अमृता बस्नेत (धादिङ) | सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको पनि झण्डै डेढ बर्ष भयो । यसै सिलसिलामा धादिङका १० वटा गाविसहरु घुमियो बैदेशिक रोजगारका अवसर "/>
अमृता बस्नेत (धादिङ) | सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको पनि झण्डै डेढ बर्ष भयो । यसै सिलसिलामा धादिङका १० वटा गाविसहरु घुमियो बैदेशिक रोजगारका अवसर तथा चुनौतिहरु केलाउन । गाउँ छिरेपछि विदेश नजानेको घर भेट्न निक्कै मुस्किल पर्छ । मैले पनि गाउँ जाँदा यस्तै घर भेटें । कसैका बुवा, कसैका दाइ कसैका दिदी अनि कसैका आमा विदेशमा छन् । त्यस्तै कोही वैदेशिक रोजगारीमा जान तयारी गर्दै गरेका भेटिए त कोही विदेशबाट फर्किएर आफ्नै व्यवसायमा लागेका । त्यसमा पनि कमाउने सपना लिएर विदेश गएर उतै हराएकाको घरमा पुग्दा मन अमिलो हुन्छ ।
यो डेढ बर्षमा धेरै मनिससँग भेट भयो । धेरै कमाएर नेपाल फर्केका र नेपलमा आफ्नै लगानीले व्यवसाय गरिरहेकाहरु भेटिए । उनीहरुकै भीडमा बिदेशमा लामो समय बिताएर पनि रित्तै फर्किएकाहरुलाई भेट्दा उनीहरुकै पीडा छुन्छ । पैसा कमाएर फर्किए हुन या रित्तै उनीहरुको साझा भनेको विदेशमा गरेको दुःख नै थियो । त्यो पनि भनेको जस्तो काम र तलब नपाएर भोग्नुपरेको दुःख ।
सलाङ ८ धादिङका बासु सिलवाल नेपाल फर्केको १ महिना जति भयो । खाल्टे १ का सिताराम ढुङ्गाना र खाल्टे ५ का बिनोद दाहाल पनि नेपाल फर्किनुभएको छ । किन फर्किनुभएको त ? मसँगको भेटमा सबैको साझा उत्तर आयो दुःख भयो । उत्तर जस्तै साझा थियो उहाँहरुले दुःख पाउनुको कारण पनि । बिदेशमा भनेको जस्तो काम र तलब नहुनु ।
गाउँमा दुःख पाएकाहरुलाई भेटेपछि मैले धादिङको सूचना केन्द्रले राखेको रेकर्ड हेरें । रेकर्डमा गएको बर्ष ६१ जना विदेशमा भने अनुसारको काम र तलब नपाएर समस्यामा परेको देखें । तीमध्येमध्ये ३८ जना नेपाल फर्किएका छन् । रेकर्डमै रहेका बाँकी २३ जनाको हालत पनि त यही होला म सोचिरहेको छु । मैले भेटेकामध्ये बासु सिलवालले भन्नुभएको थियो ‘मैले काम गर्ने कम्पनीमा मात्रै १ सय ४५ जना नेपाली बाध्य भएर काम गरिरहेका छन ।
कोही नेपाल फर्किंदा पनि काम पाउन मुस्किल भनेर काम गरिरहेका छन् भने धेरैको साझा समस्या छ नेपाल फर्किएर आउँदा लागेको ऋण कसले तिरिदिन्छन् ।
दाङका श्रीराम राना र जोग बहादुर रानाको कथापनि उस्तै थियो । २ महिनादेखि कतारमा फायर फाइटिङको काम गरिरहेका उहाहरु भन्नुहुन्छ , काम धेरै गाह्रो छ, ठुलो ठुलो पाइपहरु बोकेर तलमाथि गर्नुपर्छ । प्लम्बरको काममा भनेर लगिएका श्रीराम र जोगलाई अर्कै काम लगाएको रहेछ । उहाँहरुले नेपाल फर्किने प्रयास पनि गर्नुभयो तर साहु न नेपाल फर्किन दियो न त भने जति पैसा नै दियो । त्यसैले अहिले पनि उहाँहरु समस्यामै हुनुहुन्छ ।
धादिङको बसेरी ५ का रेन्जु ढकाल गर्दा गर्दैको शिक्षक पेशा छोडेर भिजिट भिसामा दुवई पुग्नुभयो । त्यो पनि राम्रो काम पाइने आशमा । तर त्यहाँ पुगेपछि न खानको टुङगो भयो न त काम नै । धेरै कमाउने लोभमा रेन्जुले १ लाख ७० हजार पनि डुबाउनुभयो ।
बासु सिलवाल चाहिँ चार बर्ष अघि साउदी जानुभएको थियो । २ वर्षसम्म त कमाइ राम्रै भएछ । त्यसैले २ बर्षमा ६ लाख पनि पठाउनु भएको थियो रे तर त्यसपछि भने कम्पनीको व्यवस्थापन फरक भयो र तलब दिन छोड्यो । आज देला भोलि देला भन्दा भन्दै ६ महिना बित्यो तर तलब आएन काम पनि फरक पर्यो । त्यसपछि ६ महिनाको तलब माया मारेर उल्टो ४० हजार रुपैयाँ आफ्नो खर्च गरेर नेपाल फर्कनुभएको छ । जति जनालाई भेटें उनीहरुका पीडा आ–आफ्नै थिए तर कारण एउटै थियो भने अनुसारको काम र कमाई नहुनु ।
मैले सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दाको छोटो अनुभवले काम तलब फरक पर्नुमा मुख्य ३ वटा कारण देख्छु । पहिलो सुरुमै कम्पनी नराम्रो पर्नु, दोस्रो नबुझी भिजिट भिषामा जानु र तेस्रो चाहिँ कम्पनी घाटामा गएर बन्द हुनु ।
त्यसैले कसैले जाने बित्तिकैदेखि दुःख पाइरहेका छन भने कसैले धेरै बर्ष काम गरेर घर फर्किने बेलामा । त्यसैले बैदेशिक रोजगारमा जानुुुु अघि नै आफु जान लागेको कम्पनी कस्तो हो ? त्यहाँ के काम गर्नुपर्ने हो ? तलब कति हुन्छ ? आफु जान लागेको भिषा के हो जस्ता सबै कुरा बुझ्नु जरुरी छ । त्यस्तै कम्पनी राम्रो भयो भन्दैमा करार अवधि सकिएपछि पनि बस्ने गर्न हुँदैन । अनि भनेको काम र दाम पाइन भनेर कम्पनी छोडेर अवैधानिक भएर पनि काम गर्नु हुँदैन । यी कुरालाई ध्यान दिन सके विदेशमा भने जस्तो काम र तलब नहुने समस्याबाट जोगिन सकिन्थ्यो कि ।