काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’ गर्न सुरु

Posted on: 03 Aug, 2024

साउन १९, काभ्रेपलान्चोक ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । 

‘आलु सुपर जोन’का रूपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ । प्रारम्भिक चरणमा हाल दुई किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताए । उनका अनुसार स्थानीय स्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो । 

भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) को आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माणसहित प्याकिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताए । “हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक वर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ”, उनले भने । उद्योगलाई भन्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा रु १४ लाख सहयोगमा गरेको थियो ।

केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउँछिन् । उद्योगले ‘काभ्रेको चिनारी  पोसिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजी रु ८० का दरले प्याकिङ गरिएको आलु बजार पठाएको हो ।

“आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरक फरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ”, अधिकारीले भनिन् । उनका  अनुसार उद्योगले फरक फरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ । 

उपभोक्ताले आफूलाई मन पर्ने जातको आलु किनेर लैजान सक्ने गरी प्याकेजिङ गरेको जनाइएको छ । सुपर जोन समन्वय समितिका प्रमुख सुमन नेपालले ढुक्क भएर काभ्रेपलान्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गरेका छन् । उनले भने, “काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले विना सङ्कोच किनेर खान सक्नुहुन्छ ।” उनका अनुसार यस आलु ब्राण्डिङ कार्यक्रमले अन्य व्यावसायिक कृषकलाई उत्प्रेरण मिलेको पाइएको छ ।

आलु सुपर जोन कार्यालयले काभ्रेपलान्चोकमा आलुको उत्पादन तथा उत्पादनमा वृद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगायतमा कार्यक्रम कार्यालयले सञ्चालन गर्दै आइरहेको छ । कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्राण्डिङ बिस्तार गर्न कार्यालयले सहजीकरण गर्ने बताए ।

जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभ्रेको नौ हजार हेक्टर क्षेत्रफलमा वार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!