युएन मार्फत टर्कीमा नेपालीलाई रोजगार भनि प्रलोभन देखाई धमाधम मेडिकल गराइदै *

Posted on: 31 Mar, 2023

चैत १७, काठमाडौँ । भुकम्पले क्षेतिग्रस्त भएको टर्कीका भुकम्प पीडितहरुको घर कन्स्ट्रक्सनको लागि भन्दै नेपाली युवाहरुलाई काठमाडौँ स्थित एक म्यानपावर कम्पनीले धमाधम फारम भर्न लगाई मेडिकल गराउन पठाइएको पाइएको छ । 

काठमाडौँको चक्रपथमा रहेको विनर एचआर सोलुसन प्रालि (म्यानपावर) कम्पनीले सरकारबाट स्वीकृतिनै नभएको डिमाण्डमा रोजगारको लागि पठाउने भन्दै फारम भर्न लगाई राहदानीको नक्कल प्रति लिएर मेडिकल गर्न लगाएको युवाहरुले जनाएका छन् । युवाहरुलाई मेडिकल गराउन बसुन्धारा स्थित एक मेडिकल सेन्टर पठाइएको जानकारी प्राप्त भएको छ । उक्त मेडिकलमा टर्की रोजगारकै प्रलोभनमा पठाइएका युवाहरुको भीड लागेको पाइएको छ । 

उक्त म्यानपावरले युएन मार्फत नेपाली कामदारहरु माग भएको भन्दै युवाहरुलाई प्रलोभन देखाई धमाधम मेडिकल गराएको पुष्टि भएको छ । प्रलोभनमा पारिएका युवाहरुको अनुसार टर्कीमा भुकम्प पीडितहरुको घर बनाउने कामका लागि नेपाली कामदारहरुको माग भएको छ । १८ महिनाको लागि काममा लैजाने र युएनले लैजान खोजेको हुनाले आकर्षक सेवा सुविधा सहित तलब हुने प्रलोभन देखाइएको छ । उक्त रोजगारमा जान चाहेकाहरुसँग ४ लाख प्रतिव्यक्ति लागत लाग्ने समेत जानकारी गराइएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार म्यानपावरले सरकारसँग पुर्व स्वीकृति नलिई कामदार भर्ति गर्न तथा मेडिकल गराउन समेत पाउदैन । स्वीकृतिनै नभएको अवस्थामा रोजगारमा जाने प्रलोभनमा परेका युवाहरुलाई किन मेडिकल गराएको भन्ने प्रश्नमा सम्बन्धित बसुन्धारा स्थित मेडिकल सेन्टरले म्यानपावरले पठाए अनुसार आफूहरुले मेडिकल गराईदिएको जानकारी दिएको छ । उक्त मेडिकलले आफूहरुले आफ्नो मेडिकलमा आएकाहरुसँग प्रतिव्यक्ति चार हजार पाँच सय लिएर मेडिकल गर्दै पठाएको जनाएको छ तर युवाहरुलाई मेडिकल गर्न पठाउने म्यानपावर कम्पनीले सरकारसँग स्वीकृति लिए/नलिएको जानकारी आफूलाई नहुने स्पष्टिकरण दिएको छ । 

* प्रकाशिक समाचारको सम्बन्धमा सम्बन्धित म्यानपावरले पठाएको खण्डन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!