नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा छैन, अतिरञ्जनाको पछि नलागौ :- डा. वाग्ले

Posted on: 04 May, 2022

वैशाख २१, काठमाडौँ | अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज बुधवार गरेको कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टिँदैछ भनेर अतिरञ्जना फैलाउन खोजिएको तर हल्ला गरेजस्तो यथार्थ नरहेको बताउनुभएको हो । 

श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट शासकीय अहङ्कार र उन्मादका कारण सृजना भएको बताउँदै डा. वाग्लेले चुनाव जित्ने र जितिसकेपछि लोकप्रियताका लागि अध्ययनविना नै कर छुट, प्रतिफलको मूल्याङ्कन नै नगरि विदेशी ऋण लिएर पूर्वाधार निर्माणलगायतका गलत नीतिका कारण देश नै टाट पल्टिने अवस्थामा पुगेको बताउनुभयो ।

नेपालले भने तिर्न नसक्ने गरी ऋण नलिएको र पुर्न नसक्ने गरी शोधनान्तर घाटाको अवस्थामा पनि नरहेकाले आत्तिनुनपर्ने तर अहिलेदेखि नै गलत दिशामा गइरहेका सूचकलाई सही बाटोमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । 

श्रीलङ्कामा जस्तै नेपालमा पनि अध्ययन नगरि आर्थिक नीति बनाउने, देश हाक्नेहरूलाई सल्लाहकारले सही सूचना नदिने, ठूला भ्रष्टाचारलगायतका केही विषय मिल्ने भएकाले सचेत हुनैपर्ने वाग्लेको भनाइ छ । सामाजिक सुरक्षा भत्ता, अनुदान, राहत लगायतमार्फत राज्यको पैसा हचुवाका भरमा वितरण भइरहेको भन्दै उहाँले पर्याप्त अध्ययन गरेर मात्रै सरकारले पैसा खर्च गर्नुपर्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!