६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहाँ–कहाँ तोकिँदै छन् सात प्रदेशका राजधानी ?

१ आश्विन २०७४, आईतवार ०२:१२

असोज १, काठमाडौं । सरकारले दसैँअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । 

प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफलसमेत थालेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण र त्यसपछि प्रदेश नम्बर २ को निर्वाचनमा व्यस्त हुँदा अहिलेसम्म राजनीतिक समितिको बैठकसमेत बस्न नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने प्रदेशको अस्थायी राजधानी तोक्न आन्तरिक गृहकार्य भइरहेको बताए । दलहरूसँग छलफल गरेर दसैँपछि मन्त्रिपरिषद्को राजनीतिक समितिले निर्णय लिने उनले बताए । ‘विभिन्न उपसमिति बनाएर प्रदेश संरचना, प्रदेशका लागि आवश्यक कानुनको मस्यौदा र पूर्वाधार अध्ययनको काम भइरहेको छ । दसैँलगत्तै सबै विषय टुंगो लाग्छ,’ उनले भने ।

प्रदेश प्रमुख तोक्ने आधार बन्दै 

प्रदेश प्रमुख तोक्नेसम्बन्धी कानुनको मस्यौदा र सेवा, सर्तको मस्यौदा भने तय भएको छ । मन्त्रिपरिषद्को राजनीतिक समितिले त्यस्तो जिम्मेवारी उच्चस्तरीय प्रशासनिक पुनर्संरचना समितिलाई दिएको थियो । समितिले प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी कानुनको मस्यौदा, सेवा, सर्त, नियुक्तिको मापदण्ड, प्रदेशको संरचनालगायतको प्रारम्भिक मस्यौदा निर्माण गरेको हो । अब एक सातामा मस्यौदालाई पूर्णता दिई मन्त्रिपरिषद्मा पेस गर्ने समितिको तयारी छ । सो प्रस्ताव मन्त्रिपरिषद्अन्तर्गतको राजनीतिक समितिमा पेस गरेपछि मात्र सरकारले निर्णय गर्न सक्नेछ ।

प्रदेश राजधानी प्रस्ताव गर्न गृहलाई जिम्मेवारी 

प्रधानमन्त्री नेतृत्वको राजनीतिक समितिले प्रदेशको राजधानी प्रस्ताव गर्ने जिम्मा गृह मन्त्रालयलाई दिएको छ । सम्भावित प्रदेश राजधानीको नाम, त्यहाँको जनसंख्या, भौतिक पूर्वाधार, आर्थिक सम्भावना, प्रदेशका लागि पायक पर्ने क्षेत्र आदि सिफारिस गर्न गृहलाई जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद्ले दिएको जिम्मेवारीअनुसार आन्तरिक गृहकार्य गरिरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । उनले दसैँअघि नै प्रदेशको सम्भावित राजधानीको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिए ।

यस्तो छ अनौपचारिक प्रस्तावित प्रदेश राजधानी 

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत छुट्टै अनौपचारिक गृहकार्य गरेको थियो । प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी नेतृत्वको समितिले प्रदेश राजधानी तोक्ने आधार र मापदण्ड तयार पारेको थियो । अस्थायी राजधानी तोक्ने प्रस्ताव मुख्य सचिवमार्फत प्रधानमन्त्री देउवासमक्ष पेस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रदेश राजधानीको रूपमा प्रस्तावित क्षेत्रको अध्ययन गराएर निर्णय लिन प्रधानमन्त्रीसमक्ष प्रस्ताव पेस भएको हो ।

अनौपचारिक प्रस्तावमा प्रदेश राजधानी 

प्रदेश नं.१ : झापा, धनकुटा र मोरङ 

प्रदेश नं. २ : जनकपुर, वीरगन्ज, राजविराज 

प्रदेश नं.३ : काठमाडौ, हेटौँडा, धुलिखेल र चितवन 

प्रदेश नं.४ : पोखरा निर्विकल्प 

प्रदेश नं. ५ : बुटवल, दाङ, बाँके र कपिलवस्तुको तिलौराकोट क्षेत्र 

प्रदेश नं. : सुर्खेत र जुम्ला 

प्रदेश नं. ७ : डोटी, कैलाली(अत्तरियादेखि धनगढीसम्मको क्षेत्र), कञ्चनपुर र डडेलधुराको स्याउली बजार क्षेत्र

प्रदेश प्रमुखको पारिश्रमिक तोक्ने गृहकार्य रोकियो 

प्रधानमन्त्री कार्यालयले प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश मन्त्रीहरूका लागि पारिश्रमिकको प्रस्ताव तयार पारेको थियो । प्रधानमन्त्री कार्यालयको कानुन महाशाखाले सो प्रस्ताव तयार गरेको हो । तर, मुख्यमन्त्री र मन्त्रीहरूको सेवा, सर्त र सुविधा तोक्ने अधिकार प्रदेश सभाले कानुन नबनाउँदासम्म प्रदेश सरकारलाई दिएकाले संघीय तहबाट कुनै सुझाब दिनुनपर्ने कारण रोकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूको सुविधा संघीय सरकारले तोक्दा विवाद हुने भएकाले गृहकार्य रोकिएको बताए ।

कसले नियुक्ति गर्छ प्रदेश प्रमुख ?

