वैशाख १९, काठमाडौँ | अहिलेको आधुनिक जीवन, दिनमा तीनपटक खाने किसिमले मिलाइएको छ । यसमा हामीलाई बिहानको खाना सबैभन्दा महत्वपूर्ण भनेर भनिएको छ भने त्यसपछि हामीले दिउँसो काममा खाजा खान्छौँ अनि अन्त्यमा बेलुकापख परिवारसँग अर्को ठूलो खाना खान्छौँ । तर के यही तरिका सबैभन्दा स्वस्थकर हो त ?
यसरी हामीले कतिपटकसम्म खानुपर्छ भन्ने विषयको निष्कर्षमा पुग्नु अगाडि विज्ञहरूले कुनबेला नखाएको राम्रो भन्नेमा बरु ख्याल राख्न सुझाव दिएका छन् ।
यतिबेला व्यापक ट्रेन्डमा रहेको ‘इन्टरमिटेन्ट फास्टिङ’ अर्थात् आठ घण्टा भन्दा बढी समयसम्म केही नखाने डायट शैलीबारे अनुसन्धानकर्ताहरूले पनि ठूलो स्तरको रिसर्च र अध्ययन गरिरहेका छन् ।
त्यसरी हाम्रो शरीरलाई एक दिनमा १२ घण्टासम्म भोकै राख्दा यसले विशेषगरी पाचन प्रणालीलाई आराम दिलाउने क्लिनिकल रिसर्चर एमिली मेनुजियन बताउँछिन् ।
विस्कन्सिन्स स्कुल अफ मेडिसिनकी अर्की प्रोफेसर रोजेलिन एन्डर्सनले खानेकुरामा हुने ‘क्यालोरी’ न्युनिकरणका फाइदाबारे लामो समय अध्ययन गरेकी छन् जसले पनि इन्टरमिटेन्ट फास्टिङले शरीरमा ‘इन्फ्लामेसन स्तर’ कम गराउने बताइन् ।
उनी भन्छिन्, “हरेक दिन एउटा निश्चित समय व्रत समान केही नखाइ बस्नुले यसको फाइदाकरक पक्षलाई अझ बढावा दिलाउँछ । केही खानेकुरा सेवन नगरी बस्दा यसले शरीरलाई एकदम फरक स्थितिमा पुर्याउँछ । जस्तै व्रतका बेला हाम्रो शरीरको अव्यवस्थित प्रोटिन सन्तुलनमा आउँछ र सेलहरूमा कुनै क्षति पुगेको भए तुरुन्तै त्यसको मर्मतमा लाग्न हाम्रो प्रणाली पहिले भन्दा धेरै तयार अवस्थामा हुन्छ ।”
अव्यवस्थित प्रोटिन भनेको साधारण प्रोटिन नमिलेर बस्नु हो । यही तत्वले शरीर भित्र महत्वपूर्ण काम गरिरहेको हुन्छ । अव्यवस्थित प्रोटिनलाई विभिन्न रोगहरूसँग पनि जोड्ने गरिएको छ ।
इन्टरमिटेन्ट फास्टिङलाई वास्तवमै हाम्रो शरीरसँग प्रक्रिया अनुकूल मानिएको छ । एन्डर्सनका अनुसार यसले शरीरलाई एक प्रकारले ब्रेक दिन्छ जसबेला हामीले सेवन गरेको खानालाई स्टोर भइ आवश्यक परेको ठाउँमा पर्याप्त ऊर्जा दिलाउन सक्छ । पर्याप्त ऊर्जा निस्कासन नहुनाले नै शरीरमा अनावश्यक फ्याट जमेर बस्छ ।बिबिसिबाट
त्यस्तै व्रत बस्नुले हाम्रो ‘ग्लाइकेमिक रेस्पोन्स’मा पनि ठूलो सुधार ल्याउन सक्छ । यो भनेको खाना खाएपछि हाम्रो रगतमा ग्लुकोजको मात्रा बढ्ने प्रक्रिया हो । हाम्रो रगतमा थोरै स्तरमा मात्र ग्लुकोज वृद्धि हुनुले फ्याटलाई कम गराउन सक्छ ।
