विश्वकप फूटबलको अर्काे पाटो– साढे ७ सय अर्ब डलर खर्चिएर कतारले के पायो ?

Posted on: 19 Dec, 2022

पुस ४, काठमाडौँ | पश्चिम एसियाली मुलुक कतारले फूटबल विश्वकपको भव्य आयोजन गरेर विश्व राजनीतिमा आफ्नो सफ्ट पावर प्रदर्शन गरेको छ । 

विश्वकपकै इतिहासमा पहिलोपटक पश्चिम एसियाली तथा मुसलमानबहुल मुलुकले आयोजनाको अवसर पाएको थियो । त्यसमाथि आफैं कहिले पनि विश्वकपमा सहभागी नबनेको टीमले यसको आयोजना गर्नु आश्चर्यको कुरा बन्न पुगेको थियो । 

आयोजक राष्ट्रको हैसियतले कतार विश्वकप खेल्नका लागि स्वतः छनोट त भयो तर समूह चरणका सबै खेल हारेर ऊ इतिहासमा बदनाम पनि भयो । तथापि विश्वकप प्रतियोगिताको सफल आयोजनले उसको सफ्ट पावर हैसियत चाहिँ बढाइदिएको छ । 


आजभन्दा १२ वर्षअघि कतारले विश्वकप फूटबल आयोजनाको अवसर पाउने भनी घोषणा हुँदा धेरैले नाक खुम्च्याएका थिए । कतारमा फूटबलका लागि खासै संरचना निर्माण नभएको र त्यहाँ फूटबल संस्कृति समेत नरहेको भन्दै आलोचकहरूले कतारलाई आयोजनाको मौका दिनुको औचित्यमा प्रश्न उठाएका थिए । 

तर एक दशकको अवधिमा कतारले एक सम्पूर्ण नयाँ शहर निर्माण गरिदियो । त्यससँगै उसले अत्याधुनिक मेट्रो रेलप्रणाली पनि बनायो । अनि सयौं नयाँ होटल र अपार्टमेन्ट भवनहरू पनि उसले यही अवसरमा ठड्यायो । फूटबल खेलाउनका लागि उसले आठवटा स्टेडियम बनायो ।

फाइनल खेल भएको ठाउँ लुसेल शहर कतारले शून्यबाट शुरू गरेर बनाएको हो । राजधानी दोहाबाट उत्तरतर्फ रहेको लुसेल बनाउने योजना सन् २००५ मै बनेको भए पनि त्यसको पाँच वर्षपछि कतारले विश्वकप आयोजनको अवसर पाएपछि शहर निर्माणको कामलाई तीव्रता दिइएको एसोसिएटेड प्रेसका सुमन नैषधम लेख्छन् । 

बाहिरका मानिसलाई आफ्नो बारेमा सकारात्मक धारणा निर्माण गराउन कतार सफल हुनु उसको सफ्ट पावरको विजय हो । 

कतार सरकारको ४५० अर्ब डलर लगानीमा बनेको शहर चुस्तदुरुस्त तथा पैदलयात्रीमैत्री रहेको बताइएको छ । त्यसलाई दोहासँग जोड्नका लागि नयाँ मेट्रो तथा हलुका रेल पनि चलाइएको छ । विश्वकपलाई नै लक्षित गरेर तयार पारिएका अन्य पूर्वाधारमा २३० अर्ब डलर जति खर्च भएको अनुमान छ । 

कतारले बनाएका आठवटा स्टेडियमका पनि आआफ्नै विशेषता छन् । ती स्टेडियम बनाउन ६० अर्ब डलर खर्च भएको थियो । तीमध्ये ६ वटा स्टेडियममा विश्वकप सकिएपछि अब सीट संख्या घटाइनेछ । अनि लुसेल स्टेडियमलाई सामुदायिक केन्द्रमा परिणत गरिनेछ जहाँ विद्यालय, क्याफे, पसल र क्लिनिकहरू बन्नेछन् । 

