विदेशिएका हजारौं नेपालीहरु समस्यामा: महिना दिन बित्यो, अझै कति पर्खने ?

Posted on: 05 Jun, 2021

अनिल अधिकारी | जेठ २२, काठमाडौँ | नेपालले अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको आइतबार एक महिना पुग्दैछ । खाडी र मलेसियामा हजारौं नेपालीहरु उडान खुल्ने पर्खाईमा छन् । उनिहरुको हरेक दिनको दिनचर्या नेपालले अन्तराष्ट्रिय उडान सम्बन्धि के निर्णय गर्यो भन्नेमा हुन्छ । 

चार बर्ष अघि मलेसियामा रोजगारको क्रममा पुगेका नुवाकोटका बिष्णु ढुंगाना गत बर्ष नेपाल आउने तयारीमा थिए । तर उनि नेपाल आउने तयारी गर्दै गर्दा कोरोनाको कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा मलेसियामै रोकिए । करार अवधि सकिएर अवैध हुने भएपछि उनि मलेसियामा फेरी एक बर्षको भिसा थपेर बस्न बाध्य भए । उनि आफ्नो समस्या सुनाउछन् 'गत बर्ष यही बेला नेपाल फर्कन खोज्दा उडान बन्द भयो, यो बर्ष मे महिनामा नेपाल जाने योजना थियो त्यो पनि पुरा हुन पाएन ।' उनको गुनाशो छ 'म्यानपावरबाट आउँदा आतेजाते टिकट कम्पनीले व्यहोर्छ भन्ने छ तर फर्कने कुरा आयो कि टिकटको पैसा हामीसँगै माग्छ । बाध्य भएर तिर्न तयार भईयो तर फेरी नेपालले उडान बन्द गरिदिएको कारण अलपत्र परियो ।' मे महिनामा नेपाल फर्किन नपाएको कारण कम्पनीले फेरी एक बर्षको भिसा थपिदिने तयारी गरेको कारण आफू दुखि भएको उनले गुनाशो गरे । कम्पनीले जबर्जस्ति गरेको कारण दुतावासमा गुहार्दा दुतावासले कुनै वास्ता नगरेको उनको भनाई छ । 'चार बर्षदेखि नेपाल जान पाएको छैन, गत बर्ष जाने कत्रो आश थियो जान पाईएन यो पटक उडान खुलेपछि जान्छु नि त भनेको कम्पनीले जबर्जस्ति फेरी अर्को बर्षको भिसा लगाउनको लागि तयारी गरिरहेको छ, त्यसको लागि लेवी काट्ने, मेडिकल गर्ने भन्दै ताकेता गरिरहेको छ । कम्पनीमा अब काम गर्दिन, नेपाल फर्किन्छु भन्दा पनि सुख नपाउने ?'

ढुंगाना मात्र होइन, यस्तै समस्या परेर दुतावासमा फोन गर्ने नेपालीहरुको संख्या हजारौं छ, मलेसियाबाट वैदेशिक रोजगार एप मार्फत आएको पछिल्ला मात्र दर्जनौं गुनाशो ढुंगानाको समस्यासँग मेल खाने खालको छ तर दुतावासले समस्यामा परेका नेपाली युवाहरुलाई उपयुक्त उत्तर दिन सक्दैन । कतिपय समस्याका फोन त उठ्दैननै, कतिपय समस्या बुझेर पनि सम्बन्धित कम्पनीसँग समस्याको निराकरणको प्रयास हुँदैन । यसै सम्बन्धमा बिष्णु ढुंगानाको बुझाई छ 'दुतावास हाम्रो लागि बसेको हो कि यताका कम्पनीको लागि बसेका हुन्छन् बुझ्न गाह्रो छ । धेरै नेपाली समस्यामा छन् तर दुतावासले समस्या सुन्दैन ।'

मलेसियामा निश्चित करार अवधिमा काम गरेपछि नेपाल फर्कन टिकट नदिने, बिभिन्न बहानामा नेपाल फर्कन नदिने लगाएतको समस्यामा नेपालीहरुले दुतावासमा समस्या राखिरहेका हुन्छन् । पछिल्लो समय कोरोना महामारीको कारण नेपालले अन्तराष्ट्रिय उडानमै रोक लगाएका कारण मलेसियामा रहेका कयौं नेपालीहरु बिबिध समस्यामा छन् । करार अवधि सकिएका नेपालीहरु कतिपयको रोजगार गुमिसकेको छ भने कतिपय आफ्नै खर्चमा उडानको पर्खाईमा मलेसियामा बसिरहेका छन् । आफ्नो समस्यामा बोलिदिने नेताहरु समेत नभएको भन्दै परदेशीहरु नेताहरु र नेपाली राजनीति समेतसँग रुष्ट छन् । 

