मोरङमा कुखुरा फार्म सञ्चालकको हत्या

Posted on: 11 Jul, 2024

असार २७, मोरङ । मोरङमा कुखुरा फार्म सञ्चालकको हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको हो । प्रहरीका अनुसार बजगाईंले घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए ।

 फार्मभित्रै बिहीबार बिहान १०:३० बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार हत्या कसले गरेको हो भन्ने खुल्न बाँकी छ ।  ‘बजगाईंले खुकुरा फार्ममा काम गर्नका लागि एक दम्पती (पति–पत्नी) लाई राखेको खुलेको छ । 

फार्मभित्रै शव फेला परेको भए पनि दम्पती त्यहाँ भेटिएनन्,’ डीएसपी बस्नेतले भने, ‘घटना उनीहरुले नै गराएको हो कि भन्ने आशंका छ । अनुसन्धानपछि मात्रै हत्यामा संलग्नका बारेमा पत्ता लाग्छ ।’ घटनास्थलमा नभेटिएका कारण हत्या गरेर फार्ममा काम गर्न राखिएका दम्पती फरार भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । 

घटनास्थलमा एउटा बन्चरो र दाउ फेला परेको छ । दुवै हतियार रगत लतपतिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । ‘मृत फेला परेका बजगाईंको टाउको क्षतविक्षत अवस्थामा छ । शरीरका अन्य भागमा पनि चोटपटक छ । घटनास्थलको अवस्थाले नै हत्या भएको हो भनेर प्रष्ट पार्छ,’डीएसपी बस्नेतले भने । 

बन्चरो र दाउले टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरेर हत्या गरेजस्तो देखिने उनले बताए । इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ । दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजी तीव्र पारेको जानकारी बस्नेतले दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!