भदौ २५, कंचनपुर | १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय एक महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् ।
उनका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । उनी सन्दिपले करिब ४ देखि साढे ४ बजेतिर घटनास्थल नजिकैको नहरमा साइकल देखे ।
धना भण्डारीले नहरमा हेर्दा साइकल पानीमा डुबेको अवस्थामा थियो, त्यसैले रङ त थाहा भएन । एकापट्टिको हेन्डिलको कालो भाग र आधा डुबेको सिटको कालो भागसम्म उनले देखेकी थिइन् । उनका अनुसार कसैले थोत्रो भएर फालेको होला भनेर वास्ता धनाले साइकलको वास्ता गरिनन् ।
भोलिपल्ट निर्मला हराएको खबर सुनेर उनीहरू त्यस स्थानमा पुग्दा एकजना पाका उमेरका मानिसले साइकल बाहिर निकालेर पुछ्दै थिए । उनि साधुराम चौधरी थिए, जो एक स्थानीयको घरमा कामदार हुन् । चौधरीका अनुसार उनले पहिलोपल्ट साइकल देख्दा पछाडिको पांग्रा माथिपट्टि उठेको थियो । चौधरीले साइकल तानेर बाहिर ल्याएँका थिए । साइकलको एउटा ह्यान्डलमा एउटा चप्पल थियो ।
यस घटनामा तत्कालीन एसपी डिल्लीराज विष्टको भूमिकालाई लिएर पीडित परिवार र स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् । तर, प्रहरीले छानबिनका क्रममा पहिले पनि यस्ता विषयलाई उठान गरेन साथै अहिले छानबीनमा रहेको नयाँ छानबिन टोलीले पनि विष्ट, घटनास्थल पुग्ने र अनुसन्धानमा संलग्न प्रहरी अधिकृत तथा कर्मचारीमाथि उचित छानबिन गरेको देखिँदैन । निर्मलाको सुरुवाल पखालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पीडित परिवार र स्थानीयको आक्रोश चुलियो ।
तर, सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी सावदले मानिसको भिड बढ्दै गएपछि आफूले सुरुवालले निर्मलाको यौनांग छोपिदिएको बताइन् । ‘कसैले अह्राएको होइन । तर, मानिसहरूको भिड बढ्दै गएपछि मैले सुरुवालले निर्मलाको गुतांग छोपिदिएकी हुँ । मलाई त्यसवेला केही हेक्कै भएन, सुरुवाल पखालेको पनि पछि भिडियो हेरेर थाहा पाएँ । मलाई कसैले त्यसो नगर भनेर पनि रोकेन ।’
राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नेदेखि प्रभावकारी अनुसन्धान गर्नेलगायत कार्यमा सुरुदेखि नै गम्भीर त्रुटि गरेको औँल्याएको छ ।
- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।