काठमाडौँ | सुनसरीको भोक्राहामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका- ६ फुल चोकमा प्र ०१- ०२- ००३ त ९०२ नम्बरको ट्याक्टरले प्र ०१- ०२- ०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा इनरुवा नगरपालिका- १० बस्ने २० वर्षीय सर्पराज अन्सारी र हरिनगरा गाउँपालिका- १ बस्ने २१ वर्षीय महजीत अन्सारी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सप्तकोशी न्यूरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।