कात्तिक १३ , धनुषा । हामीले दिनदिनै भोग्ने र देख्ने यस्ता थुप्रै कुराहरु हुन्छन् जसलाई हामीले देख्न त देख्छौँ तर त्यसको कारणबारे चासो राख्दैनौ । यसैमध्ये एक दुध उम्लिएर पोखिनु पनि हो । जबकी पानी यस्तो हुँदैन । भान्सामा काम गरिरहेका बेला तपाईंले पनि धेरै पटक यसको अनुभव गर्नुभएको होला ।
दुध उम्लिएपछि किन पोखिन्छ भनेर कहिले सोच्नुभएको छ ? वास्तवमा यसको पछाडि एउटा वैज्ञानिक कारण छ । आज यसबारे जानकारी लिऔँ ।
वास्तवमा दुधमा फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र विभिन्न खालका खनिज हुन्छन् । मुख्यतया दुधमा बोसोका अणुहरु हुन्छन् र प्रोटिनको रुपमा केसिनको अणु पाइन्छन् । दुधमा ८७ प्रतिशत पानी, ४ प्रतिशत प्रोटिन, ५ प्रतिशत ल्याक्टोज (दुधमा चिनीको रुप) हुन्छ । दुधमा पानीको मात्रा बढी हुन्छ र जब यो तात्छ, बाफमा फेरिन्छ । त्यसैले फ्याट, प्रोटिन, कार्बोहाईड्रेट। भिटामिन र विभिन्न खालका खनिज गाढा हुन सुरु हुन्छन् ।
दुध उम्लिएर पोखिनुको कारण यस्तो
यहाँ याद गर्नुपर्ने कुरा के छ भने दुधमा पाइने फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन र खनिज हल्का हुन्छन् जसका कारण तातो हुने बित्तिकै दुध माथि तैरन थाल्छन् । अब तल बचेको मिश्रणमा पानीको संख्या बढी हुन्छ, जुन तात्तिएपछि बाफ बनिरहेको हुन्छ तर माथि फ्याट, प्रोटिनसमेत अन्य चिजको पत्रले बाफलाई निस्कन दिइरहेको हुँदैन । तर प्रबल त्यो नै हुन्छ जोसँग मात्रा धेरै छ । अर्थात्, पानीको बढी प्रतिशत भएका कारण पानीले माथिल्लो पत्रलाई आफ्नो बाटोबाट हटाएर बाफलाई बाहिर निकाल्छ । यो प्रक्रियामा माथिल्लो पत्र भाँडो बाहिर निस्कने गर्छ र बाँकी भएको दुध भाँडोमा नै उम्लिरहन्छ ।
पानी उम्लिएपछि किन पोखिँदैन ?
अब प्रश्न यो उठ्छ कि पानी उम्लिएर किन पोखिँदैन । यसको जवाफ यो हो कि पानीमा कुनै पनि खालको फ्याट, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन हुँदैन जसले उसको माथि पत्र बनाउन सकोस् । माथिल्लो पत्र बन्ने नभएकोले बाफलाई बाहिर निस्कने बाटो चाहिँदैन । उम्लिएको पानीमा बाफ निस्कनका लागि बाधा हुँदैन त्यसैले यो भाँडोमा नै उम्लिरहन्छ ।टाइम्स अफ इन्डिया