९७४ स्टेडियमको कथा त झनै रमाइलो छ । ४४ हजारजना अटाउने यो स्टेडियम मालवाहक जहाजका कन्टेनरहरूबाट बनाइएको हो । 

अब यस स्टेडियमलाई खोलखाल पारेर कन्टेनरहरू झिकिनेछ अनि निर्माणका बेलामा उपयोग गरिएका सामग्री पुनः प्रयोग गरिनेछ । कतारको इन्टरनेसनल टेलिफोन कोड ९७४ हो भने स्टेडियम बनाउन पनि त्यत्तिकै संख्यामा कन्टेनरहरू उपयोग गरिएका थिए । 

विश्वकपका लागि कतारले यति भव्य तयारी गरेको भए पनि प्रतियोगिता शुरू हुनुभन्दा निकै अघिदेखि कतारमाथि पश्चिमाहरूको वक्रदृष्टि पर्न थालिसकेको थियो । विशेषगरी समलिंगीहरूप्रति कतारको कठोर रवैया तथा आप्रवासी कामदारहरूको मानवअधिकारलाई कतारले सम्मान नगरेको विषयमा पश्चिमाहरूले आलोचना मात्र नभई बहिष्कार अभियान नै चलाएका थिए । 

तर अनौठो कुरा चाहिँ कतारप्रतिको यो आलोचना जनताको स्तरमा भएको पाइयो । पश्चिमा सरकारहरूले भने औपचारिक रूपमा कतारलाई यस विषयमा र्‍याखर्‍याखती पारेनन् । चीनले शीतकालीन ओलम्पिक आयोजना गर्दा चाहिँ पश्चिमा सरकारहरूले एकमुख लगाएर चीनको मानवअधिकार रेकर्डका विषयमा आलोचना गरेका थिए । 

त्यसको पनि आफ्नै रोचक कारण छ । खाडीको धनी मुलुक कतार पश्चिमको रणनीतिक सहयोगी हो । कहाँसम्म भने अमेरिकाले एक वर्षअघि मात्र कतारलाई प्रमुख गैरनेटो साझेदार घोषणा गरेको थियो । 

अनि कतार प्राकृतिक ग्यासको प्रमुख निर्यातकर्ता समेत हो । रुस–युक्रेन द्वन्द्व चर्किएपछि पश्चिमाहरूले रुसी ग्यासको विकल्पको खोजी गरिरहेका छन् र त्यसक्रममा कतारसँग पनि सम्झौता गरिसकेका छन् । 

कतारले आफूसँग रहेको प्रचुर ग्यास भण्डारलाई हतियारका रूपमा उपयोग गर्न थालेको छ । 

गत साता युरोपेली संसद्का केही सदस्यहरू कतारबाट पाएको पैसाका बोराका साथ भेटिएको समाचार प्रकाशित भएपछि ठूलो विवाद जन्मेको थियो । कतारले आफ्ना नागरिकहरूलाई युरोपेली संघमा प्रवेशाज्ञारहित आगमनसम्बन्धी नीति बनाउन पैसा खुवाएको आरोप लागेपछि कतारको व्यापक आलोचना गरिएको थियो । 

त्यसको प्रतिकार गर्दै कतारले आफूमाथि झूटो आरोप लगाइएमा युरोपसँगको ग्यास निर्यात सम्झौता रद्द गरिदिने धम्की दिएको छ । युरोपेली ग्राहक बिच्किएर कतारलाई केही फरक पर्ने छैन किनकि उसले चीनसँग २७ वर्षका लागि ग्यास निर्यात सम्झौता गरिसकेको छ । 

आफूसँग भएको प्राकृतिक स्रोतको बलमा विश्व राजनीतिमा सशक्त हस्तक्षेप गर्न खोजिरहेको कतारले आफ्नो अर्थतन्त्रलाई प्राकृतिक स्रोतमा मात्र निर्भर गर्न खोजेको छैन । उसले आफूलाई अन्तर्राष्ट्रिय द्वन्द्वमा मध्यस्थकर्ताको भूमिकाका लागि पनि सक्षम बनाइरहेको छ । 

