‘कोरोना विरुद्धको खोपको समस्या छैन ’

Posted on: 17 Jan, 2022

माघ ३, विराटनगर | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको छ भन्नुभयो । मन्त्री खतिवडाले कोरोना विरुद्ध खोपको  समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताउनुभयो । 

समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उहाँले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताउनुभयो  । उहाँलेभ भन्नुभयो “बढी भीडभाड हुने सहरमा नियमित खोप सञ्चालन गर्ने सरकारको तयारी छ । हालसम्म दुई करोड ८० लाख डोज खोप लगाइसकिएको छ । ” 

उहाँले गत पुस ४ देखि १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कार्य सञ्चालन भइसकेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्ममा दुई डोज खोप लगाउने नागरिकको प्रतिशत ६० पुगेको छ । 

सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रण गर्नका लागि  तयारी गरिसकेको जनाउँदै उहाँले सरकार होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आइसियू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ भन्नुभयो । कोरोनाको महामारीका समयमा नागरिकले गरेको बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको जानकारी दिनुभयो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!