२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन पक्राउ पर्दै छन् विप्लवका नेता–कार्यकर्ता ?

२०७४, २६ जेष्ठ शुक्रबार ०१:३८

जेठ २६, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ता धमाधम पक्राउ परेका छन् । स्थानीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपाका नेता–कार्यकर्तालाई सरकारले निर्वाचन बिथोल्न सक्ने आशंकामा जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न थालेको हो । 

नेकपा केन्द्रीय कार्यालयका सचिव भेषराजले देशभरबाट झन्डै दुई सयको हाराहारीमा नेता–कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका नेता–कार्यकर्तालाई सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ का आधारमा हिरासतमा राखिएको छ । ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएकालाई समेत पुनः पक्राउ गर्ने, एउटा जिल्लाबाट अर्काे जिल्लामा सारेर फेरि मुद्दा लगाउने गरिएको नेकपाले आरोप लगाएको छ ।

मानवअधिकारकर्मीले पक्राउको विरोध गरेका छन् । स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक आस्था राख्न पाउने मौलिक अधिकारको हनन हुने गरी सरकारले विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्तामाथि धरपकड बढाएको मानवअधिकारकर्मीले बताएका छन्।

केन्द्रीय नेता नै प्रक्राउ

नेकपाका राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाठा, बन्धु चन्द, चन्द्रबहादुर खड्कालाई प्रहरीले २४ जेठमा पक्राउ गरेको छ । प्युठानको तिरामबाट उनीहरूलाई पक्राउ गरिएको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा विरहीले जानकारी दिए । ‘घरमा पार्टीका नेताहरूसँग छलफल गरेर बसिरहेका वेला उहाँहरूलाई धरपकड गरेर प्रक्राउ गरिएको छ,’ शर्माले भने । सोही स्थानबाट १४ जनालाई प्रक्राउ गरिएको नेकपाले जनाएको छ ।

कहाँ–कहाँबाट पक्राउ परे ?

देशव्यापी रूपमा प्रहरीले आफ्ना नेता–कार्यकर्तामाथि धरपकड बढाएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । बर्दिया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, महोत्तरी, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौं, दोलखा, दाङ, सल्यान, धादिङ, नुवाकोट, सुनसरी, मोरङ, जुम्ला, पर्वत, तनहुँ, बाग्लुङ र म्याग्दीबाट आप्mना नेता–कार्यकर्ता पक्राउ गरिएको नेकपाको केन्द्रीय कार्यालयको रेकर्ड छ ।

धरपकड कहाँ कति ?

तथ्य १ : पक्राउ परेकालाई भेट्न जाने पनि पक्राउ

नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल २३ वैशाखमा सिन्धुलीको भिमानमा दुई सहकर्मी प्रकाश ओली र जाहिर हुसेनसँगै प्रक्राउ परे । १५ जेठमा सिन्धुली जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही पाँच हजार धरौटीमा रिहा गर्न आदेश दियो । तर, उनीहरूलाई रिहाइ गरिएन । उल्टै उनीहरूलाई भेट्न गएका राजन बस्नेतलाई समेत पक्राउ गरिएको नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराजले बताए । चारैजना अहिले सिन्धुली जेलमा छन् ।

तथ्य २: पक्राउ परेकालाई जिल्ला स्थानान्तरण

नुवाकोट विदुर नगरपालिका गेर्खुका शंकर तामाङ २६ वैशाखमा पक्राउ परे । उनी विदुर चोकमा चिया पिउँदै गर्दा पक्राउ परेका थिए । प्रशासनले तोकेको धरौटी तिरेर रिहाइ भएका उनलाई तत्कालै पक्राउ गरी धादिङ प्रशासनको हिरासतमा राखिएको छ ।

तथ्य ३ : धरौटी बुझाए पनि छोडिएन

नेकपाका बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारी पार्टी बैठककै वेला २८ वैशाखमा जिल्लास्तरीय १८ नेतासहित पक्राउ परिन् । सार्वजनिक अपराधअन्तर्गत मुद्दा खेपेका उनीहरूसँग २५ दिन हिरासतमा बसेपछि धरौटी मागियो । उनीहरूले धरौटी पनि बुझाए । तर, पुनः प्रक्राउ गरी हिरासतमा राखिएको छ । त्यस्तै, सुनसरी बेलबारीका उदय राई २९ वैशाखमा पक्राउ परे । उनले पनि प्रशासनमा धरौटी बुझाए । तर, उनी पनि पुनः पक्राउ परेका छन् । उनी प्रहरी कार्यालय पकलीको हिरासतमा छन् ।

तथ्य ४ : छोडिएकालाई पनि दैनिक तारेख

सल्यान दार्माका मोहन केसी २० वैशाखमा आफ्नै घरबाट पक्राउ परे । प्रशासनले तोकेको पाँच हजार धरौटी उनले बुझाए । तर, उनलाई प्रहरी हिरासतमै लगियो । अहिले उनलाई दैनिक हाजिर हुने सर्तमा छोडिएको छ । गोर्खाबाट पक्राउ परेका विकास भट्टराई पनि २५ दिनसम्म गोरखा जिल्ला प्रहरीको हिरासतमा बसे । अहिले उनलाई दैनिक टोलिफोनमा आफू काहाँ रहेको भन्ने ‘अपडेट’ गराउने गरी तारेखमा राखिएको छ ।

कडा प्रतिवादमा उत्रन्छौँ: खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी

हाम्रा केन्द्रीय नेताहरूलाई गैरकानुनी गिरफ्तार गरिएको छ । राजनीतिक स्वतन्त्रताविरुद्ध यो गिरफ्तारी भइरहेको छ । हामी यसको घोर निन्दा र भत्र्सना गर्छौँ । पक्राउ गरिएका कमरेडहरूको तत्काल रिहाइ नभए संघर्षको मोर्चाबाट हामी कडा प्रतिवाद गर्छौँ ।

कुनै पार्टीका कार्यकर्ता पक्राउ गरिएको छैन: दीपक काफ्ले, प्रवक्ता, गृह

हामीले कुनै पार्टीका नेता–कार्यकर्ताका रूपमा कसैलाई पक्राउ गरेका छैनौँ । जिल्लाको शान्ति–सुरक्षा कायम तथा निर्वाचनको वातावरण निर्माण गर्ने क्रममा विरोधी गतिविधि कसैले गर्न खोज्छ भने उनीहरूलाई स्थानीय प्रशासनले पक्राउ गरेको होला । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल