकी राजमार्गको औरहीखण्डमा गागन खोलाले बनाएको ती दुईवटै खोला सामरिक हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयवासीको अनुभव छ । सो खोलामा हीराचन रोशन कन्ट्रक्सन प्रालिमार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ । तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणका काम कछुवा गतिमा हुँदा स्थानीयवासी निराश बनेका छन् । “पुल निर्माणका लागि अहिलेसम्म पिलर मात्र ठड्याइएको छ”, औरही गाउँपालिका–१ का शिवनाथ यादवले भन्नुभयो, “कामको गति हेर्दा निर्धारित समयमा काम सम्पन्न हुने छाँटकाँट देखिँदैन ।” पुल निर्माणलाई गति दिन आग्रह गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको उहाँको गुनासो छ । 

सम्झौताअनुसार नै काम अघि बढाएको निर्माण कम्पनीका साइड इञ्चार्ज दानालाल यादवले बताउनुभयो । “सम्झौता भएर २०७७ पुस महिनादेखि पुल निर्माणको काम थालेका छौँ”, उहाँले भन्नुभयो, “बर्सात सुरु भएपछि काम रोकिएको हो, वर्षा रोकिएपछि कात्तिक महिनादेखि काम पुनः सुरु गर्ने छौँ ।” खोलामा कुनै बेला पनि ठूलो बाढी आउन सक्ने भएकाले पुलको काम अघि बढाउन नसकिएको उहाँको कथन छ । यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ । वर्षासँगै कमला नदीमा आएको बाढीका कारण नवनिर्मित पुलको एउटा पिलर भासिएपछि बाटो पुनः अवरुद्ध भएको छ । सञ्चालनको तयारी भइरहेका बेला गत असार १७ गते आएको बाढीले पुलको एउटा पिलर भासिएको थियो । पुलमा १२ स्पान (पिलर) छ । चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको उक्त पुलको निर्माणका लागि पप्पु लुम्बनी विल्डर्सले २०६८ सालमा सम्झौता गरेको थियो । 

पुल निर्माण पूरा भइसकेकाले केही दिनमै सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला पुल भासिएपछि स्थानीयवासी चिन्तित बनेका छन् । भासिएको पुल पुनःनिर्माणको तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै हुलाकी सडकअन्तर्गत सप्तरीको विभिन्न स्थानमा ११ वटा पुल निर्माणाधीन अवस्थामा छन् । त्यसमध्ये कुनै पनि पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन् । सप्तरीको बिहुल नदी, खडक, कजरा, मुतनी, घोडदहलगायत नदीमा निर्माणाधीन पुल समयमा पूरा नहुँदा स्थानीय बासिन्दालाई आवतजावतमा सास्ती भइरहेको छ । 

करिब छ वर्षअघि सुरु भएको मुतनी नदीको पुल निर्माण कार्य अझै पूरा हुन नसक्दा स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य छन् । सो पुल अरनिको, लामा, वाग्मती जेभी काठमाडौँले २०७२ असार २५ गते सम्झौता गरी २०७४ असारमा निर्माण काम पूरा गर्नुपर्ने निर्माणस्थलमा राखिएको सूचना बोर्डमा उल्लेख छ । निर्माणको म्याद सकिएको चार वर्ष भइसक्यो तर, अहिलेसम्म पुल निर्माण कार्यले पूर्णता नपाएकाले सदरमुकाम राजविराज पुग्न ठूलै सास्ती भइरहेको सप्तरीको डाक्नेश्वरी नगरपालिकाका गजेन्द्र मण्डलले बताउनुभयो । 

मुतनी खोलामा रु चार करोड ७७ लाख ३६ हजार ९४५ र कजरहा खोलामा रु दुई करोड ४४ लाख छ हजार ४८ को लागतमा पुल निर्माण गर्ने सम्झौता भएको छ । सो खोलामा समयमा पुल नबन्दा केही दिनअघि मात्र एक सुत्केरीलाई उपचारका लागि राजविराज अस्पताल लगिँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । तराईका जिल्ला जोड्ने सर्वाधिक चर्चित आयोजना हुलाकी राजमार्गको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाडास्थित मुतनी खोलाको पुल समयमा निर्माण हुन नसक्दा सुत्केरीको मृत्यु भएको भन्दै विरोध जनाएका थिए । 

वर्षौंदेखि पुल निर्माणाधीन अवस्थामा रहेको भन्दै उहाँले वैकल्पिक बाटो डाइभर्सन राम्रोसँग नबनाएका कारण हिलाम्मे सडकमा एम्बुलेन्समा अस्पताल जाँदै गरेकी शम्भुनाथ नगरपालिका जमुवाको एक सुत्केरी मुतनी पुलमै मृत्यु भएको स्थानीयवासीको भनाइ छ । यसका साथै अधिकांश पुल निर्माणका लागि प्रयोग गरिएको सिमेन्ट, छड, बालुवागिट्टी गुणस्तहीन रहेको प्रत्यक्षदर्शीको भनाइ छ । पूर्वराजविराजदेखि पश्चिम बलान नदीसम्मको २५ किलोमिटर सडकमा करिब १८ किलोमिटर सडक कालोपत्र भए पनि पुल निर्माण कम्पनीले समयमा पुलको काम सम्पन्न नगर्दाबीचको खण्डमा बाटो बनाउन नसकिएको रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले जानकारी दिनुभयो ।

पुल निर्माणमा भइरहेको ढिलाइका कारण हुलाकी सडक निर्माणको काममा समेत अवरोध भइरहेकाले यसलाई तीव्रता दिन निर्माण कम्पनीलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की