३३ हजार फिट माथिबाट खसिन् युवती, तर पनि बाँचिन् : अचम्मित पारिदिने घटना

Posted on: 04 Nov, 2022

कात्तिक १८, काठमाडौं | तपाईंले थुप्रै विमान दुर्घटनाबारे सुन्नुभएको होला । तर ३३ हजार फिटको उचाइमा गएर विमान दुर्घटना भयो भने के होला ? त्यसमा सवार सबैको मृत्यु हुनु निश्चित छ । तर आज हामी तपाईंलाई यस्ती एयरहोस्टेसको कहानीबारे जानकारी दिँदै छौँ जो ३३,००० फिटबाट खसेर पनि बाँचिन् । यो कहानीमा विश्वास गर्न मुश्किल छ तर यो पूर्ण रुपमा साँचो हो । आउनुहोस्, यो वास्तविक घटनालाई विस्तारले पढौँ ।

तारिख २६ जनवरी १९७२... एक विमानले स्विडेनको स्टकहोमबाट सर्बियाको बेलग्रेडका लागि उडान भर्यो । उक्त विमानको नाम थियो जेट फ्लाइट २६७ । यसमा कूल २८ जना सवार थिए । सबैकुरा ठिक चलिरहेको थियो । विमान करिब ३३ हजार फिटको उचाईमा थियो ।


लगेज अपार्टमेन्टमा भयो भयानक बिस्फोट

एक एयरहोस्टेस खानाको सामानको ट्रली लिएर यात्रुतर्फ गइरहेकी थिइन् । त्यति नै बेला लगेज अपार्टमेन्टमा जोडदार बिस्फोट भयो । बिस्फोट यति तेज थियो कि हावामा नै विमान तीन टुक्रा भयो । अब विमानमा आगो लाग्यो र विमान तीब्र गतिमा भग्नावशेषमा परिवर्तन भयो । विमानको तीन टुक्रा जमिनमा खस्यो । जुन ठाउँमा बिमान खस्यो, त्यहाँ मोटो बरफ जमेको थियो । त्यहाँ विमानका टुक्रा खस्दा ती जलिरहेका थिए ।

ब्रूनो होंकेले युवतीलाई भग्नावशेषबाट बाहिर निकाले?

‘द स्टेस्टम्यान’ को खबर अनुसार चेकोस्लोवाकियाको श्रीबस्का मामेनिसमा यो विमान खसेको थियो । त्यतिबेला एक स्थानीय ब्रुनो होंके त्यहाँ पुगेका थिए । उनको नजर एउटा स्थानमा पर्यो जहाँ एक युवती मद्दतका लागि गुहार गरिरहेकी थिइन् । युवती नराम्रोसँग भग्नावशेषमा फसेकी थिइन् । ब्रुनो दोस्रो विश्वयुद्धको मेडिकल टिममा सहभागी थिए । त्यसैले उनले तुरुन्त ती युवतीलाई निकै सावधानीपूर्वक भग्नावशेषबाट निकाले । उनको खुट्टाको हड्डी भाँच्चिइसकेको थियो र शरीरमा घाउका थुप्रै निशान थिए ।

१० दिनपछि आयो युवतीको होश

ब्रुनोले युवतीलाई तुरुन्त अस्पताल लगे । त्यतिबेलासम्म उनी कोमामा गइसकेकी थिइन् । १० दिनपछि उनलाई होस आयो । उनले आफ्नो नाम वेस्ना वलोविक बताइन् । यो विमान दुर्घटनामा बाँचेकी उनी एकमात्र युवती थिइन् । जो ३३ हजार फिट माथिबाट प्यारासुट बिना नै खसेकी थिइन् र पनि उनी बाँच्न सफल भइन् । यो खबर विश्वभरीका लागि कुनै चमत्कारभन्दा कम थिएन । यो कुरालाई धेरैले विश्वास गरिरहेका थिएनन् । वेस्ना वलोविक आफैँलाई पनि यसमा विश्वास लागिरहेको थिएन । तर यो दुर्घटनामा उनको कम्मरभन्दा मुनीको पूरा भागमा प्यारालाइसिस भइसकेको थियो । उनी हिँड्न सक्दैनथिन् ।