अर्का खाद्य तथा व्यायाम सम्बन्धी विशेषज्ञ एन्टोनियो पाओली भन्छन्, “हाम्रो डाटाले के देखाएको छ भने बेलुकाको खाना छिटै खाएर अर्को दिन ढिलासम्म केही नखाइ व्रतको समय बढाउनुले शरीरमा विभिन्न सकारात्मक प्रभाव पार्दछ जस्तै सुरुवातमा ग्लाइकेमिक स्तर नियन्त्रण गराउँदछ । ”
हाम्रा सेलहरूमा जति थोरै सुगरको मात्रा भयो त्यति नै राम्रो हुने पाओलीले थप बताए । यसैमा ग्लुकोज प्रोटिनसँग जोडिन आउँछ अनि ‘अड्भान्स्ड ग्लाइकेसन एन्ड प्रडक्ट्स’ नामक तत्व निर्माण हुन्छ । यसले शरीरमा इन्फ्लामेसन बढाउँछ र मधुमेह अनि मुटु रोग हुने जोखिम पनि बढाइदिन्छ । त्यसैले ग्लाइकेमिक रेस्पोन्स सन्तुलनमा आउनु शरीरका लागि एकदम लाभदायक हुन्छ ।
तर दिनमा एकपटक मात्र खाँदा भोक लाग्दैन ?
उसो भए इन्टरमिटेन्ट फास्टिङलाई वास्तवमै गम्भीर रुपमा अपनाउने हो भने हामीले दिनमा कतिपटक खाने त ? यसमा विज्ञहरू पनि दिनमा एकपटक मात्र खानुपर्छ भन्नेमा पूर्ण सहमत हुन सकेका छैनन् ।
आफैँले यो उापय अपनाइरहेका प्रोफेसर डेभिड लेभिट्स्की भन्छन्, “हामीले धेरै डाटाहरूबाट थाहा पाइसकेका छौँ कि यदि मैले तपाईँको सामु कुनै खानेकुरा ल्याएँ या त्यसको फोटो देखाएँ भने पक्कै पनि तपाईँले खानुहुनेछ । र यसमा जति धेरैपटक तपाईँ खानेकुराको अगाडि आउनुहुन्छ त्यस दिन त्यति नै बढी खानुहुनेछ । यसको विपरीत खानेकुराको सामु नपर्ने र त्यसबारे सोच्ने समय नहुने हो भने हामीलाई एकपटक खाएकाले पनि पुग्छ ।”
उनका अनुसार दुनियाँमा फ्रिज, सुपरकार्केटलगायत नहुँदा समेत खानेकुरा उपलब्ध थियो । र इतिहासलाई हेर्दा पनि हामीले दिनमा एकपटक नै खाएको देखिन्छ । जस्तै प्राचीन रोमन समुदायले दिउँसोको समयमा एकपकट बाहेक खाने गर्दैनथे । त्यसकारण पनि आवश्यक रुपमा दिनमा एकपटक खाँदा भोकै नहुने लेभिट्स्की तर्क गर्छन् ।
उनले थप भने, “घडीमा १२ बजेको देख्दा हामीलाई अब खानुपर्छ जस्तो महसुस होला या तपाईँलाई बिहान केही खानैपर्छ भन्ने लाग्ला तर वास्तवमा यो सबै दिमागी प्रभाव मात्र हो । विभिन्न अध्ययनका डाटा हेर्दा के देखिएको छ भने जुन दिन हामीले बिहानको खाजा थोरै खान्छौँ त्यस दिन वास्तवमा कम क्यालोरी सेवन गरिरहेका हुन्छौँ । हाम्रो मानसिकता नै या त व्रत या भोज भन्ने किसिमले निर्माण भएको हुनाले यस्तो हुने गरेको छ । ”
तर मधुमेह लगायत दिर्गकालीन रोगीहरूका लागि चाहिँ इन्टरमिटेन्ट फास्टिङ राम्रो उपाय नहुने उनले थप बताए ।
