माघ ७, स्पेन–स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई सरकारले फिर्ता बोलाए पनि उनी सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बसिरहेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
मन्त्रिपरिषद्ले गत पुस ९ गते ३ हप्ताको समय तोकेर उनलाई नेपाल फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावासलाई पत्राचार गरेकोमा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गरेका हुन् । परराष्ट्रले तोकेको समयसीमाअनुसार उनी माघ २ गतेभित्र स्वदेश फर्किसक्नुपर्ने थियो ।
स्वदेश फर्कन केही समय थप गर्न आग्रह गर्दै रायमाझीले परराष्ट्रलाई पत्राचार गरे पनि उनको माग अस्वीकार गर्दै तोकिएकै मितिमा फर्कन निर्देशन दिइएको स्रोतले बताएको छ ।
पदमुक्त भए पनि उनी म्याड्रिडको राजदूत निवासमा राजदूतको सुविधा लिएर बसिरहेको पनि समाचारमा उल्लेख छ ।