२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

वैदेशिक रोजगारी कर्जाको व्यवस्था गर्दै सरकार

२०८०, ५ आश्विन शुक्रबार ०५:३६

असोज ५, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वैदेशिक रोजगार कर्जा उपलब्ध गराउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्जाका लागि बैंक तथा वित्तीय वा सामाजिक सुरक्षा कोषलाई विकल्पका रूपमा लिएको छ ।

न्यूनवर्गीय युवालाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन कठिन हुने कारण सहकारी तथा व्यक्तिबाट नै चर्को ब्याज लिन बाध्य छन् । जसको कारण अधिकांश वैदेशिक रोजगारीमा जाने युवा मिटरब्याजीको फन्दामा पर्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले यस्तो कर्जाको तयारी गरेको हो । 


न्यून तथा मध्यमवर्गीय युवाहरूको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले वैदेशिक रोजगार कर्जाको उपलब्धताको योजना बनाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डुन्डुराज घिमिरेले बताए । उनका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको प्रक्रिया अन्तिम चरणमा पुगेपछि कर्जा प्रदान गरिनेछ । सीधै म्यानपावर व्यवसायीको खातामा जाने गरी न्यून ब्याजदर कर्जा उपलब्धताको व्यवस्था गर्ने योजना रहेको उनले बताए । 

वैदेशिक रोजगारी कर्जाले पारदर्शिता ल्याउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी कर्जाले रोजगारीको क्षेत्रमा पारदर्शिता कायम हुने बताएको छ । कर्जा योजनाअनुसार श्रमिकले लिने कर्जा बैंकबाट सीधै म्यानपावर व्यवसायीको खातामा जाने हुँदा व्यवसायीले तोकिएभन्दा बढी शुल्क लिन नपाउने श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । कर्जा योजना सुरु हुनुपूर्व मन्त्रालयले म्यानपावर व्यवसायीको शुल्क तोक्नेछ । सोहीअनुसार गन्तव्य मुलुक र श्रमिकको कामको प्रकृतिअनुसार रकम भुक्तानी गर्नेछ । 

म्यानपावर व्यवसायीलाई जति रकम भुक्तानी गर्नुपर्ने हो, त्यति मात्रै बैंकबाट व्यवसायीको खातामा जाने हुँदा रकम भुक्तानी पारदर्शी हुनेछ । ‘रकम भुक्तानी गरेको रेकर्ड हुने हुँदा म्यानपावर व्यवसायीले श्रमिकलाई ठग्न पाउनेछैनन् । त्यस्तै, श्रमिकले भुक्तानी गरेको रकमअनुसार सरकारले व्यवसायीबाट कर पनि प्राप्त गर्नेछ,’ घिमिरेले भने । 

कर्जाका लागि मन्त्रालयले सामाजिक सुरक्षा कोषसँग पनि सहकार्य गर्न सक्नेछ । कोषसँग रहेको ठूलो रकम आम्दानीका लागि कहीँ न कहीँ त लगानी गर्नुपर्छ, त्यसलाई वैदेशिक रोजगारी कर्जाका लागि प्रयोग गर्ने भन्ने विषयमा पनि मन्त्रालयमा छलफल भएको मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । त्यस्तै, अर्को विकल्पको रूपमा वाणिज्य बैंकहरूले प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जाअन्तर्गत वैदेशिक रोजगारी कर्जालाई पनि समेट्ने कि भन्ने विषयमा पनि छलफल भएको उनले बताए । ‘मन्त्रालयको उद्देश्य भनेको श्रमिकले चर्को ब्याज लिएर रोजगारीमा जान नपरोस् । रोजगारीमा जान चाहने श्रमिकलाई सहज र सरल रूपमा कर्जाको व्यवस्था होस् भन्ने हो,’ घिमिरेले भने । 

वैदेशिक रोजगारी कर्जाले रेमिट्यान्सलाई प्रोत्साहित गर्ने मन्त्रालयको ठहर छ । मन्त्रालयले कर्जा प्रदान गर्ने बैंकमार्फत नै श्रमिकहरूले रेमिट्यान्स पठाउनुपर्ने व्यवस्थासमेत गरिने मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । ‘बैंकबाट कर्जा पाएपछि बैंकप्रति श्रमिकको विश्वास पनि बढ्नेछ । बैंकप्रति आत्मीयता पनि हुनेछ । भोलिका दिनमा रेमिट्यान्स पठाउँदा सोही बैंकमार्फत पठाउनेछन्,’ उनले भने । 

राज्यबाट श्रमिकले के–के पाउँछन् सुविधा

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सरकारले विभिन्न खालका सुविधाको व्यवस्था गरेको छ । वैदेशिक रोजगार बचतपत्र, प्राथमिक सेयरमा कोटाको व्यवस्था, सामाजिक सुरक्षा कोष तथा सहुलियतपूर्ण कर्जाको पनि व्यवस्था गरेको छ । 

सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सेयर बजारमा समेट्नका लागि प्राथमिक सेयर निष्कासनमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । धितोपत्र बोर्डले गत वर्षदेखि यो व्यवस्था लागू गरेको हो । जसअनुसार कुनै पनि कम्पनीले प्राथमिक सेयर निष्कासन गर्नुपूर्व १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि जारी गर्नुपर्नेछ । यसरी निष्कासन गरिएको सेयरमा वैदेशिक रोजगारीमा गएका श्रमिकले यथास्थानबाट आवेदन दिन सक्नेछन् । यसका लागि श्रमिकसँग श्रम स्वीकृति अवधि भएको हुनुपर्ने, रोजगारदातासँगको सम्झौता, डिपिआइपी तथा रेमिट्यान्स खाता अनिवार्य रूपमा हुनुपर्नेछ । श्रमिक अनलाइनबाट नै सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यस्तै, सरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ । वाणिज्य बैंकले प्रदान गर्ने सहुलियपूर्ण कर्जाका लागि श्रमिकले परियोजनाको खाकासहित कर्जाका लागि आवेदन दिनुपर्नेछ । तर, यस्तो कर्जामा भने श्रमिकलाई धेरै सास्ती भोग्नुपरेको श्रमिकहरूको गुनासो छ । श्रमिकका लागि बैंकले नै कर्जा दिन आनाकानी गर्ने उनीहरूको गुनासो छ । 

त्यस्तै, सरकारले गत वैशाखदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सामाजिक सुरक्षा कोषमा समेट्न थालेको छ । श्रमिकले मासिक दुई हजार रुपैयाँ योगदान गरी कोषमा समावेश हुन सक्नेछन् । अहिले श्रम स्वीकृति लिएर जाने श्रमिकले अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुुनुपर्नेछ । तर, यसअघि नै विदेशमा श्रम गर्दै आएका श्रमिकले भने अनलाइनमार्फत कोषमा सहभागी हुनका लागि आवेदन दिन सक्नेछन् । 

त्यस्तै, नेपाल राष्ट्र बंैकले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको छ । श्रमिकको आम्दानी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि सरकारले बचतपत्र योजना सञ्चालनमा ल्याएको हो । केन्द्रीय बैंकले ०६७ सालदेखि बचतपत्रको सुरुवात गरेको हो । तर, अपेक्षित रूपमा बचतपत्रमा आवेदन नपरेको केन्द्रीय बैंकले जनाएको छ । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण