सोमबारदेखि आउने 'जोन्सन एन्ड जोन्सन' खोपको पहिलो प्राथमिकता वैदेशिक रोजगारमा जाने युवा !

Posted on: 10 Jul, 2021

सोमबारदेखि आउन लागेको 'जोन्सन एन्ड जोन्सन' खोपको पहिलो प्राथमिकतामा वैदेशिक रोजगारमा जाने युवा पर्नुपर्ने देखिन्छ । आफ्नो देशमा रोजगार पाउन नसक्दा रोजीरोटीकै लागि वैदेशिक रोजगारमा जानु नेपाली युवाहरुको बाध्यता हो । पछिल्लो समय रोजगारदाता देशहरुले खोप नलगाएकाहरुलाई आफ्नो देशमा प्रवेश नदिने नीति लिएको अवस्थामा जसरी पनि वैदेशिक रोजगारमा जान लागेका तथा विदामा आएका नेपालीहरुको प्राथमिकतामा खोप पर्नुपर्छ । खोप प्राथमिकतामा नपरेको खण्डमा नेपालबाट युवाहरु लान नसक्दा रोजगारदाताहरुले नेपाली कामदारलाई प्राथमिकतामा राख्दैनन् ।  जसको प्रत्यक्ष मारमा नयाँ विदेशिने त पर्छ नै त्यसमा पनि बिदामा आएकाहरुको समेत रोजगार गुम्छ । 

हाल अन्तराष्ट्रिय उडानहरु सुचारु हुँदैछन् । वैदेशिक रोजगार चलायमान हुँदा यातायात, होटल, ट्राभल एजेन्सीदेखि एयरपोर्टसम्म चलायमान हुन्छ । यसको प्रत्यक्ष प्रभाव रेमिट्यान्ससंग मात्र नभई स्वदेशको अर्थतन्त्रमा समेत पर्छ । खोप लगाईसकेका युवाहरुको मात्र चलायमान हुँदा जोखिम समेत कम हुन्छ । नेपालमा वैदेशिक रोजगारको प्रक्रियामा रहेका युवाहरुलाई खोपको प्राथमिकता छ भन्ने सन्देश दिन सक्ने हो भने पनि रोजगारदाताको प्राथमिकतामा नेपाल पर्न सक्छ ।   

सरकारको प्राथमिकता कुर्ने हो भने खोप लगाउनको लागि युवाहरु तेश्रो बर्गमा पर्छन् । वैदेशिक रोजगारमा जानेहरु त्यहि तेश्रो बर्गमा पर्ने युवाहरु हुन् । आवश्यकताको आधारलाई हेर्ने हो भने वैदेशिक रोजगारमा जाने युवाहरुलाई पहिलो बर्गमा राख्नुपर्ने अवस्था छ । अर्को कुरा प्राथमिकताकै दृष्टिकोणको युवाहरु कोरोनाको कम जोखिममा पर्ने भनिएपनि सबैभन्दा बढी चलाएमान हुने युवाहरुनै हुन् । घरबाट बाहिर काममा जानेदेखि सामाजिक भीडभाडमा जाने, जमघटमा उपस्थित हुनेमा पनि युवाहरुनै बढी हुन्छन् । प्रतिरक्षाको हिसावले आफू बलियो भएर युवाहरुलाई कोरोनाको जोखिम कम हुने हो तर कोरोनानै नलाग्ने भन्ने हुँदैन । त्यसो त कोरोना विरुद्ध लड्न सक्ने क्षमता राख्नेहरुमा कोरोनाको सामान्य लक्षण मात्र देखिने कारणले गम्भीर अवस्था नआउँदा उनिहरुबाटै परिवार र समाजमा संक्रमण फैलन सक्ने सम्भावना हुन्छ । 

नेपालमा हाल आएको भेरोसेल भ्याक्सिनलाइ खाडी मुलुकहरुमा मान्यता छैन । सम्बन्धित देशहरुको प्राथमिकतामै तोकिएको खोप अन्तर्गत 'जोन्सन एन्ड जोन्सन' खोपलाई प्राय सबै खाडि देशहरूले मान्यता दिएको छ । सरकारले भिजा तथा पासपोर्ट हेरेर प्राथमिकताको आधारमा वैदेशिक रोजगारमा जाने युवाहरुलाई यो खोप दिनसक्छ । भिसा नआईसकेको अवस्थामा समेत इजाजतप्राप्त म्यानपावर कम्पनीबाट अन्तर्वार्ता पास भईसकेको रेकर्ड वैदेशिक रोजगार बिभागले प्राप्त गरिसक्ने हुँदा बिभागबाटै सो कुराको प्रमाणित गराई बिभागले दिएको पत्रकै आधारमा वैदेशिक रोजगारमा जाने चरणमा रहेका युवाहरुको सहज पहिचान गर्न सकिने अवस्था छ । 

खाडी देशहरुमा खोप लगाएकाहरुलाई मात्र प्रवेश दिने नीति लागु भएको अवस्थामा वैदेशिक रोजगारमा जान चाहने युवाहरुले खोप लगाउनु अनिवार्य छ । त्यसो त केहि देशमा क्वारेन्टाइन बुकीङ गरेर जान पाइने अवस्था छ । हाल वैदेशिक रोजगारको धेरै माग आईरहेको साउदी जानका लागि युवाहरुले क्वारेन्टाईन समेत बुक गरेर जानुपर्ने बाध्यता हुँदा देशबाट रोजगारीकै लागि बिदेसिन बाध्य गरिव नेपाली युवाहरुको करोडौं रकम विदेशिने अवस्था छ । यस्तो अवस्थामा कोरोना विरुद्धको खोप लगाएमा कमाउनकै लागि विदेशिने र देशको अर्थतन्त्र धान्नमा ठूलो भूमिका खेलिरहेका युवाहरुलाई वैदेशिक रोजगारमा जान सहज हुने देखिन्छ । 

सरकारले फ्री भिसा फ्री टिकटको नीति लिएपनि ८५ प्रतिशत भन्दा बढी नेपाली युवाहरु नेपालको नीति बिपरित चर्को लागत तिरेर वैदेशिक रोजगारमा जान बाध्य छन् । यही बाध्यताका बीच पनि सम्बन्धित देशले खोप वा क्वारेन्टाइनको नीति लिएको छ । केहि देशले त खोप बिना प्रवेश समेत रोक्ने नीति लिएका छन् । छुट्टै क्वारेन्टाइन शुल्क तिर्नुपर्ने बाध्यताले आर्थिक भार झनै थपिन्छ । देशका हरेक युवाले क्वारेन्टाइन शुल्कको नाममा तिर्नुपर्ने पैसा नेपालकै पैसा हो । नेपाली पैसा बिदेशिदा त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमै पर्ने हो । त्यसो त सम्बन्धित देशले मान्यता दिएको खोप किनेरै लगाउने हो भने प्रतिव्यक्ति बढीमा ५ हजार जति पर्छ । जुन शुल्क समबन्धित देशको क्वारेन्टाइन बुकीङ गर्ने पैसा भन्दा धेरै गुणा कम हो । तर तिर्न तयार हुन्छन् भन्दैमा सरकारले वैदेशिक रोजगारमा जान चाहेका युवाहरुसँग पैसा अशुल्नु सकारात्मक भने हुँदैन । किनकि आफ्नो देशमा रोजगार दिन नसक्दा बाध्यताले विदेशिने युवाहरु, त्यसमा पनि देशको अर्थतन्त्र धान्नमा झन्डै एक तिहाई भूमिका खेलेका युवाहरुलाई निशुल्क खोपको प्राथमिकता दिनु सरकारको दायित्वनै हुन आउँछ । 

कोरोनाको जोखिमका बीच अर्थतन्त्रमा परेको प्रभावलाई मल्हम लगाउनको लागि पनि युवाहरुलाई सहज रुपमा वैदेशिक रोजगारमा जान दिनु आवश्यकता छ । अन्यथा स्वदेशमै रोजगार दिन पनि नसक्ने अनि वैदेशिक रोजगारको वर्तमान समस्यापनि समाधान नगर्ने हो भने यसले देशको अर्थतन्त्र झनै धरापमा पर्छ । हाल क्वारेन्टाइन शुल्क तिरेर वैदेशिक कतार तथा साउदीमा रोजगारको क्रममा युवाहरु दैनिक बिदेशिईरहेका छन् । विदेशिने कामदारको सम्बन्धित कम्पनीले नै क्वारेन्टाइन खर्च व्यहोर्नुपर्ने दायित्व हुने भएपनि अधिकांश नेपालीहरुले आफैले सोबापतको खर्च तिरेर विदेश जानुपर्ने बाध्यता छ । जसको कारण ठूलो रकम नेपालबाट बाहिरिएको अवस्था छ । 

सोमबार नेपाल आउन लागेको 'जोन्सन एन्ड जोन्सन' को खोप अमेरिकाको सहयोगमा आउन लागेको खोप हो । नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनका अनुसार उक्त खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनताको लागि उपहारको रुपमा रहेको खोप हो । नेपालबाट विदेशिने नेपालीको मुख्य देशहरु युएई, कतार, साउदी, बहराइन, कुवेत लगायतले नेपालमा हाल उपलब्ध भेरोसेलको खोपलाई प्राथमिकता नदिएको अवस्थामा 'जोन्सन एन्ड जोन्सन' खोप सम्बन्धित देशहरुले मान्यता दिएको अन्तर्गत पर्ने हुँदा त्यसको प्राथमिकतामा वैदेशिक रोजगारमा जाने युवाहरु पर्नुपर्छ । 

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । उक्त खोप खरिदको काम अघि बढ्न नसकेको अवस्थामा उक्त खोप कहिले आउँछ भन्ने कुनै टुङ्गो समेत छैन । यस्तो अवस्थामा अमेरिकाले उपहारको रुपमा दिएको खोपको प्राथमिकतामा विदेशिने युवाहरु समेत पर्नुपर्छ । वैदेशिक रोजगार सहज बनाईदिँदा एकतर्फ क्वारेन्टाइनको नाममा विदेशिने अरवौं रकम नेपालमै रहन्छ भने त्यहि पैसाले दशौँ गुणा बढी मात्रामा खोप खरिद गर्न सकिन्छ । सरकारको ध्यान जाओस् !! इतिश्री !! 

यस बिषयमा तपाइको प्रतिक्रिया...!