भिजिट भिसाको धन्दा ! एजेन्टले तीन साता झुलाए, दुई पटक पिसीआर गराए, साढे तीन लाख अशुले

Posted on: 06 Dec, 2020

मङ्सिर २१, काठमाडौँ | नेपालबाट भिजिट भिषामा कुनैपनि देश गई श्रम गर्ने कार्य गैरकानुनी हो । तर यहि प्रक्रियामा विदेश पठाई आकर्षक तलबमा काम लगाउने बहानामा पछिल्लो समय कयौं युवाहरु युएई पुगेका छन् । भिजिट भिषामा पुर्याईएकाहरुसंग चर्को लागत रकम लिएर पठाउने र कतिपयलाई अलपत्र पार्ने गरिएको गुनासो आईरहेको छ । 

बारा जिल्ला घर भएका राम प्रसाद चौधरी (नाम परिवर्तन) वैदेशिक रोजगारका लागि कम लागतमा युएईमा रोजगारीमा जान पाउने प्रलोभनमा परे । प्रलोभनमा पार्ने एजेन्ट थिए - साविक सिरहा जिल्लाको वेतौना-५ का सुरेश यादवका छोरा विरेन्द्र कुमार यादव । एजेन्ट यादवले अरु थुप्रैलाई बिभिन्न प्रलोभनमा विदेश पठाउने काम गरिरहेको थाहा पाएपछि राम प्रसादले पनि विदेश जान पाइने आशा सहित काठमाडौँ आउने निर्णय गरे । 

माथिको तश्वीरमा: वैदेशिक रोजगारको प्रलोभनमा भिजिट भिषामा विदेश पठाउन सक्रिय एजेन्ट विरेन्द्र कुमार यादव (बायाँ), युएईमा सेटिङ मिलाउने कार्यमा सक्रिय रहेको बुझिएको एजेन्टको भिजिटिङ कार्ड । 

सुरुवातमा एजेन्ट यादवले १५ दिन भित्र सेल्सम्यान पदमा मासिक ५० हजार तलबमा युएईको TCC कम्पनीमा पठाउने प्रलोभन देखाएर राम प्रसादलाई काठमाडौँ बोलाएका थिए । काठमाडौँ आएका राम प्रसादले आफ्नो सक्कल राहदानी छोडेर घर फर्किए । घर फर्किएको केहि दिनपछि विरेन्द्र कुमार यादवले विदेश जाने प्रक्रियाको लागि भन्दै ४० हजार पठाउन अनुरोध गरेपछि गत कात्तिक २३ गते आईएमई मार्फत पैसा पठाए ।

४० हजार पैसा बुझाएको केहि दिनपछि एजेन्टले राम प्रसादलाई सबै प्रक्रिया पुरा भएको र टिकट समेत काटिसकेको भन्दै बाँकी पैसा लिएर काठमाडौँ आउन भने । 

राम प्रसाद विदेश जान पाउने उत्साहमा पैसाको जोहो गरि घरबाट विदा भएर काठमाडौँ आए । उनलाई उडान मङ्सिर ४ गते भनिएको थियो । साथै उनलाई एजेन्ट यादवले विदेश जान पिसीआर रिपोर्ट चाहिने भनेपछि उनले मङ्सिर २ गते दुई हजार चारसय तिरेर पीसीआर गराए । 

त्यसपछि एजेन्ट यादवले बाँकी पैसा मागे । सो क्रममा एजेन्ट यादवले चावहिलको एक होटलमा नगद २ लाख ५० हजार बुझे । एजेन्ट यादवले 'भोली फ्लाइट छ' भन्दै 'अझै टिकटको पैसा नपुगेको' भनि  बाँकी ४५ हजार दिन भने । सोहि दिन (मङ्सिर ३ गते) राम प्रसादले एजेन्ट यादवलाई प्रभु मनि ट्रान्सफरमार्फत थप ४५ हजार रकम पठाए ।  


माथिको तस्वीरमा: पैसा लिएको प्रमाण । (नगद बुझाएको भ्वाईस रेकर्ड तथा म्यासेज प्रमाण पीडितसँग सुरक्षित छ)

पैसा पठाएपछि एजेन्ट यादवले मङ्सिर ४ गतेको फ्लाइट क्यान्सिल भएको जानकारी दिए । 

त्यसपछि मङ्सिर ९ गतेको टिकट भएको जानकारी पाएपछि राम प्रसादले दोश्रो पटक दुई हजार चार सय तिरेर कोरोना परीक्षण गराए । मङ्सिर ९ गते राति २:१५ बजे एयर अरेवियाको उडान भनिएको थियो । सोहि अनुसार टिकट दिईएको थियो । रामप्रसाद तोकिएकै दिन बेलुका ११ बजे एएरपोर्ट पुगे । तर राति २ बजे उडान भन्दै उनलाई उक्त दिन एकजना मान्छेले इनहेप्पी भन्ने होटलमा लगेर राखे । फेरी एयरपोर्ट लगे, तर एजेन्टले उक्त दिन पनि रामप्रसादलाई युएई उडाउन सकेनन् ।


