काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीको महानिर्देशकको जिम्मेवारी खोसेको छ । सरकारी सेवाबाट २०८२ वैशाख पहिलो साता स्वत: रिटायर्ड हुने क्रममा रहेका खत्रीलाई हटाएझैँ गरेर श्रममन्त्रीले सुशासनको छारो हाल्ने प्रयास गरेको स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय विभागका काम कारबाहीबारे व्यापक प्रश्न उठ्न थालेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेतृत्व परिवर्तन गरेका हुन् । बिभागमा नयाँ महानिर्देशकको रुपमा मन्त्रालयकै वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका सहसचिव जीवलाल भुसाललाई जिम्मेवारी दिईएको छ । बेथितिका धेरै बिषय उठान हुँदा त्यसैलाई शान्त पार्न मन्त्री भण्डारीले रिटायर्ड हुनु १५ दिन अगाडी मात्र महानिर्देशक हटाएर कारवाहीको कार्ड प्रयोग गरेका हुन् । श्रम मन्त्रालयका अधिकारीदेखि मन्त्रीसम्मको योजनामै बिभागमा अनियमितता तथा भ्रष्ट गतिबिधि हुने सम्बन्धित कार्यालयका कर्मचारीहरुनै स्वीकार्छन् । श्रम मन्त्रालयको नीतिगत भ्रष्टाचार बाहेक सबैभन्दा बढी भ्रष्टाचार हुने निकायनै वैदेशिक रोजगार बिभाग हो । बिभागको गतिबिधि सकारात्मक नहुँदा दैनिक बिदेसिने सयौं युवाहरु प्रभावित भईरहेका छन् ।
पछिल्लो समय बिभागले गर्नुपर्ने काम राम्ररी नगरेको अवस्थामा मन्त्रालय मौन भएको भन्दै कयौं सवालहरु उठ्दै आएका छन् । बेथितिका कयौं सवालमा लामो समयसम्म चुपचाप बसेका श्रममन्त्री शरदसिंह भण्डारीले अन्तिम अवस्थामा कारवाहीको छारो हाल्न भए पनि सहसचिव खत्रीलाई मन्त्रालयमा ताने । तर त्यसो हुनुमा श्रममन्त्रीले सुशासनमा ध्यान दिएको भन्दा पनि बिभाग र मन्त्रालयमाथि उठाइएको पछिल्ला नकारात्मक अवस्थालाई सकारात्मक बनाउने कदमको रुपमा लिईएको छ ।
स्रोतका अनुसार खत्री योजना बनाएरै मन्त्रालय तानिएका हुन् । मिडियामा आएजस्तो उनलाई कारवाहीनै गरिएको भने होइन । मन्त्रालयले बिभागमा महानिर्देशक पठाएपछि ठेक्कानै दिएर अकुत रकम अशुलीको लागि जिम्मेवारी दिने, तोकिएको अशुली कोटा नपुग्दा असक्षम भन्दै नकारात्मक ट्याग दिएर फिर्ता बोलाउने-अर्कैलाई पठाउने सम्मको काम हुने स्रोतले बतायो । बिभागमा बढ्ने बेथितिमा माथिदेखिनै मिलिमतो हुने कुरा लामो समयदेखि सुनिदै आएको विषय हो । यस्तै कारण वैदेशिक रोजगार क्षेत्र सुधारको सट्टा बर्षौंदेखि बेथितिको खाडलमै छ ।
लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा भईरहेको बेथितिको प्रोत्साहन सम्बन्धित निकायकै अधिकारीहरुको गैरजिम्मेवारी र नैतिक अनुसासनको कारण भईरहेको आरोप छ । यो क्षेत्र सुधार नहुनुले आरोपलाई पुष्टि समेत गरेको छ । यस बिषयलाई सम्बन्धित निकायकै कर्मचारीहरुले समेत स्वीकार गर्छन् ।
