भदौ २४, काठमाडौं । भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे ।
तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी छ ।
चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दको अवैध कारोवारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेल्यो र त्यसबाट लाभान्वित आपराधिक समूह क्रमशः आर्थिक तथा संगठित अपराधसँग समेत जोडिँदै गए । यसका कारण नेपालको अन्तर्राष्ट्रिय जगतमै बदनाम हुँदै जाँदा सरकारले हस्तक्षेप गर्न थाल्यो र तस्कर हच्कन थाले ।
त्यो अवस्थामा रक्तचन्दनका लागि जति पनि पैसा तिर्न तयार चिनियाँ तस्कर अन्य लाभकारी धन्दातर्फ मोडिए । जसमा डलर, सुन, वन्यजन्तुका अंगप्रत्यंग, जडीबुटीलगायत थुप्रै बस्तु पर्छन् ।
जानकारका अनुसार पछिल्ला वर्षमा नेपालमा चिनियाँ तस्करले जरो गाडेका छन् । आवरणमा होटल, रेस्टुराँ र अन्य व्यापार देखिए पनि विभिन्न अवैध धन्दाका कारण चिनियाँ व्यापारी सन्देहको घेरामा छन् ।८८ किलो सुन केरुङ नाकाबाट काठमाडौं ल्याएका चिनियाँ नागरिक वान विई मिङ ठमेलका होटल व्यवसायी हुन् ।
पछिल्लो समय चीनबाट भारी मात्रामा भित्रेका ठानिएका सुन नेपालका सुन पसलमा पनि प्रशस्तै बिक्री हुन्छ । जबकि त्यस्तो सुनका लागि लक्षित गन्तव्य भारतको विशालबजार हो । गत वर्ष पुसमा प्रहरीले ८ किलो सुनसहित भूगोलपार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गर्यो । उनीहरूलाई भारतीय नागरिक भागिरथ चौधरीले सुन सप्लाई गर्दै आएका थिए ।
चौधरीले ‘मामा’ उपनामका चिनियाँ तस्करबाट सुन बुझेर काठमाडौंका केही सुन पसललाई सप्लाई गर्दै आएका थिए । चिनियाँ तस्करले ल्याएको सुन नेपाली सुन व्यवसायीले खरिद गर्ने यो एउटा चोटिलो उदाहरण बन्यो । उक्त घटनाको अनुसन्धानले चिनियाँ तस्करले भारत मात्रै नभएर नेपालमा समेत आफ्नो जालो विस्तार गर्न खोजेको पुष्टि गरेको थियो । -अन्नपूर्ण पोस्ट दैनिक