राम प्रसादलाई फेरी मङ्सिर १० गते उडाउने भनिएको थियो । तर उडाउने भनेको दिन एजेन्ट विरेन्द्र कुमार यादवले फोन नै उठाएनन् । एजेन्ट यादवले रामप्रसादको फोन ब्लक गरे । अन्य फोनबाट फोन गर्दा आफूले बुझाएको पैसा नदिने भन्दै उल्टो धम्क्याउन थाले । त्यसपछि राम प्रसाद वैदेशिक रोजगार विभागमा उजुरी दिन पुगे । 

विभागमा उनले दिएको उजुरी अनुसार ९५ हजार प्रमाण सहित र बाँकी नगद दिएको फोन/म्यासेज प्रमाण पेस गरे । कुल ३ लाख ४५ हजार ठगि भएको भन्दै उक्त रकम एजेन्ट विरेन्द्र कुमार यादवसंग अशुली पाउनुपर्ने दावी सहित उजुरी दिए । 


साझा सबाल मिडियाले यस सम्बन्धमा थप पीडितहरु र उजुरी दिएका रामप्रसाद समेतको गुनासोको आधारमा साविक सिरहा वेतौना-५ घर भएका विरेन्द्र कुमार यादवले भिजिट भिसामा वैदेशिक रोजगारमा पठाउने धन्दा गरेको निष्कर्ष निकाल्यो । साथै उनको माध्यमबाट भिजिट भिसामै युएई पुगिसकेकाहरु अहिले युएईमा अलपत्र परेको, साथै केहिले नेपालमा एजेन्टले भने अनुसार केहि नभएको जानकारी पायो । 

भिजिट भिसामा विदेश पठाएर चर्को अशुली लिन पल्किएका विरेन्द्र कुमार यादवले अरु धेरै युवालाई काठमाडौँमा बोलाई लामो समयसम्म होटलमा राख्ने र सेटिङ गरेर युएई पठाउने खुलेपछि उनलाई  साझा सबाल मिडियाले फोन मार्फत 'यो धन्दामा को-को संलग्न छ, खुलासा गर्न ताकेता दियो तर उनले उल्टो पीडितहरुको कारण उनीहरुलाई युएई पठाउन नसकेको जवाफ दिए । साथै उनले यस गिरोहमा संलग्नहरुको विषयमा जानकारी दिन फोन गर्ने भन्दै टारे । 

मिडिया मार्फत आफ्नो अवैधानिक धन्दा सार्वजनिक हुने बुझेपछि एजेन्ट विरेन्द्रले पीडितलाई फोन गरेर मिडिया र विभागमा नजान भन्दै टिकट काटेको र भिषाको पैसा काटेर बाँकी पैसा फिर्ता दिने बताएका छन् । तर पीडितले आफू ठगिएको भन्दै सम्पूर्ण पैसा र क्षतिपूर्ति  समेत माग गरेका छन् । 

पीडितले आफूलाई वैधानिक रुपमा विदेश पठाउने र राम्रो तलबको प्रलोभनमा काठमाडौँ बोलाएको तर भिजिट भिसामा पठाउन लागेको बारेमा पछि मात्र थाहा भएको बताए । उनले भने 'तीन हप्ता भयो काठमाडौँ आएको, एएरपोर्ट पुर्याउँछ फर्काउँछ । पटक-पटक पिसिआर गर्न लगायो, दिनसम्म दु:ख दियो। विरेन्द्रले एएरपोर्ट सेटिङ गरेर युएई पुर्याएको अरुले अहिलेसम्म काम पाएका छैनन् भन्ने थाहा पाएको छु । त्यसैले अब त्यसैको पछि लागेर विदेशमा अलपत्र पर्नुछैन । त्यसैले विभागमा उजुरी दिएको हुँ ।'  

थप एक लाख ७२ हजार पाँच सय क्षतिपूर्ति दावी

पीडित राम प्रसादले विभागमा तीन लाख ४५ हजार मागदावी सहित उजुरी दिएका छन् । यस अनुसार ५० प्रतिशतले हुने हर्जाना रु. १ लाख ७२ हजार ५०० दावी भएको छ ।  त्यसमा राम प्रसादलाई दुई पटकसम्म पिसिआर गर्न लगाएको चार हजार ८०० समेत भराई वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ बमोजिम हदैसम्मको कैद र जरिवाना समेत गराउन भनिएको छ । 

(छोपिएको सेतो भाग: पीडितको आग्रहमा गोप्यता राखिएको)

यस बिषयमा तपाइको प्रतिक्रिया...!