२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ स्थानीय निर्वाचन, क्रान्तिको आधार खोज्दै वैद्य माओवादी

२०७४, २९ भाद्र बिहीबार ०१:२८

भदौ २९, काठमाडौं । प्रदेश २ मा २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू प्रचारप्रसारमा जुटिरहेका छन् । 

दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) (तत्कालीन नेकपा–माओवादी) भने क्रान्तिको आधारका लागि संगठन निर्माण अभियानका साथ निर्वाचन मैदानमा होमिएको छ। 

पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) अहिले प्रदेश २ का स्थानीय तहमा परिचालन भएको छ। क्रान्तिकारी माओवादीले प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा केन्द्रीय सचिवालय परिचालन गरेको छ।

अहिलेको संविधान देश र जनतासँगै मधेसविरोधी भएको भन्दै त्यसको भण्डाफोर गर्दै देजमोका उम्मेदवारहरू प्रचारप्रसारमा छन्। ‘संविधान, सत्ता र व्यवस्थाको जनविरोधी चरित्रको भण्डाफोर गर्दै पार्टी तथा मोर्चाको संगठन विस्तार र क्रान्तिका लागि जनआधार तयार पार्न हामी चुनावी अभियानमा छौं,’ चुनावी अभियानका क्रममा महोत्तरीमा रहेका देजमोका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेलले राजधानीसँग टेलिफोनमा भने,

‘पार्टीले स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको छ, त्यहीअनुरूप हामी पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी भयौं, तेस्रो चरणको निर्वाचनलाई समेत क्रान्तिकारी उपयोग गर्दै छौँ।’

उनले पार्टीका कार्यकर्ताहरू गाउँगाउँमा चुनावी प्रचारसँगै भण्डाफोर अभियान चलाइरहेको बताए। प्रमुख तीन दलको संसदीय घेराबन्दीका बाबजुद आफूहरू स्वतन्त्र चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको उनको भनाइ छ। देजमोका उम्मेदवारहरू यतिबेला चुनावी प्रचारप्रसार गर्दै स्थानीय तहको समृद्धिको नारासँगै संविधानको विरोधमा भण्डाफोर अभियान चलाइरहेका छन्।

‘जनताले निर्वाचित गरे आफ्नो स्थानीय तहमा विकास निर्माणसँगै समृद्धिका लागि काम गर्नेछु, बजेटलाई पारदर्शी रूपमा कार्यान्वयन गर्दै हरिवन नगरपालिकालाई नमुना नगर बनाउनेछु,’ क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देजमोको तर्फबाट सर्लाहीको हरिवन नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका बलराम न्यौपानेले भने, ‘निर्वाचनमा हारजित होला तर हामी हाम्रो एजेन्डालाई स्थापित गर्दै क्रान्तिका लागि नयाँ आधार तयार गर्न लागिरहेका छौं।’

महोत्तरी जिल्लामा २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई बहिष्कार गर्ने अभियानको नेतृत्व तहमा रहेका उपेन्द्र यादव यतिबेला महोत्तरीको रामगोपालपुर नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्दै छन्। ‘निर्वाचनमा जितका लागि मात्र होइन, हामी जनतालाई क्रान्तिको बाटोमा ल्याउन पनि होमिएका हौं,’ यादवले भने, ‘क्रान्तिकारी शक्ति अहिले पनि जनताको घरदैलोमा नै छ भनेर स्थापित गर्न पनि म चुनावमा होमिएको हुँ। हिजोको बहिष्कार पनि जनताको पक्षमा थियो। आजको क्रान्तिकारी उपयोग पनि जनताकै पक्षमा हो।’

‘कोदालो बोकेको किसान’ चुनाव चिह्नमा मत माग्दै गाउँगाउँमा पुगिरहेका यादव मधेसका किसानहरूको पक्षमा संविधान नभएको भन्दै भण्डाफोर गरिरहेको बताउँछन्। प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा क्रान्तिकारी माओवादीको छोटेलाल पटेल चुनावी प्रतिस्पर्धामा छन्।

‘अहिलेको प्रतिकूल परिस्थितिमा मैले उम्मेदवारी दिनु नै नैतिक रूपमा मेरो जित हो, ठूला दलबाट उठेका व्यापारीहरू पैसाको बलमा प्रचारमा जुटेका छन्,’ पटेलले भने, ‘हामी उनीहरूको सिन्डिकेट तोड्दै अगाडि बढेका छौं, पर्सा वा वीरगन्जमा संसद्वादी पार्टीहरू मात्रै छैनन्, क्रान्तिकारीहरू पनि छन् भनेर यो निर्वाचनले स्थापित गर्नेछ।’ -राजधानी दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल