विश्वलाई चीन चाहिन्छ : सी जिनपिङ

Posted on: 23 Oct, 2022

कात्तिक ६, काठमाडौँ | चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो पटक चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व दिइएको छ। राष्ट्रपति जिनपिङले तेस्रो कार्यकालको घोषणासँगै आफ्नो नयाँ नेतृत्वको परिचय पनि दिएका छन्। सी जिनपिङले विश्वलाई चीनको आवश्यकता रहेको बताए।

उनले भने, ‘बाँकी विश्वबिना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ। ४० वर्षको अथक परिश्रम र सुधारपछि हामीले द्रुत आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरता ल्याउन सफल भएका छौं।'

पार्टीको नेतामा निर्वाचित भएपछि सी जिनपिङले आफ्नो सम्बोधनमा भने, 'ममाथि विश्वास गरेकोमा सबैलाई धन्यवाद।'

उनले मुलुकले अहिलेसम्म धेरै उपलब्धि हासिल गरेको र अब चीनलाई हरेक हिसाबले आधुनिक समाजवादी राष्ट्र बनाउनेतर्फ अघि बढ्ने बताए।

सी जिनपिङले लगातार तेस्रो पटक कम्युनिष्ट पार्टीको नेतृत्व पाएपछि राजधानी बेइजिङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा कुल २४ सदस्य छन्। सो समुहमा कुनै पनि महिला भने छैनन्।  

कम्युनिष्ट पार्टीको बैठकमा सी जिनपिङ केन्द्रीय सैन्य आयोगको अध्यक्ष रहने पनि घोषणा गरिएको थियो। अर्थात् उनी चीनको जनमुक्ति सेनाको कमाण्डर रहनेछन्।

उनले आगामी वर्षको सुरुमा हुने राष्ट्रपतीय निर्वाचनमा पनि आफ्नो पद कायम राख्ने लगभग निश्चित छ। बीबीसी

यस बिषयमा तपाइको प्रतिक्रिया...!