पोर्चुगल पठाउँछु भन्दै १७ जनालाई बेलारुस पुर्याएर अलपत्र, पीडितद्वारा पत्रकार सम्मेलन

Posted on: 29 Jul, 2023

साउन १३, काठमाडौं । पोर्चुगल पठाउँछु भन्दै १७ जनासँग लाखौँ उठाएर एक जना वेपत्ता भएका छन् । पीडितहरुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कन्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाहीले पोर्चुगल लैजाने भन्दै लाखौं ठगेर अलपत्र पारेको आरोप लगाएका हुन् । 

शाहीले गत चैत्र २८ गते पोर्चुगल लैजानै भन्दै आफूसहित १८ जनालाई नेपालको एयरपोर्ट हुँदै मस्को पुर्याएको पीडित राम रोकायले बताए । 

मस्को पुगेपछि एजेन्ट शाही अर्कै देशतर्फ (बोस्निया) लागेको र अन्य १७ जनालाई प्रवाश नाम गरेका भारतीय एजेन्टले रिसिभ गरेको उनको भनाई छ ।


‘हामी चैत्र २८ गते दिपेश शाहीको माध्यमबाट पोर्चुगल लान्छु भनेर हामी नेपालको एयरपोर्ट हुँदै मस्को गयौं । मस्को गएपछि प्रवाश भन्ने इन्डेन मान्छेले हामीलाई एयरपोर्टमा रिसिभ गरेर होटलमा लैजानुभयो,’ पीडित रोकायले भने । 

आफुहरुलाई मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौं भनेपनि त्यहाँबाट ट्याक्सीमा हालेर बेलारुस पु¥याइएको उनको आरोप छ । 

बेलारुसमा पनि ८/१० दिन राखेर त्यहाँबाट पाकिस्तानी एजेण्टको साथ लगाएर पोर्चुगलका लागि पानी नै पानी भएको बाटोबाट लाट्भिया पुर्याएको र त्यहाँको प्रहरीले  बेलारुसमै फिर्ता पठाएको उनले बताए ।

त्यसपछि फेरि १५/२० बेलारुसको होटलमै बसेर पोल्याण्ड छिर्ने योजना पनि सफल नभएर बेलारुस नै फर्किँदा त्यहाँको प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर १५ दिन जेलमा राखेपछि आफ्नै खर्चमा नेपाल फर्काइदिएको पीडित रोकायले बताए ।

पोर्चुगल पठाउँछौं भनेर विभिन्न देशमा पुर्याएर विचल्ली बनाउने शाहीलाई कानुनी कारबाहीसहित आफूहरुको पैसा फिर्ता होस् भन्ने चाहेको पीडितको भनाई छ । 

‘हामीजस्ता अरु नफसुन् । हाम्रो लगेको पैसा फिर्ता आओस् । उसलाई कानुनी कारबाही होस् भन्ने हामी चाहन्छौं,’– उनले भने । 

त्यस्तै , अर्का पीडित कञ्चनपुर बेलौरीका वियज रानाले पोर्चुगल पठाउँछु भनेर गठी गर्ने शाहीलाई उचित कारबाही गर्न सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराए ।

पोर्चुगल पुर्याएर भनेअनुसारको काममा लगाउन नसके लागेको पूरै पैसा फिर्ता गरिदिने शर्तमा शाहीलाई आफूहरुले पैसा बुझाएको पीडितहरुको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!