बालेनको पक्षमा नारा लगाएपछि दरबारमार्गमा बालेन शाहका समर्थक कुटिए

Posted on: 19 Sep, 2024

असोज ३, काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि राजधानीको दरबारमार्गमा कुटपिट भएको छ। संविधान दिवसको अवसरमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा बालेनको पक्षमा नारा लगाएका एक युवकलाई युवाहरूको अर्को समूहले कुटपिट गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।


घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार करिब पाँच जनाको समूहले ती युवकलाई बालेनको नारा लगाएपछि आक्रमण गरेको थियो। कुटपिट गर्ने युवाहरूको पहिचान अझै खुलेको छैन भने उनीहरू कुटपिट गरेपछि तुरुन्तै भागेका थिए।

कन्सर्टमा ठुलो संख्यामा राष्ट्रिय झण्डासहित युवा उपस्थिति थियो। यस कार्यक्रममा नेपालका चर्चित कलाकारहरू आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतका कलाकारहरूको प्रस्तुती रहने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि साँझको समयमा कन्सर्टमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

अहिलेसम्म कुटपिटको कारण र यसमा संलग्न समूहको पहिचानको लागि अनुसन्धान जारी रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!