वैशाख १४, काठमाडौँ | साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्याएर यातना दिइरहेका थिए । उनलाई पिछा गर्दै मोरङको पोखरिया पुगेको प्रहरी टोलीले ‘रणनीतिक’ रूपमा फोनमा गरेको सम्झौताअनुसार गोरे मध्यरातमा मोरङको पोखरिया आउन तयार भएका थिए ।
सम्झौताअनुसार पर्खिरहेको प्रहरी टोलीका अगाडि आएर स्कर्पिओ गाडी रोकियो । तर, गोरे आएनन्, बरु गाडीमा उनका सहयोगी सनमको शव आयो । गोरेले करेन्टसहित दिएको यातना सहन नसकेर सनमको मृत्यु भइसकेको थियो ।
सो गाडीका चालक काभ्रेका टेकराज मल्ल मात्र होइन, उनको सहयोगमा पक्राउ परेका मोरङ उर्लाबारीका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेसँग प्रहरीले बयान लियो । सुन लुकाएको आरोपमा उनीहरू पनि सनमसँगै बन्धक बनाइएका थिए । स्रोतबाट प्राप्त बयानको समग्र विवरणः
गत ७ माघमा दुबईबाट आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । यसरी सुन ल्याउने प्रक्रिया गोरेका लागि सामान्य थियो । अवैध सुन भरियामार्फत भारत पुर्याउने गरिन्थ्यो ।
त्यो दिन आएको साढे ३३ किलो सुन विमानस्थलबाट सहरसम्म ल्याउने जिम्मा थाई एयरवेजका कर्मचारी पुण्यप्रसाद लामा, लालबहादुर मगर र सानु बनको थियो । उनीहरूले मोटरसाइकलको तेल ट्यांकीमा राखेर पटक–पटक खेप गरेर अनामनगरस्थित एउटा घरमा पुर्याए ।
अब ट्यांकीबाट निकालेर सबै सुन झोलामा राखी किराना पसलजस्तो स्थानमा पर्खिएका भरियालाई दिनुपर्ने थियो । तर, पसलमा लग्न सानु बनले बोकेको सुन एकाएक गायब भयो । र, त्यहीँबाट सुरु भयो यत्रो सुनको महाभारत ।
सुन बुझ्नुपर्ने सनम शाक्य भने ठमेलतिर होटलमा मस्तीमा थिए । सुन आउँछ भनेको ठाउँमा नपुगेपछि गोरेले सनमलाई फोन गरेर कहाँ छस् भने । सनमले उर्लाबारीमा छु भनेर ढाँटे । तर, पछि कुरो बुझ्दा सनम काठमाडौंमै भएको खुल्यो ।
त्यसपछि सनम गोरेको शंकामा परे । तर, सनमले भने सानु बनलाई शंका गरे । यता, गोरेले सानुलाई सिन्धुलीको खनियाखर्कमा ल्याएर सुन कसले लग्यो भन्दै केरकार गरे । भुजुङ गुरुङले सुन गायब बनाएको जवाफ सानुले गोरेलाई दिए । गोरे बुझ्न लागे । तर, भुजङले गायब पारेको पुष्टि भएन । अन्ततः सानुले नै गायब पारेको निष्कर्षमा गोरे पुगे ।
- नयाँ पत्रिकाबाट