गत बिहिबार मन्त्रालय तानिएका खत्री बिभागको महानिर्देशक पद सम्हालेदेखिनै बिभागको काम-कारवाहीबारे प्रश्नहरुको सिकार बन्दै आएका थिए । उनको पालामा खासै सुधारको कुनै पक्ष समेत देखिएन । बरु बिभागको बारेमा बिबिध प्रश्न उठे, समाचारहरु आए, मन्त्रालयले समेत कुनै चासो देखाएन । बिभागले महानिर्देशक खत्रीको कार्यकालमा वैदेशिक रोजगारी सम्बन्धी सेवामा ढिलासुस्ती, अनियमितता तथा प्रविधिगत समस्या लगायतका विषयले चर्को आलोचना खेप्दै आएको थियो । सेवाग्राहीहरूबाट बढ्दो गुनासो र विभागको कामप्रति असन्तुष्टि जनाउँदै आएका सरोकारवालाहरूले सुधारको माग समेत गरिरहेका थिए । त्यसो त केहि बेथितिका बिषयलाई लिएर मन्त्रालयमै गुनाशो पुगेको थियो । तर मन्त्रालयले लामो समय यस सम्बन्धमा अनदेखा गर्दै आएको थियो ।
गत महिना पूर्व श्रममन्त्री समेत बनिसकेका तथा रास्वपाका कार्यबाहक सभापति समेत रहेका सांसद डोलप्रसाद अर्याल (डीपी) ले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूसको अड्डा बनेको भन्दै टिप्पणी गरेका थिए । अर्यालले प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै भनेका थिए- ‘देशमा रोजगारी नपाएर युवाहरू दैनिक हजारौं विदेशिएको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हो, तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ’ । त्यसपछि पनि मन्त्री भण्डारीले कुनै एक्सन लिएनन् ।
वैदेशिक रोजगार कार्यालय ताहाचलमा दैनिक ७० लाख घुस लिने गरि व्यक्तिगत श्रम स्वीकृतिको धन्दा भईरहेको विषयमा समेत संचार माध्यममा समाचार आए । सो विषय श्रममन्त्रालयले छानबिन गर्ने भनेपछि विषय सेलाएको थियो तर अहिलेसम्म यस बेथितिको सम्बन्धमा मन्त्रालयले कुनै स्पष्ट कारवाही गरेको छैन ।
बरु बेथितिको बिरुद्ध कारवाही गरेजस्तो गर्ने योजना अनुसारनै केहि दिनमै आफै रिटायर्ड हुने महानिर्देशकलाई मन्त्रालय तानेकोजस्तो बनाएर हालसम्मको बेथितिका प्रश्नहरुबाट पन्छिने खेलमा छन् । बिभागकै एक कर्मचारीले दिएको सूचना अनुसार ‘खत्री वैशाख पहिलो सातानै रिटायर्ड हुँदैछन् ।’ ति कर्मचारीले बिभागमा हुने नकारात्मक गतिबिधि महानिर्देशकको योजनामा मात्र सम्भव नहुने बताउँछन् । माथिदेखिकै योजनामा काम हुन्छ । जति अशुल्न सकिन्छ कर्मचारीले आधा राखेर महानिर्देशकलाई भाग जान्छ । महानिर्देशकले लिएपछि मन्त्रालयलाई समेत भाग लाग्छ ।
पछिल्लो समय वैदेशिक रोजगार विभाग मातहतको वैदेशिक रोजगार श्रम स्वीकृति शाखा, ताहाचलमा दैनिक ठूलो रकम घुसको कारोबार हुन्छ । कार्यालयबाट वैदेशिक श्रम स्वीकृति दिने प्रयोजनका लागि एजेन्टमार्फत दैनिक ठुलो मात्रामा रकम उठाउने गरिएको पाइएको हो । यस बेथितिबाट दैनिक ७० लाखसम्म रकम उठ्ने बताइएको छ । यसअघि कार्यालयले रेटनै तोकेर व्यक्तिगत श्रम-स्वीकृति दिने गरेको समाचार बाहिरिएको थियो । युरोप, जापान, माल्दिभ्स, युएई, कतार, साउदी अरेबिया, अल्बानिया, रोमानिया, मौरिसस लगायतका देशमा व्यक्तिगत श्रम-स्वीकृतिमा जाने कामदारहरुबाट श्रम स्वीकृति दिने नाममा ठूलो रकम भ्रष्टहरुले घुसको रुपमा लिने गरेको पाईएको समाचारहरु बाहिरिएका थिए ।
व्यक्तिगत श्रम दिएर मनग्य कमाउन पाइने भएपछि श्रम-मन्त्रालयले लामो समयदेखि युरोप रोजगारको मागपत्र प्रमाणीकरणमा चासो नदिएको आरोप छ । त्यसो त व्यक्तिगत श्रमस्वीकृतिलाई बढावा दिँदा अघिल्ला आर्थिक बर्षहरुको तुलनामा व्यक्तिगत श्रम स्वीकृति लिनेहरुको संख्या निरन्तर उकालो लाग्दै गएको छ । कर्मचारीहरुसँग सेटिङ मिलाएपछि एक पटक पनि विदेश नगएको व्यक्तिलाई कर्मचारीहरुकै मिलिमतोमा एजेन्ट मार्फतनै नक्कली कागजात अपलोड गर्न सिकाएर स्वघोषणा भर्न लगाई श्रम दिएको खुलाशा समेत भईसकेको छ । यसरी श्रम जारी गर्दा कर्मचारीहरुले प्रतिव्यक्ति ५० हजार घुस लिने गरेको समाचार समेत बाहिरिईसकेको छ ।
त्यसो त वैदेशिक रोजगार बिभागमा संस्थागत ‘अप’ बेथिति बर्षौंदेखि जारी छ । यस्तो बेथितिमा कामदारको डिमाण्ड आएको पद र भिसा/सम्झौता पत्र अनुसार फरक पर्दा म्यानपावरहरु मार्फत घुस पाएपछि मात्र श्रम स्वीकृति दिने चलन नियमित रहेको गुनाशो छ । त्यस्तै कर्मचारी खुस बनाउन सके धेरै बेथितिमा छुट हुने, अनुगमन नहुने, भईहालेपनि बार्गेनिङमा मिल्ने, पीडितले उजुरी गरिहाल्दा सहजीकरण गर्न सहज हुने, उजुरीको सूचना प्राप्त हुने लगायतको बेथितिको विषयमा बिभाग कर्मचारीहरुको विषयमा आलोचना हुँदै आएको छ । मन्त्रालयको कारवाही र सम्बन्धित पक्षको जिम्मेवारीसंग प्रत्यक्ष जोडिने बिबिध बिषयबारे जवाफ माग्न श्रममन्त्री भण्डारीसँग पटक-पटक सम्पर्क गर्दा फोन उठाउँदैनन् ।
त्यस्तै लामो समयदेखि अभिमुखिकरण तालिममा हुने सेटिङको सम्बन्धमा सहजीकरण सेवा प्रदान गरिदिएर त्यसैको फाइदामा केहि बिभागका सम्बन्धित जिम्मेवार कर्मचारीहरु रमाउँदै आएको पाइएको छ । बिभागले पछिल्लो समय अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुमा आइरिस प्रणाली लागू गरेको भनिएपनि अभिमुखीकरण लिन जाने एकै व्यक्तिले २/३ जना व्यक्तिको आइरिस इन्ट्री गरिदिएर सेटिङ धन्दा चलिरहेकै छ । बिभागसँग एकै व्यक्तिको पटकपटक डुप्लिकेट आइरिस इन्ट्री गराएर अभिमुखिकरण सेटिङ चलिरहेको छ । बिभागलाई सम्बन्धित पक्षले कार्यालयबाटै अनुगमन गर्ने सुविधा मिलाईदिन्छौं अनुगमन गरिदिनुस भन्दा पनि नमानेको पाइएको छ । अभिमुखिकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम न्यौपाने भन्छन् -‘अभिमुखिकरण तालिम दिने व्यवसाय सुधार्न सरकार आफैले गर्नुपर्ने काम हामी व्यवसायीले घचघचाईरहनु परेको छ । बिगतदेखि बिभागलाई डिजिटल अनुगमन गर, दोषीलाई कारवाही गर, आइरिस प्रणाली राष्ट्रिय परिचयपत्रसँग जोड, बोर्डलाई पाठ्यक्रम बनाईदेउ । ऐन अनुसार अनुगम गर । भनेर भनेको भन्यै छौं तर सम्बन्धित निकायले सुन्ने-कान लगाएन ।’
यी सबै भ्रष्ट तथा अनदेखाको गतिबिधि बिभागको महानिर्देशककै जिम्मेवारीमा हुने गरेको छ । बिभाग सम्हाल्न जाने अधिकारीहरु संचार माध्यमले प्रश्न लिएर जाँदा बिभिन्न प्राविधिक पक्षलाई देखाएर पन्छिदै आएका छन् । पछिल्लो एक महिनादेखि महानिर्देशक खत्री बिभागमा निकै कम उपस्थित रहे । वैदेशिक रोजगार क्षेत्रको बेथिति जति बढ्छ त्यतिनै भ्रष्ट संयन्त्रलाई घुस उठ्ने, त्यस्तीनै फाइदा हुँदा बर्षौंदेखि यो क्षेत्र सुधारकमो सट्टा झन्डै बेथितिको खाडलमा गएको बताइन्छ । यसरी बेथिति हुँदा यसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारमा जाने लाखौँ कामदारलाई पर्दै आएको छ ।