२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको दुःख, दाहालको सोखिन बाल्यकाल (नालीबेलीसहित)

२०७४, ८ फाल्गुन मंगलवार ०२:००

फागुन ८, काठमाडौं । कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच दशकभन्दा बढी फरक स्कुलिङ थियो। तर, सोमबार राजनीतिमा ‘आइसब्रेक’ गर्दै यी दुई नेताले एमाले र माओवादीलाई एउटै पार्टी बनाउँदै ‘शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण’ को संयुक्त नेतृत्व नै लिए।

ओली-दाहाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफूमा केन्द्रीकरण गर्न चाहने नेता हुन्। हुर्काइ, वर्ग धरातल र राजनीतिक पृष्ठभूमि नै फरक देखिएका यी दुई नेताको ‘चामत्कारिक’ मिलाप हुन्छ भन्ने ६ महिना अगाडिसम्म कसैले सोचेको थिएन।

आरोप-प्रत्यारोप र घोचपेचका कटु यथार्थ यी दुई नेताका सम्बन्ध थिए। ओली दाहाललाई ‘अस्थिर’ नेताको आरोप लगाउँथे भने दाहाल ओलीलाई पश्चगामी र ‘नक्कली राष्ट्रवादी’ भन्न पछि पर्दैनथे।

पहिलो भेट : भारतको सिलिगुडीमा

ओली-दाहालबीच ३० को दशकमै कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीति गरे पनि प्रत्यक्ष भेट हुन भने अर्को ३० वर्ष कुर्नुपरेको थियो। यी दुई नेताबीच २०५९ सालमा मात्रै प्रत्यक्ष भेट भई संवाद भएको थियो, त्यो पनि नेपालमा नभई भारतको सिलिगुडीमा।

नेपालका सबैजसो वाम पार्टीलाई संविधानसभाको एजेन्डामा सहमत गराउने उद्देश्यले माओवादीले त्यसबेला सिलिगुडीमा दुई दिनसम्म बृहत् कम्युनिस्टको वार्ता र संवाद चलाएको थियो। त्यहीबेला ओली-दाहालबीच सिलिगुडीमा प्रत्यक्ष भेट र संवाद भएको थियो।

त्यसबेला ओलीसँगको भेटका सन्दर्भमा एक मिडियासँग दाहालले ओलीले त्यसबेला आफूलाई व्यक्त गरेको भनाइ स्मरण गर्दै भनेका थिए, ‘तपाईं (दाहाल) अलि जन्ड-जन्ड खालको हुनुहोला भनेको त पूरै सामान्य किसिमको नेता हुनुहुँदो रहेछ।’

ओली माओवादीले चलाएको सशस्त्र संघर्षका कटु आलोचक थिए। त्यही भएर पनि एमालेकै वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललगायत नेतासँग संवाद भइरहँदासमेत ओलीसँग दाहालको संवाद भएन। 

जनयुद्धकालदेखि शान्ति प्रक्रियासम्म ओली र दाहालबीच खासै संवाद भएन। ओलीले माओवादीप्रति तिखो आलोचना गर्ने भएकै कारण दुई नेताले एक-अर्कासँगको संवादलाई महŒव पनि दिएनन्। यसो हुनुमा दुवै नेतामा एक-अर्काप्रतिको ‘फोबिया’ ले पनि काम गरेको मान्नेहरू अहिले पनि दुवै पार्टीभित्र छन्।

ओलीको दुःख, दाहालको सोखिन बाल्यकाल

ओली-दाहाल दुवैका पृष्ठभूमि, रहनसहन, स्वभाव फरक छन्। ओलीको बाल्यकाल दुःखैदुःखमा बितेको छ। अर्काको घरमा गोठालो बसेर उनले बाल्यकालको शिक्षा लिएका थिए। तर, दाहालले ओलीले बाल्यकालमा गरेजस्तो संघर्ष गर्नुपरेन।

सानै उमेरदेखि नै अत्यन्त सफाचट (आइरन लगाएर टलक्क टल्काएको लुगा) लगाएर हिँड्ने दाहालको सोख पहिलेदेखि नै थियो। उनलाई पढ्नका लागि दुःख गर्नुपरेन। कृषिमा बीएसस्सी गरेर एमपिएसम्म दाहालले अध्ययन गरेका छन् तर ओलीले उच्च शिक्षा पढेका छैनन्। उनले त्यसरी पढ्ने अवसर पनि पाएनन्। दाहाल चितवन, गोरखालगायत विभिन्न विद्यालयमा केही समय अध्यापनमा पनि सहभागी भएका थिए।