संविधानअनुसार प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्न सक्ने व्यवस्था छ । र, त्यस्तो व्यक्ति एकपटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन । संवैधानिक व्यवस्थाअनुसार कुनै प्रदेश प्रमुखको पद रिक्त भएमा अर्को नियुक्ति नभएसम्म राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई रिक्त प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्नेछ ।

शपथको कानुन छैन 

संविधानको धारा १७९ मा प्रदेश सभाका सदस्यको शपथसम्बन्धी व्यवस्था छ । प्रदेश सभाका सदस्यहरूले प्रदेश सभा वा त्यसको कुनै बैठकमा पहिलोपटक भाग लिनुअघि प्रदेश कानुनबमोजिम शपथ गर्ने व्यवस्था छ । तर, अहिलेसम्म संसद्ले प्रदेश कानुन भने बनाएको छैन ।

प्रदेश प्रमुखद्वारा अधिवेशन आह्वान 

संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्नेछ । र, प्रदेश प्रमुखले पहिलो अधिवेशनमा सम्बोधन गर्नुपर्नेछ ।

मुख्यमन्त्रीको शपथ प्रदेश प्रमुखबाट 

संविधानको धारा १७२ अनुसार मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुखसँग शपथ ग्रहण गर्नुपर्नेछ । त्यस अर्थमा प्रदेश सभा गठन हुनुभन्दा पहिला नै प्रदेश प्रमुख नियुक्त भइसक्नुपर्नेछ । तर, अहिलेसम्म प्रदेश प्रमुख नियुक्तिबारे राजनीतिक दल र सरकारले छलफल गरेको छैन ।

प्रदेश राजधानी बनाउन नेताहरू आ–आफ्नै लबिङमा
राजधानी तोक्ने विषयमा कांग्रेस नेता को कता ?

प्रदेश १ : विराटनगर र इटहरीको लबिङ

कांग्रेसमा डा. शेखर कोइराला, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, महेश आचार्य, गुरुराज घिमिरेसहितका नेता प्रदेश नम्बर १ को राजधानी विराटनगर हुनुपर्ने पक्षमा छन् । तर, मीनबहादुर विश्वकर्मासहितका नेता इटहरी हुनुपर्ने लबिङमा छन् ।

प्रदेश २ : वीरगन्जभन्दा जनकपुरका पक्षमा

विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव, महेन्द्र यादवसहितका नेता जनकपुरकै पक्षमा छन् । मिथिलाभाषी बाहुल्य र पहुँचवाला नेता भएकाले पनि उनीहरूले जनकपुरकै लागि बढी दबाब दिइरहेका छन् । बारा, पर्सा, रौतहटबाट प्रतिनिधित्व गर्ने नेताहरू भने वीरगन्जको पक्षमा छन् । फरमुल्लाह मन्सुर, रमेश रिजालसहितका नेताले वीरगन्जलाई राजधानी बनाउन लबिङ गरिरहेका छन् ।

प्रदेश ३  : काठमाडौं आसपास

प्रदेश नम्बर ३ बाट प्रतिनिधित्व गर्ने नेताहरूले काभे्रेको बनेपा वा धुलिखेललाई प्रदेशको राजधानी बनाउन लबिङ गरिरहेका छन् । ललितपुरका जिल्लास्तरका नेताले जिल्लामै राजधानी तोक्नुपर्ने माग गरेका छन् । काठमाडौंबाट प्रतिनिधित्व गर्ने नेताहरू चितवन, हेटौँडा, काभ्रेको धुलिखेल वा बनेपाको पक्षमा छन् । काठमाडौं नहुँदा धुलिखेलकै पक्षमा कांग्रेस नेताहरू छन् । चितवनलाई राजधानी बनाउँदा रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभे्रजस्ता जिल्लालाई अपायक पर्ने भएकाले कांग्रेसभित्र काभ्रेलाई बनाउन बढी जोड छ ।

प्रदेश ४  : प्रदेश नम्बर ४ को राजधानी कास्कीको पोखरालाई बनाउन कांग्रेसमा खासै मतभिन्नता छैन ।