उता मेनुगुनले चाहिँ यो इन्टरमिटेन्ट फास्टिङका क्रममा पनि एकपटक मात्र खान सुझाव नदिने बताइन् । उनका अनुसार यसले रगतमा ‘फास्टिङ ग्लुकोज’ को मात्रा बढाइदिन सक्छ । यो भनेको लामो समयसम्म केही नखाइ बस्नुले पनि रगतमा ग्लृुकोजको स्तर प्रभावित हुने हुँदा यसले टाइप टु डाइबटिजको जोखिम वृद्धि गत्यसैले मनुगनका अनुसार ग्लुकोजको स्तरलाई नियन्त्रणमा राख्न हामीले नियमति खाइरहनुपर्छ । त्यसैले उनले इन्टरमिटेन्ट फास्टिङ गर्दा यति घण्टासम्म खाने र यति समयसम्म नखाने भनेर निश्चित समय तोक्ने अनि खाने समयमा नियमित केही खाइरहने गर्न बताइन् । बरु बिहानीको समयमा बढी क्यालोरीयुक्त सेवन गर्ने तर दिनमा कम्तीमा दुईपटक खानु ठीकै हुने उनी बताउँछिन् । यस्तो किन भनिएको भने हामीले बिहानमै दिनको अधिकतम भाग खानेकुरा खायौँ भने त्यसबाट प्राप्त ऊर्जा शरीरले दिनभर खर्च गर्न सक्नेछ । यसरी फ्याट हाम्रो प्रणालीमा स्टोर हुन पाउँदैन ।
तर बिहान भन्दैमा धेरै बिहान पनि खाने होइन र इन्टरमिटेन्ट फास्टिङका लागि पर्याप्त समय राख्न जरुरी भएकामा उनले जोड दिइन् । किनकी बिहान उठ्नासाथ खानुले हाम्रो शरीरको चक्र विरुद्धमा काम गर्ने उनी बताउँछिन् ।
रातिको समयमा हामीलाई सुत्नका लागि शरीरले ‘मेलाटोनिन’ उत्पादन गरिरहेको हुन्छ जसले शरीरमा इन्सुलिनको निर्माण रोक्छ । इन्सुलिनले शरीरमा ग्लुकोज स्टोर गरिरहेको हुन्छ । र सुतेका बेलामा धेरै ग्लुकोज निर्माण नहोस् भनेर मेलाटोनिनले इन्सुलिनको उत्पादन बन्द गर्छ । तर हामीले मेलाटोनिन तत्वको मात्रा उच्च भएका बेलामा केही खायौँ भने ग्लुकोजको स्तर अचानक एकदम बढ्न जान्छ । त्यसैले रातिको समयमा धेरै खाना खानु शरीरका लागि उल्लेखनीय चुनौति बन्न सक्छ ।
यसको अर्थ हामीले बिहानमा केही खानै हुँदैन भन्ने चाहिँ होइन । हामीले उठेको एक या दुई घण्टापछि मात्र सामान्य खाजा खाँदा राम्रो हुन्छ ।
यस्तोमा वैज्ञानिक हिसाबले सबैभन्दा स्वथकर खाने तरिका भनेको दिनमा दुई या तीनपटक जति खाएपनि रातिको समयमा चाहिँ लामो समयसम्म फास्टिङ या पर्याप्त समय केही नखाइ शरीरलाई आराम दिने । यसको अर्थ अर्को दिन एकदम ढिला खाना खान सकिन्छ ।
यसकासाथै दिनको सबैभन्दा अन्तिम खाना एकदम ठूलो मात्रामा सेवन नगर्नेबारे पनि ध्यान दिनुपर्ने यसबाट स्पष्ट हुन्छ । यसरी नियमित यो शैली अपनाएमा वास्तवमै ठूलो प्रभाव देखा पर्ने विज्ञहरूले दाबी गरेका छन् । यसमा एक मात्र कुरा के जरुरी छ भने हामीले एक दिन पनि नछुटाइ दैनिक यो अभ्यास जारी राख्नुपर्दछ ।