ओलीका छोरा-छोरी छैनन्। दाहालका एक छोरा र तीन छोरीमध्ये एक्ला छोरा प्रकाशको मंसिर ३ मा हृदयाघातका कारण ३६ वर्षको उमेरमा निधन भयो भने जेठी छोरी पनि केही वर्षअघि क्यान्सरका कारण बितिन्। अहिले दाहालका रेणु र गंगा दुई छोरी छन्। रेणु भरतपुर महानगरकी मेयर हुन्।

ओली दाहालभन्दा ३४ महिना जेठा

ओलीभन्दा दाहाल ३४ महिनाले कान्छा छन्। ओली २००८ फागुनमा झापामा जन्मिएका हुन्। दाहाल भने २०११ मंसिरमा कास्कीमा। दाहालभन्दा ओलीले उमेरमा मात्र होइन, कम्युनिस्ट पार्टीको सदस्यताप्राप्त गर्नेमा पनि पहिलो नै छन्। उनले २०२६ सालमा संगठित सदस्यता लिँदै माक्र्सवादी अध्ययन दलमा संगठित भएका थिए। 

दाहालले भने ओलीले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको दुई वर्षपछाडि मात्रै ०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

पार्टी सदस्यता लिनु अगाडिदेखि नै यी दुई नेताको वैचारिक-राजनीतिक स्कुलिङ फरक थियो। तर, दुवैको हतियारबद्ध संघर्षको नेतृत्व गरेरै आएको पृष्ठभूमि छ। २०२७ सालको झापा आन्दोलन (वर्ग शत्रु खत्तम अभियान) का नेतामध्येकै एक हुन् ओली। ओलीले ०२७ सालमै थालेको हतियारबद्ध संघर्षको नेतृत्व ०५२ सालमा पुगेर दाहालले लिएका थिए।

अन्तरमुखी ओली, बहिर्मुखी दाहाल

ओली अन्तरमुखी स्वभावका छन् तर दाहालमा त्यसको विपरीत बहिर्मुखी स्वभाव छ। अन्तरमुखी स्वभावकै कारण ओलीमा मनोगतवादी र एकलकाँटे प्रवृत्ति पनि रहेको एमालेकै नेताहरू टिप्पणी गर्छन्। 

दाहालसँग भने बहिर्मुखी स्वभाव भएका कारण विपक्षीसँग उनी सजिल्यै घुलमिल गर्न सक्छन्। त्यसैले पनि दाहालमाथि अस्थिर स्वभावका नेताको आरोप लागिरहन्छ। तर, उनी स्वयं भने आफूलाई द्वन्द्वात्मक भौतिकवादका अनुयायी भएका कारण प्रत्येक विषय निरन्तरतामा भन्दा क्रमभंगतामा बुझ्नुपर्ने र त्यसैअनुरूप हिँड्न सक्नुपर्ने तर्क गर्छन्।

ओली कडा अडानमा रहने नेताका रूपमा पछिल्ला दिनमा परिचित छन्। उनी बोलेपछि हत्तपत्त अडान छाड्न चाहँदैनन् तर दाहालचाहिँ बेला-मौका हेरेर बोलीमा लचकता पनि देखाउन खप्पिस छन्।

वाम विश्लेषक श्याम श्रेष्ठको भनाइमा ओली र दाहाल दुवै नेता डिसिजन लिने सवालमा असाध्यै ‘बोल्ड’ छन्। पार्टीमा पनि दुवैको आफ्नै पकड छ तर प्रचण्ड लचिलो र ओली कसिलो स्वभावका नेता भएको उनको बुझाइ छ। ‘पर्सानालिटीका हिसाबले दाहाल अलिक लचिलो बन्न सक्छन् तर ओली रिजिक्ट छन्,’ दुई नेताको चरित्र चित्रण गर्दै उनी भन्छन्।

त्यसो त यी दुवै नेता एकअर्कालाई अझै पनि आशंकाले हेर्छन्। दुवै एकअर्कालाई चतुर राजनीतिक खेलाडी ठान्छन्। जसकारण एकअर्काको बडी ल्याङवेजलाई पनि अर्थपूर्ण ढंगले हेर्छन्।

दुवै नेताले लिने बोल्ड डिसिजनमा पार्टीभित्र कसैले पनि खुलेर औंला उठाउने हिम्मत गर्दैनन्। दुवै नेता सिद्धान्तभन्दा शक्तिमा विश्वास गर्ने स्वभावका भएका कारण पाँच महिनायता पार्टी एकता वार्ता अप-डाउन हुँदै निष्कर्षमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने