निर्वाचन समयमा पनि पर्यटकले मनाङ घुम्न पाउने

Posted on: 11 May, 2022

वैशाख २८, लमजुङ | हिमाली जिल्ला मनाङमा निर्वाचनको दिनमा पनि पर्यटकले घुम्न पाउने भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार शुक्रबार हुने स्थानीय तह चुनावका लागि मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका हुन् । प्रजिअ आचार्यले भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई समस्या नहोस् भनेर प्रवेश खुला गरिएको छ ।

तर निर्वाचनको दिनमा सवारी सञ्चालनमा रोक लगाइए पनि पैदलयात्रामा आउने पर्यटकले निर्वाचनकै दिनमा पनि प्रवेश पाउने भएका हुन् । पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । पर्यटन बोर्डबाट रोड परमिट लिएर आएका पर्यटकले प्रवेश पाउनेछन् ।

पछिल्लो समय मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो । पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको एक्यापको तथ्यांकमा उल्लेख छ । 

लमजुङ सदरमुकाम बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । बेसीशहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!