प्रदेश ५ का नेताहरू विभाजित : प्रदेश नम्बर ५ मा दाङलाई राजधानी बनाउन खुमबहादुर खड्का, पार्वती डिसी चौधरी, किशोरसिंह राठौरहरूको लबिङ छ । तर, बालकृष्ण खाँण, चन्द्र भण्डारी र पुष्पा भुसालसहितका नेता बुटवलको पक्षमा छन् ।

प्रदेश ६ सुर्खेत कि जुम्ला ? : कांग्रेस नेताहरूबीच सुर्खेत वा जुम्लामध्ये एकलाई प्रदेश नम्बर ६ को केन्द्र बनाउने विषयमा छलफल चलेको छ । तर, ठूलो मतभिन्तता छैन । भूगोल र सुगमताका हिसाबमा पनि सुर्खेत उपयुक्त हुनेमा नेता पूर्णबहादुर खड्काको जोड छ । तर, कर्णालीलाई विकासको पथमा अघि बढाउन हुम्लाका नेता जीवनबहादुर शाहीसहितका कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरूको दबाब छ ।

प्रदेश–७ को दिपायल, धनगढी र डडेल्धुरा : प्रदेश ७ को राजधानीका लागि डोटीको दिपायल र कैलालीको धनगढी चर्चामा छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै गृहजिल्ला डडेल्धुरालाई बनाउन दबाब दिने सम्भावना पनि उत्तिकै छ । पहाडी जिल्ला जाने बाटो पर्ने भएकाले पनि डडेल्धुरालाई बनाउन देउवाको दबाब हुन सक्ने कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । पूर्वाधारको हिसाबले धनगढी नै उपयुक्त हुने बुझाइ छ ।

प्रदेशको विषयमा छलफल नै छैन 

संविधान जारीपछि कांग्रेसले १३औँ महाधिवेशन सम्पन्न गरे पनि अझै प्रादेशिक संरचनामा गएको छैन । प्रत्येक प्रदेशबाट दुई–दुईजनाका दरले केन्द्रीय सदस्य निर्वाचित भएका छन् । तर, कांग्रेस संस्थागत रूपमा छलफलमा नजुटेको केन्द्रीय सदस्य गुरुराज घिमिरे बताउँछन् । साथै, कांग्रेसले प्रदेशको राजधानी तोक्ने विषयमा पनि ‘होमवर्क’ नै गरेको छैन । पार्टीभित्र पनि अहिलेसम्म छलफल नभएको नेताहरूको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले प्रदेश राजधानीका विषयमा छलफल नै नभएको बताए । ‘यस विषयमा छलफल भएको छैन,’ उनले भने, ‘ऐन, नियममा जे छ त्यहीअनुसार होला ।’

एमालेका नेताहरू आफूअनुकूलको लबिङमा

प्रदेश – १ : शीर्ष नेता मौन, बाँकी आ–आफ्नै तालमा

प्रदेश नं. १ को राजधानी विराटनगर, इटहरी र धनकुटामा राख्ने चर्चा चले पनि अध्यक्ष केपी ओली, झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले अझै स्पष्ट धारणा सार्वजनिक गरिसकेका छैनन् । झापा एमालेका नेताहरू रविन कोइराला, हिक्मत कार्की, दीपक कार्की, मोरङका लालबाबु पण्डित, गुरु बराललगायत नेताहरू विराटनगर हुनुपर्ने पक्षमा छन् । सचिव भीम आचार्य, सांसद रेवतीरमण भण्डारीसहित सुनसरीका नेताहरू इटहरीका पक्षमा छन् ।

प्रदेश- २ : धेरै नेता जनकपुरको पक्षमा

प्रदेश नं. २ को राजधानीका विषयमा नेता माधवकुमार नेपालले धारणा प्रस्ट पारिसकेका छैनन् । यद्यपि, यो प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरू सत्यनारायण मण्डल, नागेन्द्र चौधरी, शत्रुधन महतो, रघुवीर महासेठलगायत अधिकांश सांस्कृतिक सहर जनकपुरलाई नै राजधानी बनाएर वीरगन्जलाई औद्योगिक नगरीका रूपमा विकास गर्नुपर्ने पक्षमा छन् ।

प्रदेश–३ : प्रदेश नम्बर ३ बाट प्रतिनिधित्व गर्ने एमाले नेताहरू यो प्रदेशको राजधानीका सन्दर्भमा खासै विभाजित छैनन् । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, पशुपति चौलागाईं, राजेन्द्र पाण्डे, काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, सानु श्रेष्ठलगायत काठमाडौं, ललितपुर या काभ्रेमध्ये एक ठाउँमा राजधानी बनाउनुपर्ने पक्षमा छन् । अधिकांशको जोड ललितपुर या काभ्रे हुनुपर्ने छ । काभ्रेबाटै प्रतिनिधित्व गर्ने एमाले नेताहरू भने बनेपालाई राजधानी बनाउनुपर्ने ‘लबिङ’ मा छन् ।

