दुबईको राजपरिवार सदस्यकी पूर्वपत्नीले किन गरिन् संयुक्त राष्ट्रसङ्घसँग हारगुहार?

Posted on: 13 Oct, 2022

असोज २७, काठमाडौं | दुबईको राजपरिवारका एकजना सदस्यकी पूर्वपत्नीका वकिलहरूले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्‍मा एउटा निवेदन दिएका छन्।

उनीहरूले परिषद्‌का अधिकारीहरूले जेनाब जाभद्‍लु र उनका छोरीहरूको सुरक्षाको प्रत्याभूतिका लागि युएईका अधिकारीलाई हस्तक्षेप गरुन् भन्ने चाहेका छन्।

उक्त निवेदनमा जभद्लुले शेख सईद बिन मकतुम बिन रसिद अल मकतुमको कडा हिरासतमा दुर्व्यवहार, उत्पीडन र धम्कीको सामना गरिरहेको दाबी गरिएको छ।

उनी यूएईको राजपरिवारका सदस्य शेख सईदकी पत्नी हुन्।


शेख सईदका वकिलहरूले जभद्लु अयोग्य आमा भएको तर्क गरेका छन्, त्यसलाई उनले अस्वीकार गरेकी छन्।

यो दुबईका राजपरिवार भित्रको दरारलाई प्रकट गर्ने पछिल्लो घटना हो।

जेनाबले के भनिन्?

"कृपया मलाई मद्दत गर्नुहोस्,"  विशेष रूपमा प्राप्त गरेको भिडिओमा जाभद्लुले भनेकी छन्।

"मेरा बच्चा र म हाम्रो जीवनको सुरक्षाका लागि डराएका र भयभीत भएका छौँ।"

"हामी वास्तवमै घरबारविहीन भएका छौँ र दुबईको एउटा होटलमा फसेका छौँ, म पक्राउ पर्नसक्छु र मेरा छोरीहरूलाई मबाट खोसिन सक्छ भन्ने डरले हामी यो स्थान छोड्न असमर्थ छौँ।"

अजरबैजानकी ३१ वर्षीय पूर्व अन्तर्राष्ट्रिय जिमन्यास्टिक खेलाडी दुबईबाट बोल्दै थिइन्।

उनले २०१९ को अन्त्यतिर शेख सईदसँग सम्बन्धविच्छेद गरेकी थिइन् र त्यसबेलादेखि उनी दुबईमै रहेकी छिन्।

उनी देश छोड्दा आफ्ना तीन छोरीसँग फेरि कहिल्यै भेट हुँदैन भन्ने चिन्तामाझ त्यहाँ बसिरहेकी छन्।

उनी आफ्ना पतिसँगको झगडाका कारण करिब तीन वर्षदेखि हिरासतमा बन्द छिन्।

शेख सईदसँग विवाह

यी जोडीले सन् २०१५ मा विवाह गरेका थिए र उनीहरू दुबईमै बसोबास गर्थे।

शेख सईद राजपरिवारका सदस्य हुन्। उनी दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुमका भतिजा हुन्।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्‌मा हस्तक्षेपका लागि गरिएको अपिलमा उनका युकेमा रहेका वकिलहरूले उनको हिँडडुल गर्ने र अभिव्यक्ति स्वतन्त्रता दुवै प्रतिबन्धित गरिएको दाबी गरेका छन्।

त्यस्तै उनलाई धम्की दिने रणनीति पनि प्रयोग गरिएको छ।

उक्त अपिलमा जाभद्लु, उनका छोरीहरू र उनका आमाबाबुलाई दुई वर्षअघि दुबई प्रहरीले आक्रमण र कुटपिट गरेको आरोप लगाइएको छ।

जाभद्लुले उक्त घटनाको भिडिओ लाइभ गरेकी थिइन्। त्यसले विश्वव्यापी ध्यानाकर्षण गरेको थियो।

उक्त घटनापछि उनका आमाबुवा अजरबैजान फर्किएका थिए।

यातनाको दाबी

विगत तीन वर्षदेखि आफ्नो घरमा प्रहरीको छापा, अदालतले बोलाएका पत्र र पक्राउपुर्जी आफ्नो जीवनको दिनचर्या भएको उनी बताउँछिन्।

पचास पृष्ठको उक्त कागजमा उनको मुद्दालाई निष्पक्ष रूपमा सम्बोधन नगरिएको र आवश्यक प्रक्रिया पूरा नगरी पक्राउ गरिएको आरोप पनि लगाइएको छ।

उक्त अपिलमा दाबी गरिएको छ- जाभद्लीले "स्पष्ट रूपमा अनुचित, भेदभावपूर्ण र पक्षपातपूर्ण न्यायिक प्रक्रिया"को सामना गर्नुपरेको छ।

