चैत २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयहरुलाई सफा राख्न सरसफाइका कार्यक्रम चलाउन, स्वच्छताका लागि हरियाली बढाउन तथा कलात्मक देखाउन सवाजटका क्रियाकलाप गर्न ६ महिनाका लागि स्वयंसेवक परिचालन गरिएको छ ।
४३७ जना आवेदकबाट सर्टलिष्टमा छानिएका २४७ जनासँग गरिएको अन्तर्वार्ताबाट सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना, वातावरण र बालबालिका (बाबा) कार्यक्रमका लागि १ सय जना छानिएका छन् । उनीहरुका लागि ४ दिनको तालिम दिइएको छ । यसपछि बाबा कार्यक्रमका लागि छानिएका स्वयमसेवकहरुलाई विद्यालयका फोकल शिक्षकहरुसँगै ४ दिनको थप तालिम दिएर परिचालन गरिएको हो ।
तालिमको समापनपछि र विद्यालय जानुअघि आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सरकारका जिम्मेवार पदमा रहेको महसुस गरेर नतिजाका लागि काम गर्न गर्नुहोला । सरकार र सरकारका कार्यक्रम चिन्ने यो अवसर पनि हो । धेरैलाई यस्तो अवसर प्राप्त हुँदैन ।’ उनले भनिन्, ‘आफूभित्रको उर्जा चिनेर आफ्नो प्रयत्नबाट रुपान्तरणमा योगदान गरौँ । यसमा बालबालिकाको नेतृत्व हुनेछ । स्वयमसेवकले सहजीकरण गर्नुहुनेछ । शिक्षकहरुले अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ ।’
हरेक स्वयंसेवकले हप्ताको २ दिन (बिहीबार र शुक्रबार) विद्यालयका लागि समय उपलब्ध गराउनु पर्नेछ । वाबा समूहका फोकल शिक्षक र विद्यार्थीहरुसँग सहकार्य गरेर सुन्दर विद्यालय कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नु स्वयंसेवकको मुख्य जिम्मेवारी हो । यसका लागि हरेक बिहीबार फोकल शिक्षकसँग बसेर शुक्रबार सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउनुपर्छ । कार्ययोजना अनुसारका कार्यक्रम शुक्रबार कार्यान्वयन गर्नुपर्छ । विद्यालय हाता, कक्षा कोठा, बगैँचा, शौचालयको सरसफाइका लागि अनुवाइ गर्नुपर्छ । विद्यालयमा फोहोर वर्गीकरण अभ्यासलाई संस्थागत गर्ने काममा उनीहरुबाट योगदान हुने अपेक्षा गरिएको छ ।
स्वयंसेवामा थप समय दिन सक्नेहरुलाई महानगर स्वर्णिम योजना ‘स्मार्ट टोल’ कार्यक्रममा सहभागी गराउन सकिने अधिकारीहरुको भनाइ छ ।
बालबालिकाका नैसर्गिक अधिकारप्रति सचेत रहनुपर्छ । कोही पनि बालबालिकासँग एकान्तमा भेट्ने वा अनावश्यक कुराकानी गर्नुहुँदैन । विद्यार्थीहरुका व्यक्तिगत गोपनीयताका विषयमा ख्याल गर्नुपर्छ । गुडटच र व्याडटच लगायत हिंसा हुन सक्ने कार्यमा सचेत हुनुपर्छ । निर्धारित समयमा विद्यालय पुग्नुपर्छ । विद्यालय सुहाउँदो पोशाक र कक्षाकोठा सुहाउँदो व्यक्तित्व हुनुपर्छ । समयको सिमा पालना गर्नुपर्छ ।
विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक तथा अन्य विषयगत शिक्षक र कर्मचारीसँग समन्वय गर्नुपर्छ । सदभाव कायम गर्नुपर्छ । विद्यार्थीहरुलाई सिकाइप्रति उत्प्रेरित गर्नुपर्छ । सकारात्मक भाव र विचार जगाउने व्यवहार गर्नुपर्छ । विद्यालयको सौन्दर्य बढाउने, सरसफाइ गर्ने, खानेपानीको व्यवस्थापन गर्ने काममा विशेष भूमिका खेल्नुपर्छ । फोहोर वर्गीकरण र व्यवस्थापनका अभ्यासमा विद्यार्थीहरुलाई सहजीकरण गर्नुपर्छ ।
बुक फ्रि फ्राइडे कार्यक्रमलाई विद्यार्थीमैत्री बनाउन उनीहरुकै रुचिअनुसारका विषय र विषयसम्बद्ध १५ वटा उपसमूह बनाइएको छ ।
यी उपसमूहमध्ये बालबालिका तथा वातावरण, बिज्ञान, प्रविधि, इञ्जिनियरिङ्, आर्टस् र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य छन् । यससँगै भित्ते चित्र लेखन (म्युरल आर्ट), संस्कृति र सम्पदा, ट्राफिक, विपद व्यवस्थापन, नाट्य, व्यक्तित्व विकास, पठन संस्कार, उद्यमशील सोच, योग, संगीत र नृत्य, ड्रोन, एनिमेसन र गेमिफिकेसन र कोड कोडिङ् उपसमूह छन् । यी उपसमूहमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरुलाई राखिएको छ । हरेक शुक्रबार कम्तीमा २ घण्टा उपसमूहका क्रियाकलाप हुनेछन् ।
कक्षा ९ र १० का विद्यार्थीहरुका लागि ५६ वटा माध्यमिक विद्यालयमा १० उपसमूह छन् । कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला, फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र विजुली जडान (वायरिङ् एण्ड इलेक्ट्रिकल), विपद पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) कला, मोवाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधा तालिमका विषय हुन् । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाकाअनुसार, यी उपसमूहका हरेक कक्षा प्रत्येक शुक्रबार ६ घण्टा सञ्चालन हुन्छन् । पाठ्यपुस्तक बिना पाठ्यक्रमका विषयलाई पढाउने नभइ सिक्ने संस्कारको विकास गराउने यसको मुख्य उद्देश्य हो ।