विदेशमा रोजगारीको प्रलोभन देखाएर ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाहीको तयारी : श्रममन्त्री

Posted on: 16 Mar, 2022

चैत २, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्‍याउने कार्यमा संलग्न व्यक्तिलाई अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट नेपाल झिकाउने तयारी गरिएको बताएका छन् । 

उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न आफूले यूएई सरकारसँग पनि आग्रह गरेको जानकारी गराएका छन् । उनले अलपत्र परेका नेपालीलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरूलाई नेपाल फिर्ता गर्न यूएई सरकारसँग सहयोगको आग्रह गरिएको बताए ।

नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए । उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको जानकारी दिए ।

नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीलाई पनि सहभागी गराएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!