२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यानडाविरुद्ध कहाँ-कहाँ चुक्यो नेपाल ? यी हुन् हारका ६ कारण

१ आश्विन २०८१, मंगलवार ०६:१९

असोज १, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को चारवटै खेल जित्ने लक्ष्यका साथ क्यानडा उडेको नेपाली टिमलाई पहिलो गाँसमै ठूलो ढुंगा लागेको छ । अर्थात् नेपाल श्रृंखलाको पहिलो खेलमा घरेलु टिम क्यानडाविरुद्ध १०३ रनको फराकिलो अन्तरले पराजित भयो ।

क्यानडासँग ओडिआईमा नेपालको यो पहिलो हार हो । यसअघि खेलिएको तीन ओडिआईमा क्यानडाविरुद्ध नेपाल विजयी भएको थियो । मंगलबार बिहान सम्पन्न खेलमा क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ५० रनमै अलआउट भयो ।

नेपालका लागि करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २२, आसिफ शेखले २०, भीम सार्कीले १८, गुलशन झाले १५ र कुशल मल्लले १२ जोडे ।


बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालको इनिङ ध्वस्त पार्नेक्रममा क्यानडाका लागि तीव्र गतिका बलर डिलन हेलिगरले सानदार बलिङ गरे । उनले १० ओभरमा ३१ रन दिएर ५ विकेट लिए । यस्तै, अखिल कुमार र अंश पटेलले २/२ तथा सादबिन साफरले एक विकेट हात पारे । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनायो । उसका लागि कप्तान निकोलश किर्तनले उत्कृष्ट ब्याटिङ गरे ।

उनले ४४ बलमा ६ छक्का र ३ चौकासहित अविजित ७३ रन बनाए । यस्तै, नवनीत धालिवालले ४८, डिलन हेलिगरले ३०, हर्ष ठाकरले २७, सादबिन जाफर र प्रगत सिंहले १७/१७ तथा कलिम साना र आरोन जोनसनले १०/१० रन जोडे ।

नेपालका लागि ललितनारायण राजवंशी र सोमपाल कामीले २/२ तथा सन्दीप लामिछाने, गुलशन झा र रोहितकुमार पौडेलले एक/एक विकेट लिए । 

क्यानडासँग नेपाल हार्नुका प्रमुख ६ कारण 

१. खराब ब्याटिङ​

क्यानडाविरुद्ध लज्जास्पद हार बेहोर्नुमा नेपालको खराब ब्याटिङ प्रमुख कारण रह्यो । हुन त विदेशी मैदानमा नेपालको यो पुरानै समस्या हो । तर, यसपालि भारतको बैंग्लोरमा दुई साता स्तरीय प्रशिक्षणका साथ क्यानडा गएकाले नेपाली टिमको ब्याटिङमा सुधार देख्न पाइने अपेक्षा थियो । तर, पहिलो खेलमा नेपाली ब्याटर झन् ‘फ्लप’ भए ।

ओडिआईमा क्यानडाले दिएको २५४ रनको लक्ष्य विशाल होइन । यदि आरामले ५० ओभर खेल्न सकेको भए खेल नेपालले सहजै जित्ने थियो । तर, कुनै पनि ब्याटर क्रिजमा जम्न सकेनन् । अघिल्लो दुई अभ्यास खेलमा राम्रो लयमा देखिएका कुशल भुर्तेल क्यानडाविरुद्ध एक रनमै पवेलियन फर्किए ।

क्रिजमा जम्नुपर्ने अवस्थामा उनी सर्ट हिर्काउने धुनमा लाग्दा एल्बीडब्लू धरापमा परे । नेपालले ३.५ ओभरमा ९ रन जोड्दा कुशलको विकेट गुमायो । त्यसपछि अरू नेपाली ब्याटर पनि सस्तैमा आउट भए ।

यस खेलमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीबाट समर्थकले ठूलो पारीको आशा राखेका थिए । किनकी उनीहरूले डेढ महिना क्यानडामा अभ्यास गरेका थिए । तर, पहिलो खेलमा रोहित र दीपेन्द्रको क्यानडा अभ्यास काम लागेन । यस खेलमा रोहित ५ तथा दीपेन्द्र ८ रनमै आउट भए । 

२. हेलिगरको अलराउन्ड प्रदर्शन

नेपालले फराकिलो हार बेहोर्नुको अर्को कारण हो, डिलन हेलिगरको प्रदर्शन । क्यारेबियनमूलका यी खेलाडीले नेपालविरुद्ध अलराउन्ड प्रदर्शन गरे । ब्याटिङमा क्यानडालाई लयमा ल्याउन र नेपाली खेलाडीलाई दबाबमा राख्न हेलिगरले महत्वपूर्ण भूमिका खेले ।