एमालेमा प्रदेश -४ को राजधानी पोखरा हुनुपर्नेमा एक मत छ । नेतामा विवाद छैन ।

प्रदेश–५ : प्रदेश ५ को राजधानी दाङ कि बुटवल बनाउने विषयमा एमाले नेताहरू विभाजित छन् । प्रदेशको प्रतिनिधित्व गर्ने उपाध्यक्ष वामदेव गौतमले यसबारे मुख खोलेका छैनन् । पुरानो लुम्बिनी अञ्चलका नेताहरू विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेलगायत बुटवलमा हुनुपर्ने पक्षमा छन् । उता, पुरानो राप्ती अञ्चलबाट प्रतिनिधित्व गर्ने नेताहरू युवराज ज्ञवाली, शंकर पोखरेल, प्रकाश ज्वालालगायत नेताहरू दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा छन् ।

प्रदेश ६ को राजधानी सुर्खेत र प्रदेश नम्बर ७ को राजधानी धनगढी हुनुपर्ने पक्षमा एमालेमा समान धारणा छ । प्रदेश ७ का केही नेताहरूले धनगढी आसपासको क्षेत्रलाई समेटेर राजधानी घोषणा गर्नुपर्ने बताएका छन् ।

राजधानी तोक्न माओवादी नेताको आ–आफ्नै लबिङ

प्रदेश नं. १ : इटहरी, विराटनगर र धनकुटा

प्रदेश नं. १ को राजधानी इटहरी, विराटनगर र धनकुटामध्ये एकलाई बनाउनुपर्ने पक्षमा माओवादी नेता छन् । सबै जिल्लालाई पायक पर्ने गरी राजधानी तोकिनुपर्ने र राजधानी बनाउँदा केन्द्रीकृत नभई विकेन्द्रीकृत हुनुपर्ने माओवादी नेता हेमराज भण्डारीले बताए । ‘विकेन्द्रीकृत हुँदा सहरीकरणसँगै अरू विकास निर्माण समान ढंगले हुन्छ,’ उनले भने ।

प्रदेश नं. २ : वीरगन्ज वा जनकपुर

प्रदेश नं. २ को स्थानीय निर्वाचनपछि वीरगन्ज वा जनकपुरमध्ये कुनलाई राजधानी बनाउने भन्ने विषयमा विवाद हुने देखिएको छ । माओवादी नेता मातृका यादव, रामचन्द्र झा, विश्वनाथ साह, रामकुमार शर्मा, भरत साह जनकपुर नै राजधानी हुनुपर्छ भन्ने लबिङमा छन् । तर, प्रभु साह, उर्मिला अर्याललगायत नेता वीरगन्जलाई राजधानी बनाउनुपर्ने पक्षमा छन् । नेता गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिबासलाई प्रदेश नं. २ को राजधानी हुनुपर्ने बताउँदै आएका छन् ।

प्रदेश नं. ३ : चितवन र काभ्रेको पाँचखाल

माओवादी केन्द्रमा प्रदेश नं. ३ को राजधानी चितवनलाई बनाउनुपर्ने पक्षमा बलियो मत छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहजिल्ला भएकाले चितवनलाई प्रदेश राजधानी बनाउन लबिङ गरिरहेका छन् । नेता रामबहादुर थापा बादल, अमिक शेरचनलगायत नेताले पनि प्रचण्डलाई साथ दिएका छन् । तर, माओवादी नेता लोकेन्द्र विष्टमगर भने काभे्रको पाँचखाललाई प्रदेश नं. ३ को राजधानी तोक्नुपर्ने पक्षमा छन् ।

प्रदेश नं. ५ : दाङ कि बुटवल

माओवादीमा प्रदेश नं. ५ को राजधानी दाङ वा बुटवल कुन हुने भन्ने विषयमा विवाद देखिएको छ । माओवादी नेता वर्षमान पुन, सभामुख ओनसरी घर्ती, कृष्णबहादुर महरा, कुलप्रसाद केसी, जयपुरी घर्ती राजधानी दाङ हुनुपर्ने पक्षमा छन् । तर, टोपबहादुर रायमाझी, डिलाराम आचार्यलगायत नेता बुटवल राजधानी हुनुपर्ने भन्दै लबिङमा लागेका छन् ।

प्रदेश नं. ६ : सुर्खेत कि जुम्ला

प्रदेश नं. ६ को राजधानी जुम्ला कि सुर्खेतलाई बनाउने भन्ने विषयमा माओवादीमा विवाद छ । माओवादी नेता जनार्दन शर्मा, टेकबहादुर बस्नेतलगायत नेता सुर्खेत र महेन्द्रबहादुर शाही, नरेश भण्डारीलगायत नेता जुम्ला राजधानी हुनुपर्ने पक्षमा छन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति