२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी….

११ आश्विन २०८१, शुक्रबार ०८:२२

असोज ११, काठमाडौँ ।  ‘महँगी बढेर सेक्यो ढाड पनि

गरिबै रुवाउन आउँछन् चाड पनि

रित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी…।’

गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैँ सबैका घरआँगनमा दसैँ उमङ्ग लिएर भित्रिदैन । कसैका लागि दसैँ कहर बनेर आइपुग्छ । कोहीका निमित्त रहर । महँगीको मार खेप्न बाध्य निम्न वर्गीय परिवारको दुःखसाह्रोलाई उक्त गीतले चित्रित गरेको छ ।

गायिका गौतम र गायक विष्णु खत्रीले गाएको दसैँ गीत ‘रित्तो भकारी…’ले गरिबी र अभावको दुष्चक्रमा फसेको परिवारका लागि चाडवाड कसरी दशा बनेर आइपुग्छन् भन्ने  देखाउँछ । शब्द, सङ्गीत र अभिनयको जीवन्त प्रस्तुतिले गीत जोकोहीलाई यथार्थपरक बोधगम्य लाग्छ । गीतले भन्छ :

‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि

दुई पैसा कहीँबाट छैन आम्दानी

दसैँ आइसक्यो

रित्तो गोजी, रित्तै छ भकारी

परान खाइसक्यो…।’

गायक खत्रीलाई दसैँगीतका पर्यायभन्दा अतियुक्ति नहोला । ‘रित्तो भकारी…’ उहाँको सत्रौँ दसैँ गीत हो । विसं २०६४ यता खत्रीले सालिन्दा  दसैँ गीत सार्वजनिक गर्दै आउनुभएको छ । उहाँको पहिलो दसैँ गीत ‘सुनको जलप…’ हो । जुन गीत उबेला चर्चित बनेको थियो । “यसपालिको दसैँ गीतले देशको वर्तमान अवस्था र नेपाली समाजको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ”, उहाँले भन्नुभयो ।

सत्र वर्षका अन्तरालमा पनि खत्रीका हरेक दसैँगीतका विषय, अन्तर्य र भावभूमि करिब उस्तै छन् । उहाँका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् ।

मार्मिक सिर्जना र ग्रामीण परिवेशको झ–झल्को खत्रीका दसैँ गीतका विशेषता हुन् । समाजका गम्भीर मुद्दामा सरल र बोधगम्य प्रस्तुति दिन खत्री पारङ्गत हुनुहुन्छ ।

“हरेक सिर्जनामा नेपाली जनजीवन र सामाजिक यथार्थको चित्रण गर्ने इमान्दार प्रयास मबाट हुन्छ”, खत्रीले भन्नुभयो, “दसैँ गीतले मलाई भिन्नै चिनारी दिएको छ, कतिपय स्रोताले त विष्णु खत्रीको गीत आएपछि बल्ल दसैँ आउँछ भनेर रमाइलो ढङ्गले प्रेरित पनि गर्नुहुन्छ ।” दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय उहाँका दसैँ, तिहार, तीजजस्ता पर्वका मौकामा मौलिक गीत सार्वजनिक हुँदै आएका छन् ।

गत वर्षको दसैँमा खत्रीले ‘दसैँ–तिहार गाउँमा…’ ल्याउनुभएको थियो । त्यसअघि उहाँका ‘दसैँ–तिहार सँगै मनाउँला…’, ‘रिनै रिनको….’, ‘दसैँमा आउ प्यारा…’, ‘जहाजको टिकट…’, ‘कति रुनी हो…’लगायत गीत सार्वजनिक भएका थिए । दसैँगीतमा उहाँले विभिन्न गायिकाहरुसँग सहकार्य गर्दै आउनुभएको छ । प्रायः सबै गीतमा शब्द र सङ्गीत पनि गायक खत्रीकै रहेको छ ।

दसैँको छेकोमा गायक खत्रीसहित कैयन गायकगायिकाका दसैँ गीत युट्युबमा छाइरहेका छन् । कतिपय गीत सार्वजनिक हुने क्रममा छन् । केही दसैँ गीत युट्युब ‘ट्रेन्डिङ’समेत उक्लेका छन् । कुनै गीतमा परदेशीका पीडा छचल्किएका छन् भने कुनै गीतमा दसैँले गाउँघरमा ल्याउने रौनकको चित्रण छ । गायक पुरुषोत्तम पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको ‘आयो है दसैँ आयो…’ गीतमा दसैँमा गृहथलो फर्किन लागेका परदेशी र उनलाई घरमा पर्खिरहेका स्वजनको सम्वाद छ । परदेशी भन्छन् :

‘मनमा खुसी उमङ्ग छाउँदैछु

पाँच वर्षपछि म नेपाल आउँदैछु

आयो है दसैँ आयो

नाच्न र गाउन रमाउन मन लाग्यो…।’

घरमा रहेकी उनकी जीवनसाथी भन्छिन् –

‘भित्ताको पात्रो फेरेको फेरै छु

तिम्रै मूलबाटो हेरेको हेरै छु

आयो है दसैँ आयो

नाच्न र गाउन रमाउन मन लाग्या…।’

वर्षौँपछि दसैँमा घर फिरेका परदेशीको खुसी एकातिर, अर्कातिर दसैँमा घर आउन नपाएकाको पीडा । गायक ऋषि खड्का र गायिका तुलसी विकको दसैँगीत ‘परदेशी हरायो’ले यही भनिरहेको छ । दसैँमा घर आउन नपाउँदा परदेशीको मन यसरी कुँडिन्छ:

‘तिम्रो जुनी फेर्नु थ्यो त्यस्तै भो

यो साल पनि आइन घर यस्तै भो

दशैँ आयो तिहारै आयो

परदेशी हरायो…।’

दसैँका बेला परदेशीको पखाईको पीडा गीतमा यसरी पोखिन्छ –

‘प्यारा तिमी हङकङ मलाय

यता घर जमारा पलाए

दशैँ आयो तिहारै आयो…।’

गायक हेमन्त शर्मा र गायिका मेलिना राईको ‘आउँथ्यो दसैँ आउन त पहिले नि…’ गीतलाई पनि दर्शक-स्रोताले रुचाएका छन् । नौ दिनअघि सार्वजनिक उक्त गीतको चलदृश्यलाई युट्युबमा १२ लाखभन्दा बढीपटक हेरिएको छ । युट्युबमा सबैभन्दा धेरै हेरिएकोमध्ये उक्त गीत दोस्रो स्थानमा पर्न सफल भएको छ । गायक ईश्वर सिंह र गायिका सुनिता बुढा क्षेत्रीले दसैँगीत ‘हाँसे पुग्छ, बोले पुग्छ…’ ल्याउनुभएको छ ।

गायक बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, पशुपति शर्मा र गायिका समीक्षा अधिकारीले गाएको दसैँगीत ‘शुभकामना दसैँको…’ केही दिनअघि सार्वजनिक भएको छ । अधिकांश दसैँ गीतले आजको नेपाली समाजको मनोदशालाई समेटेका छन् । ‘सम्झाना गाउँघर…’ गीतमा गायक अमृत बराल र गायिका रञ्जिता विश्वकर्माले झैँ– 

‘कोही घरदेशमा कोही परदेशमा भइयो टाढा–टाढा

जहाँ छौँ हामी त्यही बसेर मनाऔँ चाडबाड

आइहाल्यो चाडबाडको लर्को

आइहाल्यो सम्झना गाउँघरको…।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन