संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था नाजुक बन्दै गएको जनाए

Posted on: 06 May, 2022

वैशाख २३, काठमाडौँ | एजेन्सी | संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ ।उत्तरी इथियोपियाली क्षेत्र टिगरेमा आवश्यक खाद्यान्नसमेत नरहेको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

पछिल्ला केही समयमा सो क्षेत्रमा सहयाता पुगेको भए पनि त्यो पर्याप्त नरहेको र नागरिकले खाना खान पनि नपाउने अवस्थामा पुगेका संयुक्त राष्ट्रसंघीय सो निकायले जनाएको छ । टिगरेमा लामो समयदेखि द्धन्द्ध जारी रहेको छ । यही द्धन्द्धका कारण यहाँका नागरिकमा ठूलो समस्या उत्पन्न भएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकाय, ओचाले बुधबार इथियोपियाको उत्तरी क्षेत्र टिगरेको अवस्था दिन प्रतिदिन बिग्रँदै गएकाले आवश्यक सहयोगका लागि विश्व समुदायको ध्यानाकर्षण गराएको हो ।

सो एजेन्सीले सो क्षेत्रमा पछिल्लो समयमा १६९ ट्रकमा ४ हजार ३०० मेट्रिक टन खाद्यान्न ल्याइएको भन्दै सो खाद्यान्न अपुग भएको बताएको हो । अहिले पनि सो क्षेत्रमा मात्र १० लाख भन्दा बढी नागरिकले सहयताको खाँचो रहेको बताएका छन् । उनीहरुलाई आधारभूत स्वास्थ्य उपचारदेखि खाद्यान्नकै खाँचो रहेको छ ।

तर पनि दिनमा बढीमा आठ हजार जनालाई मात्र सहयोग दिन सकिएको सो निकायले जनाएको छ । टिगरेमा यहाँका द्धन्द्धग्रस्त समूहहरुले संयुक्त राष्ट्रसंघीय समन्वयमा मानवीय सहायता वितरण गर्ने काममा पनि अवरोध उत्पन्न गरिरहेका बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!