अनुसन्धानमा सार्वजनिक भए धेरै कुरा

आखिर उनी बाँच्न कसरी सफल भइन् त ? यसबारे धेरैलाई चासो थियो । त्यसैले यसबारे अनुसन्धान भयो । वेस्नाको कम रक्तचापले नै यत्रो दुर्घटनामा उनी बाँच्न सफल भएको पत्ता लाग्यो । विशेषज्ञका अनुसार हज्जारौँ फिटको उचाईमा हुँदा यस्तो दुर्घटना भए रक्तचाप निकै बढ्ने गर्छ । त्यसपछि अक्सिजनको कमीले मुटु फुट्ने गर्छ । उक्त विमानमा अन्य यात्रीमाथि यस्तै भयो । तर वेस्नाको रक्तचाप कम हुन्थ्यो । यस्तोमा यदि उनको रक्तचाप बढेछ भने पनि अन्य मानिसको तुलनामा कमै बढ्यो होला । त्यसैले उनी बाँच्न सफल भइन् ।

रक्तचाप कम हुँदा पनि कसरी पाइन् एयरलाइन्समा काम ?

रोचक कुरा त के छ भने रक्तचाप कम हुनेहरुलाई एयरलाइन्समा काम दिइँदैन । तर वेस्नाका अनुसार जागिरका लागि उनको मेडिकल हुँदा उनले अत्यधिक कफी पिएकी थिइन् जसका कारण उनको रक्तचाप नियन्त्रणमा आएको थियो । त्यसपछि उनी मेडिकल टेस्टमा पास भइन् र उनले जागिर पाइन् ।


ट्रली र विमानको टुक्राबीच फसेकी वेस्ना

यस्तै, वेस्ना बाँच्नुको दोस्रो कारण ट्रली थियो । दुर्घटना हुँदा उनले ट्रली लिएर आएकी थिइन्, त्यतिबेला उनको विमान दुर्घटना भयो र तीन टुक्रा भएर भाँच्चियो । ट्रली विमानको एक हिस्सासँग ठोक्किएर फस्यो । यसैकारण उनी दुबैतिरबाट ढाकिइन् । तेस्रो कारण विमान दुर्घटना भएपछि मोटो बरफमा गएर खस्यो । त्यसैले क्रिया–प्रतिक्रियाजस्तो रियाक्सन भएन ।

यो घटनामा अर्को एउटा अचम्मित पारिदिने घटना सार्वजनिक भयो । फ्लाइटमा वेस्ना वुलोविकको नभई वेस्ना नामकी अन्य एयरहोस्टेसको ड्युटी थियो । तर नाम समान भएका कारण वेस्ना वुलोविक यो विमानमा ड्युटी गर्न आइन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता

करिब १० महिनाको उपचारपछि वेस्ना त्यसपछि हिँड्न सक्ने भइन् । तर शरीरमा केही यस्तो असर भयो कि डाक्टरले उनलाई कहिल्यै आमा बन्न नसक्ने बताए ।   उनको विवाह त भयो तर छिट्टै नै सम्बन्धविच्छेद भयो । वेस्नाले ड्युटी जोइन गर्ने कुरा गरिन् । तर अस्वीकार गरियो ,। तर ३३ हजार फिटको उचाईबाट खसेर पनि बाँच्ने वेस्नाको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भयो ।

 Vesna pictured in 2008

दुर्घटनाबारे केही खुलासा

यो दुर्घटना नभई आतंककारी हमला भएको बताइन्छ । बमलाई कुनै सुटकेसमार्फत् लगेज अपार्टमेन्टमा राखिएको थियो । त्यो समयमा विमानस्थलमा खासै त्यति धेरै चेकिङ हुँदैनथ्यो । बीबीसीको रिपोर्टमा बताइए अनुसार डेनमार्कको कोपेनहेगनमा एक स्टपओभरका बेला जेटभित्र एउटा बम राखिएको बताइन्छ । तर यो कुरा प्रमाणित भएन र कुनै गिरफ्तारी पनि भएन । थुप्रै वर्षपछि सन् २००२ मा एक अन्तरवार्तामा वेस्नाले भनेकी थिइन्, ‘मेरा सहयोगीलाई केही गलत हुन लागेको आभाष भएको थियो किनभने पाइलटले यो उडान हुनुअघिको २४ घण्टासम्म आफूलाई कोठामा बन्द गरेर राखेका थिए । उनी कोठाबाट बाहिर पनि आउन चाहँदैनथे ।’

द गार्जियनको रिपोर्ट अनुसार २५ डिसेमबर २०१६ मा वेस्नाको मृत्यु भयो । त्यतिबेला उनी ६६ वर्षकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!