गान्धी मनमोहन मार्ग ५ वर्षसम्म पनि बनेन

Posted on: 22 Jun, 2024

असार ८, मोरङ | मोरङको रंगेली देखि गान्धीआश्रम हुँदै पथरी जोड्ने गान्धी मनमोहन मार्ग विगत ५ वर्ष देखि लथालिङ्ग अवस्थामा छ । कान्छाराम कन्ट्रक्सनको लाहपर्वाहीका कारण यस क्षेत्रका बासिन्दाले वर्खामा हिलो र हिउँदमा धुलो खान बाध्य छन् ।

२०७६ साल कार्तिकमा नेपाल सरकारले १ अर्ब ५५ करोड ७३ लाख रुपैँयामा २५ किलोमिटर बाटो कालोपत्रे गर्नका लागि सम्झौता गरेको थियो । ३ वर्षमा निर्माण कार्य सक्नेगरी सम्झौता भएपनि पटक पटक म्याद थप गर्दा पनि हालसम्म सडकको नाला बाहेकको काम भएको छैन् । पटक पटक पहल गर्दा पनि काम गर्न तत्परता नदेखाएको निर्माण कम्पनीले हालसम्म नालाको काम मात्रै गरेको छ । सडकमा पानी जम्ने, मान्छै नै लड्नेगरीका ठुला ठुला खाल्डा परेपछि समस्या भएको रंगेली ७ का सत्यनारायण शाहले बताए ।

उक्त सडक निर्माणका लागि रंगेलीको भोटेबाबु चोकदेखि सुनवर्षीको सिमानासम्म नगरपालिकाले ५२ फुट सडक निर्माणका लागि आवश्यक संरचनाहरू सबै हटाएर तयारी अवस्थामा राखेको छ तर निर्माण कम्पनी कानका तेल हालेर बसेको अवस्था छ । विद्यार्थीहरु विद्यालय जाँदा जाँदै हिलै हुने अवस्था रहेको स्थानीय सम्पत राजवंशीले बताए ।

यो सडक निर्माणका लागि पथरीशनिश्चरे, सुनवर्षी र रंगेली नगरपालिकाका मेयरहरुले पटक पटक जिल्ला पशासन कार्यालयमा छलफल राख्दा समेत काम हुन सकेको छैन् । अब पनि काम नगरे नगरसभा सकेर प्रकृया अनुसार नगरले नै काम थाल्ने रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!