अगस्ट २०२१ मा अमेरिकी सैनिकहरू अफगानिस्तानबाट बहिर्गमन गर्दा कतारले नै त्यहाँका शरणार्थीलाई शरण दिएको थियो भने अमेरिकीहरूका लागि आधार इलाकाका रूपमा समेत भूमिका खेलेको थियो । अनि ट्रम्प प्रशासनको समयमा अमेरिकी तथा तालिबानी अधिकारीहरूबीचको वार्ताको सहजीकरण पनि कतारले गरेको स्मरणीय छ । त्यस्तै अमेरिकी र इरानी अधिकारीहरूबीच अप्रत्यक्ष वार्ताको लागि वातावरण मिलाउने र आतिथ्य दिने काम पनि कतारले गरेको छ ।


त्यससँगै कतारले चलाइरहेको अलजजीरा टीभीले पनि उसको सफ्ट पावरलाई संसारसमक्ष प्रस्तुत गरेको छ । यसलाई थप बलियो बनाउने काम चाहिँ विश्वकप फूटबल आयोजनले गरेको हो । 

सीएनएन डट्कममा इस्सी रोनाल्डले तयार पारेको सामग्रीमा उल्लेख भएअनुसार, विश्वभरिका फूटबल प्रशंसकहरू कतार पुगेर त्यहाँको संस्कृति तथा आतिथ्यको प्रत्यक्ष अनुभव गर्न पाए । त्यसले कतारका विषयमा फैलिएका विभिन्न भ्रमलाई चिर्ने काम गरेको छ । 

रोनाल्डले विश्वकप हेर्न कतार पुगेका समलिंगी जर्मन विद्यार्थी बेंग्ट कुनकेलको भनाइ उद्धृत गरेका छन् । कुनकेलले कतार अहिले देखिएको भन्दा निकै बढी सहिष्णु मुलुक भएको र उसले प्रमुख प्रतियोगिता आयोजनामा खुलापन देखाउनका लागि सम्पूर्ण प्रयास गरेको बताए । 

त्यस्तै इंग्ल्यान्डका २१ वर्षीय विद्यार्थी अर्णोव पल–चौधरीले दोहामा बसी संसारभरिका समर्थकहरूलाई भेट्दा तथा कतारीहरूको आतिथ्य सत्कारको अनुभव सुखद रहेको बताए । यसरी बाहिरका मानिसलाई आफ्नो बारेमा सकारात्मक धारणा निर्माण गराउन कतार सफल हुनु उसको सफ्ट पावरको विजय हो । 

कतारले आप्रवासी कामदारहरूको हकहितका लागि काम नगरेको आरोप पनि आधारहीन देखिन्छ । विश्वकप आयोजनको अवसर पाएपछि नै उसले विवादास्पद कफाला प्रणालीलाई भंग गरेको छ । उक्त प्रणालीले कतारी कम्पनी तथा त्यहाँका मूल बासिन्दाहरूलाई आप्रवासी कामदारको रोजगारी, गतिविधि तथा आप्रवासन हैसियतलाई नियन्त्रणमा लिने गर्थ्यो । मालिकहरूको मर्जीविना कामदारले हलचल पनि गर्न पाउँदैनथिए । 

कफाला खारेजीसँगै कतारको श्रम मन्त्रालयले सन् २०२० देखि कामदार सहयोग तथा बीमा कोष खडा गरेको छ । उक्त कोषमार्फत कतारले कामदारहरूलाई ३५ करोड डलरभन्दा बढी रकम वितरण गरिसकेको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएको छ । 

हुन त द गार्डियन पत्रिकाले सन् २०२१ मा एउटा रिपोर्ट प्रकाशित गरी कतारले विश्वकप आयोजनको अवसर पाएयता ६७ सय ५१ जना आप्रवासी कामदारको मृत्यु भइसकेको दाबी गरेको थियो । त्यसमा नेपाली कामदारहरू पनि परेका छन् । तिनमा ७० प्रतिशत कामदारहरूको प्राकृतिक कारणले मृत्यु भएको पत्रिकाले उल्लेख गरेको छ ।