कोरोनाको कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा अनेकन समस्या खाडीका विभिन्न मुलुकहरुमा रहेका नेपालीहरुमा पनि छ । विशेष गरि साउदी, युएई र कतारमा रहेका नेपालीहरु समस्यामा छन् । यी देशहरुमा धेरै संख्यामा नेपालीहरु कार्यरत छन् । नेपालले पछिल्लो पटक कतार सहित तीन देशको उडान खोलेपनि त्यसले कतारमै समस्यामा रहेका नेपालीहरुलाई नेपाल फर्किन समेत समस्या हुने आंकलन छ । सातामा एक मात्र उडान हुँदा त्यसले नेपाल ल्याउने यात्रुहरुको संख्या सिमित हुन्छ । समस्यामा परेका नेपालीहरुको संख्या दिनप्रतिदिन थपिदै गएका छन् । त्यसो त साउदी तथा युएईमा समस्यामा परेका नेपालीहरुले समेत कतारको बाटो हुँदै आउन पाइने बताइन्छ तर हप्तामा हुने एउटा मात्र उडानले नेपाल आउन चाहनेको ठूलो चापलाई थेग्न सक्ने अवस्था छैन । साझा सबाल मिडियाको वैदेशिक रोजगार फेसबुक पेजमा युवाहरुको कयौं आक्रोस छन् । जसमा कयौं युवाहरुले कमेन्ट गर्दै लेखेका छन् 'दुवै डोज खोप लगाएर, कोरोना समेत परीक्षण गरेर नेपाल आउन खोज्नेलाई किन रोकेको ?' अधिकांश टिप्पणी सरकारको क्रियाकलाप र दुतावासको बारेमा छन् । चुडामडी मगर लेख्छन् 'अन्य मुलुकको दुतावासले एक पटक ध्यानाकर्षण गर्दा त्यो देशको सरकारलाई काफी पुग्छ, तर हाम्रो देशमा कस्तो दुताबास र सरकार छन् ? दिनैपिच्छे सरकारको ध्यानाकर्षण गर्दा पनि केहि प्रतिक्रिया आउँदैन ।' अन्तराष्ट्रिय उडान बन्द रहेको कारण नेपाल आउन नपाएपछि अधिकांश विदेशमा अलपत्र परेका नेपालीहरुले सरकारको आलोचना गरेका छन् । उनीहरुले भारतमा कोरोनाको उच्च जोखिम हुँदै गर्दा भारतसँग नियमित उडान खोलेको तर विदेशमा अलपत्र परेका नागरिकहरुको लागि भने उडान नखोलेको भन्दै आलोचना गर्दै आएका छन् । 

आलोचना उडान नखुलेको भन्नेमा मात्र छैन । वैदेशिक रोजगारकै क्रममा रहेका जित बुढाथोकीको टिप्पणी छ - 'विदेशबाट कोरोनाको खोप लगाएर, ७२ घण्टाको पिसीआर समेत गरेर यति धेरै सुरक्षित भएर आउँन खोज्दा पनि नदिने ? महँगो क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने ? नेताहरुको आन्दोलन र जुलुसमा हिड्नलाई चाही कुनै मापदण्ड नचाहिने ? जय होस् ।' 

त्यस्तै खोप लगाएकाहरुले समेत अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने सम्बन्धमा राज सुनार लेख्छन् 'लुट्ने मेसो हो, बिदेशिदा पनि लुटेको छ, फर्किदा नि लुटेको छ, यस्तै छ यहाँको चलन ! छिमेकी देशबाट सङ्क्रमित भएर आउनेलाई न क्वारेन्टाइन न पिसिआर ! तापक्रम नापेर सिधै घर जान दिने, अनि हामी सुरक्षित भएर खोप समेत लगाएकालाई क्वारेन्टाइन ?' 

बिदेशमा समस्यामा परेका नेपालीको पक्षमा सरकारले के गर्यो ? भन्ने प्रश्नमा युएईमा रहेका सुरेश उप्रेती लेख्छन् 'सरकारले खै के गर्यो ? हामीले त उल्टै हामीलाई नै लुट्न पो खोजेको महुसुश गरेका छौं ।' यसै विषयमा मलेसियामा रहेका केवल केसीले आफू समस्यामा रहेको र छिटो भन्दा छिटो उडान खोल्न पहल भएको हेर्न चाहेको बताउँछन् । उनि भन्छन् 'धेरै नै दु:ख पाइयो मलेसियामा, भिसा पनि छैन, पासपोर्ट पनि साथमा छैन, घर जानलाई ठिक परेको उडान रोकियो । बिरामीले गर्दा धेरै नै समस्यामा परेको छु, छिटोभन्दा छिटो मलेसियाको लागि उडान खोल्दिनु पर्यो ।' 

दुतावासले सहयोग गर्न नसकेको भन्दै युएइबाट सुरेश उप्रेतीको गुनाशो छ 'दुतावासमा फोन गर्दा सहयोगको साटोमा हाम्ले के गर्ने ? भन्ने उल्टो जवाफ पाईछ । अनि नेपाल सरकार र दुतावासको के आशा गर्न सकिएला र के महसुस गर्नु ?' 

