२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जेनजी आन्दोलनका सहिदः जेनजी सहिद परिवारको माग ः दोषीमाथि अविलम्ब कारबाही होस्

२०८२, १० मंसिर मंगलवार १६:३४

काठमाडौँ | गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सहिद परिवारलाई दोषीमाथि कारबाही नहुने हो कि भन्ने चिन्ताले सताउन थालेको छ । प्रदर्शनका क्रममा काठमाडौँमा मृत्युवरण गरेका बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ को धम्बोजी निवासी सहिद आयुष थापाका परिवारले दोषीमाथि अविलम्ब कारबाहीको माग गरेको छ ।

सहिद आयुष थापाका बुबा ४५ वर्षीय सुशील थापाले भन्नुभयो, “जसले मेरा छोरा लगायतका छोराछोरी माथि गोली हाने त्यसका दोषीलाई छानबिन गरेर कारबाही हुनुपर्छ ।” उहाँले एक मात्र छोराको स्मरण हुँदा आफूलाई एक्लो भएको महसुस हुने गरेको बताउँदै दोषीमाथि कारबाही भए छोराको आत्माले शान्ति पाउने बताउनुभयो । “मेरो छोरो त मैले पाउँदिन तर दोषीमाथि कारबाही भए हामीलाई पनि सन्तोष हुन्थ्यो”, थापाले भन्नुभयो ।

नेपालगन्जको आदर्श कलेजबाट दश जोड दुई पास गर्नुभएका आयुष पढ्नका लागि छिटै फ्रान्स जाने तयारीमा हुनुहुन्थ्यो तर जेनजी प्रदर्शनपछि त्यो सपना मात्रै भयो । थापाले मुलुकमा सुशासन भइदिए हुन्थ्यो भन्ने कुरामा छोराले पहिलेदेखि नै भन्ने गरेको उल्लेख गर्नुभयो । पढाईमा समेत अब्बल रहनुभएका आयुष खेलकुदमा पनि रुची राख्नुहुन्थ्यो । सिधा र शान्त स्वभावका आयुष आफ्नो काममा मात्रै बढी केन्द्रित हुने गरेको बुबाको भनाइ छ ।

आफ्नो छोराको मृत्यु भएको कुरा दोस्रो दिन मात्रै थाहा पाउनुभएका थापाले सुरुमा छोरा अस्पतालको आइसियुमा भएको भन्ने खबर पाउनु भएको थियो । भदौ २४ गते बिहान १० बजे मात्रै छोरोको मृत्यु भएको खबर पाएको बताउनुभयो । “मृत्यु भएको खबर थाहा पाउँदा त म झसङ्गै भए” आयुषका बुबा सुशील थापाले भन्नुभयो । गाउँमा पहिल्यै आयुषको मृत्युको खबर पुगिसकेको रहेछ तर आफूले पछि मात्रै थाहा पाएको उहाँले बताउनुभयो । “मृत्युको खबर थाहा पाउँदा संसार नै अन्धकार भएजस्तो भयो, दिमागले राम्रोसँग काम गरेन” भावुक हुँदै उहाँले भन्नुभयो । अब उहाँसँग सन्तानमा एक छोरी मात्र हुनुहुन्छ ।

आयुषका हजुरबुबा ७२ बर्षीय टोपबहादुर थापाले “दोषीमाथि कारबाही भए यस्ता घटना नदोहोरिन सक्छन्” भन्नुभयो । उहाँले दोषीमाथि कारबाही नभए पुनः यस्ता घटना दोहोरिन सक्ने भन्दै दोषी पत्ता लगाएर सजाय हुनुपर्ने माग गर्नुभयो । “दोषी जोसुकै हुन् मेरा नाति, नातिनालाई गोली हान्नेमाथि छिटोभन्दा छिटो कारबाही हुनुपर्छ” हजुरबुबा थापाले भन्नुभयो ।

सहिद आयुष थापाका मामा अङ्कित थापा सबैभन्दा मिल्ने साथी हुनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझी स्थायी घर भएका उहाँ अहिले काठमाडौँको टोखामा बस्नुहुन्छ । मिल्ने साथी हुनुभएका आयुषका मामा अङ्कितले सहिदले गरेको बलिदान खेर जान नहुने धारणा राख्नुभयो । उहाँले अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही आवश्यक भएकामा जोड दिदै जेनजी आन्दोलनबाट सबैभन्दा पीडित सहिद परिवार भएको बताउनुभयो ।

मिलनसार स्वभाव भएका सहिद आयुष देशप्रेमी भएको उल्लेख गर्दै उहाँले सुशासनको पक्षमा दृढ रहेको बताउनुभयो । जेनजी आन्दोलनमा सहभागी भइरहँदा आयुषसँग अन्तिममा सुरक्षाका विषयमा कुरा भएको स्मरण गर्दै अङ्कितले भन्नुभयो “कति आमाका एउटा मात्रै छोरा वा छोरी छन्, उहाँले गरेको त्याग खेर जानु हुँदैन ।”

आयुषले विदेशमा गएर पढेर त्यहाँको सीप ल्याएर नेपालमा नै उद्यम गर्ने सपना देखेको उल्लेख गर्दै साथी समेत रहनुभएका मामा अङ्कितले भान्जाले देखेको सपना वास्तविकतामा परिणत हुन नपाएको गुनासो गर्नुभयो । “हामी मामा भान्जा मात्रै थिएनौँ, साथीसाथी पनि हौंँ, सँगै कोठामा बस्थ्यौं र सँगै काम गरिरहेका हुन्थ्यौँ तर अहिले त म एक्लो जस्तै भएको छु” मामा अङ्कितले भन्नुभयो ।

जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गरेका परिवारलाई सरकारका तर्फबाट किरिया खर्चका लागि रु. पाँच लाख र अन्य रु. १० लाख गरेर रु. १५ लाख प्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले आयुष थापा र शुलभराज श्रेष्ठको सम्झनामा सहिद गेट र आयुष सुलभ मार्गका रुपमा सडकको नामाकरण गर्न लागिएको बताउनुभयो । सहिद थापा नेपालगन्ज–१ का रहेकाले वडा कार्यालयले गेट निर्माण र सडकको नामाकरण गर्न लागेको उहाँको भनाइ छ ।

बाँकेको खजुरारोड शिव मन्दिरदेखि आयुषको घर हुँदै विशालनगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गरिने र विशाल चोकमा सहिद गेट निर्माण गरिने तयारी सुरु भएको वडाध्यक्ष रिजालले बताउनुभयो । “वडाबाट निर्णय गरिसकेको छौँ, माघमा रकम रकमान्तर गरेर सहिद गेट र राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने पनि तयारी गर्दैछौँ” उहाँले भन्नुभयो । गेट निर्माण र प्रतियोगिताका लागि करिब रु १५ लाख बजेट आवश्यक हुने उल्लेख गर्दै वडाध्यक्ष रिजालले सो कामबाट जेनजी आन्दोलनका सबै सहिदप्रति सम्मान हुने धारणा व्यक्त गर्नुभयो । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागेर नेपालगन्ज–१ का आयुश थापा र सुलभ श्रेष्ठको मृत्यु भएको थियो । दुबै जना एउटै वडाका सहिद हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