
काठमाडौँ | त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् । आज काठमाडौँमा आयोजित दीक्षान्त समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित १६ हजार ३८० जना विद्यार्थी दीक्षित भएका हुन् ।

शैक्षिक उपाधि पाउनेमध्ये स्नातक तहका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तरका चार हजार ८६०, दर्शनाचार्य (एमफिल) का १२० र विद्यावारिधिका १५२ विद्यार्थीले आज दीक्षान्त समारोहमा भाग लिएका हुन् । कार्यक्रममा विभिन्न सङ्कायबाट सर्वोच्च नतिजा ल्याउने २२ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आह्वान गर्नुभयो । उहाँले चार लाखभन्दा बढी विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक–विद्यार्थीको अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा दिनुपर्ने चुनौती रहेको बताउनुभयो ।
समारोहका प्रमुख अतिथिका रूपमा रहनुभएका भौतिक शास्त्रतर्फ सन् २०१५ को नोबेल पुरस्कार विजेता प्राध्यापक डा ताकाआकी काजिताले आफूले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययन जारी राखेकाले नोबेल पुरस्कर प्राप्त गर्नसक्ने क्षमता विकास भएको बताउनुभयो ।
समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति महावीर पुनले अबको विश्वले व्यक्तिलाई ‘तपाईंसँग कुन डिग्री छ ?’ भन्दा पनि ‘तपाईं के गर्न सक्नु हुन्छ ?’ भनेर सोध्ने भएकाले आफ्नो ज्ञान र सीपलाई समाज परिवर्तनका क्षेमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले विद्यार्थीको उज्वल भविष्यको सुरुवात दीक्षान्तबाट हुने बताउँदै आफूले सिकेका सैद्धान्तिक ज्ञान व्यवहारमा कार्यान्वयन गर्दै जानुपर्ने धारणा राख्नुभयो ।