ब्याटिङतर्फ उनले २७ बलमा २ छक्का र २ चौकासहित ३० रन बनाए । बलिङमा हेलिगरले १० ओभरमा मात्र ३१ रन दिएर ५ विकेट लिए । उनले कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप लामिछाने र गुलशन झाको विकेट लिएका हुन् । अलराउन्ड प्रदर्शन गरेका हेलिगर ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

३. आक्रामक ब्याटिङ

नेपाल हार्नुको अर्को प्रमुख कारण रह्यो, किर्तनको आक्रामक ब्याटिङ । कप्तान निकोलश किर्तनले नेपालविरुद्ध ४४ बलमा ६ छक्का र ३ चौकासहित अविजित ७३ रनको विस्फोटक इनिङ खेले ।

४० ओभरमा क्यानडाले ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । तर, क्यारेबियनमूलका किर्तन चम्किँदा क्यानडाले अन्तिम १० ओभरमा सानदार ब्याटिङ गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दियो । उनलाई सस्तैमा आउट गर्नु नसक्नु नेपाललाई ठूलो घाटा भयो । साथै, किर्तनले नेपाललाई हराउन सुझबुझ तरिकाले कप्तानीसमेत गरे । 

४. खराब डेथ ओभर बलिङ

नेपाल विगत लामो समयदेखि डेथ ओभर बलिङमा चुकिरहेको छ । सुरुवात उत्कृष्ट गर्दा पनि अन्तिममा सम्हालिन नसक्दा नेपालविरुद्ध विपक्षी ब्याटरले फाइदा उठाइरहेका छन् । र, सोमबार राति त्यो फाइदा क्यानडाका ब्याटरले उठाए ।

यदि नेपालले अन्तिम १० ओभरमा कसिलो बलिङ गर्न सकेको क्यानडाले २५३ रन बनाउने सम्भावना न्यून थियो । तर, नेपालले अन्तिम १० ओभरमा १०४ रन दियो । नेपालले क्यानडाविरुद्ध ८ बलरको प्रयोग गरेको थियो ।  

५. रोहितको खराब कप्तानी

क्यानडाविरुद्ध नेपालको फराकिलो हारको अर्को मुख्य कारण हो, खराब कप्तानी । यस खेलमा रोहितको कप्तानी सन्तोषजनक रहेन । विशेषगरी उनी बलिङमा चुके । रोहितले कुनै पनि मुख्य बलरलाई १० ओभर बलिङको मौका दिएनन् ।

यस खेलमा करण केसीले ६, सोमपाल कामीले ८, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ९/९, गुलशन झा र दीपेन्द्र सिंह ऐरीलाई ५/५  तथा कुशल मल्ललाई तीन ओभर बलिङ गराए । र, उनले चार ओभर बलिङ गर्दा एक विकेट लिँदै ४३ रन खर्चिए ।

बलरको सही सदुपयोग गर्न नसक्दा क्यानडाका ब्याटरले अन्तिममा खुलेर खेले । मुख्य बलरलाई बलिङमा ल्याउनुपर्नेमा आफैं अघि बढ्दा क्यानडाका ब्याटरले मोमेन्ट पक्रिए । र, रोहितले महत्वपूर्ण ४६औँ ओभरमा बिनाविकेट १९ रन दिँदै क्यानडाको स्कोर उकास्न मद्दत पुर्याए । त्यसपछि क्यानडाले ४ ओभरमा ५० रन बनायो ।  

६. प्लेइङ–११ छनोटमा चुक 

नेपाल पराजित हुनुको अर्को कारण बन्न पुग्यो प्लेइङ–११ छनोटमा चुक्नु । धेरै समर्थकले यस खेलमा अनिलकुमार साहले तेस्रो नम्बरमा ब्याटिङ गर्ने आशा राखेका थिए । तर, उनलाई प्रशिक्षक र कप्तानले प्लेइङ–११ मै समावेश गरेनन् ।

गत शुक्रबार भएको त्यहाँको स्थानीय क्लबविरुद्ध अनिलले अविजित ४७ रन बनाएका थिए । र, उनले गत फेब्रुअरीमा लक्ष्य पछ्याउनेक्रममा क्यानडाविरुद्ध अविजित शतकीय इनिङ खेलेका थिए ।

यसपालि भने क्यानडासँगको खेलमा अनिल पहिलो रोजाइमा परेनन् । बरु प्रशिक्षकको रोजाइमा अलराउन्डरहरू परेका देखियो । तर, उनीहरू पहिलो खेलमा योगदान दिन चुके । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत!