काठमाडौं । संसद् भवन, नयाँ बानेश्वरमा आज विपक्षी दलहरूको बैठक सुरु भएको छ। बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा सुरु भएको हो।
बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलका नेताहरू सहभागी छन्।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि तय भएको थियो। त्यसअघि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलो गरी सुरु भएको हो।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले निरन्तर सरकारको स्पष्ट जवाफ माग गर्दै आएका छन्। सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामासमेत माग गरिएको थियो। तर पछिल्लो समय विपक्षी दलहरू सरकारबाट छानबिनको प्रतिवद्धता आए सदन सञ्चालनमा सहकार्य गर्न सकिने संकेत गर्दै आएका छन्।
यद्यपि, सत्तापक्षले भिजिट भिसा सम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत अनुसन्धान भइसकेको भन्दै सरकारले छुट्टै छानबिन गर्नुपर्ने आवश्यकता नरहेको धारणा राख्दै आएको छ।