उता साउदीमा आफू समस्यामा परेको भन्दै भोगिस्वर रानाको गुनाशो छ 'हामी महिनौदेखि घर फिर्तीको लागि पर्खाईमा छौं तर हाम्रो लागि न दुताबास बोल्छ, उता सरकार त मन्त्री साटासाट गर्दै दिन बिताई रहेको छ । कहिलेसम्म छटपटाउनु पर्ने हो थाहा छैन !' 

गत वैशाख २३ गते मध्य रातिदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्था छ । १५/२० दिन पछि त खुल्छ होला भन्ने आशामा समस्यामा परेका कयौं नेपालीहरुले सरकारको निर्णयलाई साथ दिएर आफ्नो जोहो गरेर जस्तो अवस्थामा थिए त्यसरी बसे । तर विदेशी भूमिमा कति दिन पिडित भएर बस्ने ? उडान आज खुल्ला भोली खुल्ला भन्ने आशामा बस्दाबस्दै अब दुतावास र सरकार गुहार्नुको बिकल्प नरहेको अधिकांश समस्यामा परेकाहरुको गुनाशो छ । 

साउदीमा समस्यामा परेका अधिकांश नेपालीहरु मध्य धेरैको समस्या कम्पनीले काम नदिएको र खाना पनि नदिएको भन्ने छ । कतिपयको समस्या रोजगारी गुमेको कारण छिटो घर जान पाउँ भन्ने छ । केहि राम्रा कम्पनीहरुले मात्र कामदारको समस्या बुझेर खानसम्म दिएका छन् तर अधिकांश कम्पनीले समस्यामा परेकाहरुलाई वास्ता गरेका छैनन् । यस्तो समस्या पर्दा हाम्रो दुतावास छ नि भन्ने ढुक्कको वातावरण समेत नभएको विदेशमा समस्यामा रहेका अधिकांश नेपालीहरुको गुनाशो छ । 

राजनीतिक खिचातानीमा रुमल्लिएको सरकारको चासो विदेशमा समस्यामा परेका नेपालीहरुको उद्दारमा छैन भन्दा अत्युक्ति हुँदैन । उडान बन्द भएको एक महिना बितिसक्दा समस्यामा परेका नेपालीहरु विदेशी भूमिमा कसरी बसेका होलान् भन्ने हालखबर समेत सरकारले नबुझेको विदेशमा रहेका नेपालीहरुको गुनाशो छ । सम्बन्धित देशमा रहेका केहि संघसंस्थाहरुले डलर पचाउने बहानामा मात्र सहयोगको भ्रम छर्ने गरेको, १/२ जनालाई उद्दार गरेझैं गरेर काम भन्दा ठूलो प्रचार गर्ने गरेको गुनाशो छ । विदेशिएका नेपालीहरुको सहारा बन्नुपर्ने आश गरिएको वैदेशिक रोजगार वोर्डले समेत समस्यामा परेका नेपालीहरुको समस्या निराकरणको प्रगति विवरण दिन नसकेको अवस्था छ ।  

पछिल्लो समय तीन देशको उडानको अनुमति दिएपनि हजारौं समस्यामा परेका नेपालीहरुलाई त्यस निर्णयले एक छेउ पनि समाधान गर्न नसक्ने स्वत: अनुमान लगाउन सकिन्छ । सातामा एक मात्र उडानको अनुमति छ, जस अनुसार हिसाव गर्ने हो भने पनि महिना भरि बढीमा २ हजार स्वदेश फर्किन सक्लान् तर समस्यामा पर्ने र नेपाल फर्काईहाल्नुपर्ने अवस्थामा हजारौं छन् । 

नेपालीहरु समस्यामा परेका देशमा रहेका दुतावासलाई सम्बन्धित देशमा कति नेपाली समस्यामा छन् भन्ने समेत पत्तो छैन । महामारीको बेला कार्यालयमै उपस्थित नभई पनि आफ्नो बस्ने ठाउँबाट एउटा मोबाइल राखेर समस्यामा परेका नेपालीहरुको गुनाशो सुन्न सकेको भए कुन नेपाली कस्तो अवस्थामा छ, कसलाई पहिलो प्राथमिकतामा पठाउनुपर्छ लगायतका केहि डाटा दुतावाससँग छैन । त्यसो त गुगल फर्म प्रयोग गरेर पनि यस्तो डाटा संकलन गर्न सकिन्थ्यो तर एक महिना बितिसक्दा पनि यस सम्बन्धमा दुतावासहरुले कुनै नोटिस जारी गरेका छैनन् । समस्यामा परेका नेपालीहरुलाई सम्वोधन गर्दै नियमित जानकारी समेत दिईएको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!