भारतले रुसबाट कच्चा तेल किने युद्धमा रुसको नेतृत्वलाई सहयोग गरेसरह हुनेछ- अमेरिका

Posted on: 16 Mar, 2022

चैत २, काठमाडौँ । भारतले रुसबाट छुटसहित सस्तो मूल्यमा कच्चा तेल किन्ने योजना बनाएपछि अमेरिकाले भारतलाई त्यसो नगर्न आग्रह गरेको छ । रुसबाट तेल किनेमा युक्रेन युद्ध चलिरहेको बेलामा मस्कोको नेतृत्वलाई सहयोग गरेसरह हुने अमेरिकाको भनाइ छ । 

एक भारतीय अधिकारीले रुसको तेल सस्तोमा किन्न पाए आफू खुशी हुने बताएपछि अमेरिकाको टिप्पणी आएको हो । यस विषयमा ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीलाई सोध्दा उनले युक्रेनमाथि रुसको आक्रमण भइरहेको बेलामा रुससँग कारोबार गर्दा इतिहासले के भन्छ भनी मुलुकहरूले सोच्नुपर्ने बताइन् । तर भारतले रुससँग तेल किन्दा पश्चिमको आर्थिक प्रतिबन्ध भारतमाथि नलाग्ने उनले स्पष्ट पारिन् । 

उनले भनिन्, ‘रुसमाथिको आर्थिक प्रतिबन्धलाई पालन गर्न हामी सबै मुलुकलाई आग्रह गर्छौं । भारतले रुससँग तेल किन्दा प्रतिबन्ध उल्लंघन गरेको त मानिँदैन । तर यस्तो बेलामा कसको पक्षमा उभिएको भनी इतिहासको पुस्तकमा लेखिने कुरामा विचार गर्नुहोस् । रुसले युक्रेनमाथि गरेको आक्रमणको विनाशकारी असर परिरहेको छ । यस्तो बेलामा रुसी नेतृत्वलाई समर्थन गर्नु भनेको आक्रमणलाई समर्थन गर्नु हो ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!