नेदरल्याण्ड र पोल्याण्ड पठाइदिने भन्दै झण्डै ४६ लाख रुपैयाँ ठगी, दुई जना पक्राउ

Posted on: 03 Aug, 2023

साउन १८, काठमाडौँ | वैदेशिक रोजगारीको लागि युरोपेली देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीको लागि नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनाबाट ४४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महोत्तरीका ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनले ६ जनाबाट पटकपटक गरी रकम मागेर सम्पर्क विहीन बनेका थिए । पीडितले वैदेशिक रोजगारीमा दिएको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गएको सोमबार बर्मालाई पक्राउ गरेको हो । उनले पीडितहरुलाई महिनाको दुई लाख रुपैयाँ कमाइ हुने जागिरको प्रलोभन दिएका थिए भने नेदरल्याण्ड जान १२ लाख रुपैयाँ लाग्ने बताएका थिए ।

यस्तै, युरोपेली देश पोल्याण्ड पठादिन्छु भन्दै ठगी गर्ने पाल्पाका पुरण अल्मालीलाई गएको मंगलबार प्रहरीले पक्राउ गरेको छ । अल्मालीले धनन्जय चौधरीलाई आकर्षक रोजगारीमा पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । पोल्याण्ड जान जम्मा ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ गएपछि होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर पीडितबाट एक लाख २० हजार रुपैयाँ लिइ फरार रहेका अल्मालीलाई काठमााण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

अहिले वैदेशिक रोजगार विभागले दुवै जनामाथि थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!