त्यसमा उनको पक्षमा एउटा मात्र अदालतको निर्णय जारी भएको तर त्यसलाई पनि केही दिनभित्रै कुनै पनि प्रक्रिया पालन नगरी फिर्ता लिइएको पनि दाबी गरिएको छ।

शेख सईदका लागि काम गर्ने वकिलहरूले चाहिँ दुबईको एउटा अदालतमा जाभद्लु अयोग्य आमा भएको आरोप लगाएका छन्।

उनीहरूका दाबीमा उनले आफ्ना छोरीहरूलाई स्कूल पठाउन असफल भइन्।

त्यस्तै उनी बालबालिकाका लागि अनुपयुक्त ठाउँमा बसोसबास गरिरहेकी र त्यसले कान्छी छोरीको स्वास्थ्यलाई जोखिममा पारेको पनि ती वकिलहरूको दाबी छ।

जभद्लीले चाहिँ ती आरोपहरूलाई अस्वीकार गर्दै अदालतमा त्यस विपरीतका प्रमाणहरू पेस गरेकी छन्।

हाल उनी दुबईका अधिकारीहरूसँग एक छोरीहरूलाई विद्यालय पठाउनेसम्बन्धी विवादमा परेकी छन्।

उनी आफ्ना छोरीहरू होटलबाट बाहिर निस्किएर विद्यालय गएमा कहिल्यै नफर्केलान् भनी पठाउन चाहन्नन्।

विद्यालयले चाहिँ उनलाई उक्त अवस्थाबारे छलफल गर्न एउटा बैठकमा सहभागी हुन आग्रह गरेको छ।

उनी र उनका वकिलहरूलाई शेख सईदलाई छोरीहरू दिने अदालतको आदेश जुनसुकै बेला कार्यान्वयन हुनसक्ने लाग्छ। तर उनीहरूले उक्त फैसलाविरुद्ध अर्को अपिल गरेका छन्।

पुराना घटनासँग मिल्दोजुल्दो

दुबईको कानुनी प्रणालीबारे अनुभव भएको एउटा अर्को स्रोतले बीबीसीलाई बताए अनुसार जाभद्लुले वर्णन गरेको कुरा शाही परिवारका पूर्व पत्नीहरूले पहिले पनि बताएका त्यस्तै घटनाहरूसँग मेल खान्छ।

दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतुमकी पूर्व पत्नी राजकुमारी हाया बिन्त अल हुसेन सन् २०१९ मा यूएईबाट भागेकी थिइन्।

उनले पनि आफ्नो ज्यानको खतरा भएको भन्दै त्यस्तो गरेकी थिइन्।

यसै वर्षको सुरुमा उनले यूकेको उच्च अदालतबाट आफ्ना दुई बच्चाहरू आफूले पाउने मुद्दा जितिन्।

त्यो शेख मोहम्मदकी छोरी राजकुमारी लतिफाको असाधारण कदमलाई पछ्याउँदै चालिएको कुरा थियो।

उनले सन् २०१८ मा स्वतन्त्रताको लागि साहसी कदम चालेकी थिइन्।

लतिफाले आफ्नो परिवारले आफूलाई जबरजस्ती नियन्त्रण गरेको दाबी गरेकी थिइन्।

उनी दुबई छाडेर भाग्न लागेकी थिइन् तर उनी भाग्न प्रयोग भएको डुङ्गालाई हिन्द महासागरमा रोकेर जबरजस्ती दुबई फर्काइएको थियो।

त्यसपछि आफूलाई बन्दी बनाएर राखिएको दाबी गर्दै उनले एउटा गोप्य भिडिओ जारी गरेकी थिइन्।

त्यसपछि उनी केही हदसम्म मात्र सार्वजनिक रूपमा देखा परेकी थिइन्।

उनले आफू ठिक भएको र आफूले चाहेजस्तै जीवन बाँच्ने बताएकी थिइन्।

अहिलेको सन्दर्भमा जेनाब जाभद्लुले आफ्नो मुद्दामा संयुक्त राष्ट्रसङ्घको हस्तक्षेप खोजेकी छन्।

"हामी हाम्रो घरमा बन्धक छौँ," बीबीसीले प्राप्त गरेको भिडिओमा उनले भनेकी छन्।

उनको पक्षमा काम गर्ने वकिलमध्ये एक रोड्नी डिक्सन केसी भन्छन्, "धेरै ढिलो भएको छैन... यो अवस्थालाई थप बिग्रन दिनु हुँदैन- यो अब सबै पक्षको हितमा अन्त्य गर्न सकिन्छ।"

यस बिषयमा तपाइको प्रतिक्रिया...!