कतार आफैंले चाहिँ यस संख्यालाई बढाइचढाइ प्रस्तुत गरिएको र जम्मा ३७ जना कामदारको मृत्यु स्टेडियम निर्माणका क्रममा भएको बताएको छ । उसका अनुसार, तीमध्ये तीनजनाको मृत्यु दुर्घटनाका कारण भएको हो भने ३४ जना अन्य कारणले मरेका हुन् । 

तर जति संख्यामा कामदार मरेको भए पनि मृत्युको वातावरण बन्नुमा सरकारकै कमजोरी झल्किन्छ । गार्डियनको रिपोर्टमा पनि कामदारको स्वास्थ्यलाई हानि गर्ने वातावरणमा काम गर्नबाट कतार सरकारले नरोकेको आरोप लगाइएको छ ।

कामदारको मृत्युलाई कतार सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने हुन्छ । कामदार कोष खडा गरेर कतारले त्यसको शुरूआत चाहिँ गरेको छ । कफाला प्रणालीलाई नब्युँत्याउने सुनिश्चितता तथा आप्रवासी कामदारका लागि थप सेवासुविधाको प्रबन्ध मिलाउनका लागि कतार सरकारलाई विश्वकप आयोजनले दबाब पनि दिएको हुनुपर्छ ।

आप्रवासी कामदारको मृत्युको विषयलाई पश्चिमाहरूले कतारको आलोचना गर्ने हतियारका रूपमा भविष्यमा पनि उपयोग गरिरहने भए पनि विश्वकप आयोजनले कतारलाई उपलब्ध गराएको सफ्ट पावरले उसलाई आर्थिक केन्द्रका रूपमा विकसित गराउन सक्ने देखिन्छ । 

बेलायतको ईवाई कम्पनीका प्रमुख अर्थशास्त्री पिटर आर्नोल्डले इन्भेस्टमेन्ट मोनिटर नामक वेबसाइटका जोन ह्वाइटेकरलाई बताएअनुसार, खेलकुद प्रतियोगिताहरूले आयोजक राष्ट्रलाई सफ्ट पावर दिलाउँछन् । उक्त नरम शक्तिलाई नापजोख गर्न सकिन्न तर यो अत्यन्तै प्रभावशाली हुन्छ । 

विश्वकप आयोजनको अवसर पाएकै कारण कतारले राजधानी दोहामा बनाएको नयाँ मेट्रो तथा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको स्तरोन्नतिले पनि उसलाई दीर्घकालीन लाभ दिनेछ । आखिर सन् २०१० मा दक्षिण अफ्रिकाले विश्वकप आयोजन गर्नुअघि जोहानेसबर्गमा बनाएको गाउट्रेन नामक नयाँ रेलमार्गले स्थानीय अर्थतन्त्रमा उल्लेख्य प्रभाव पारेको उदाहरण पनि पाइन्छ । 

देशमा लगानी भित्र्याउनका लागि विश्वकप फूटबल जस्ता किसिमका विभिन्न प्रतियोगिता आयोजनले कतारको प्रोफाइल बढाउन सहयोग गर्ने आर्नोल्डको भनाइ छ । 

अनि विश्वकप आयोजनको अवसर पाएकै कारण कतारले राजधानी दोहामा बनाएको नयाँ मेट्रो तथा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको स्तरोन्नतिले पनि उसलाई दीर्घकालीन लाभ दिनेछ । आखिर सन् २०१० मा दक्षिण अफ्रिकाले विश्वकप आयोजन गर्नुअघि जोहानेसबर्गमा बनाएको गाउट्रेन नामक नयाँ रेलमार्गले स्थानीय अर्थतन्त्रमा उल्लेख्य प्रभाव पारेको उदाहरण पनि पाइन्छ । 

कतार आफैंले विश्वकप आयोजनका कारण १५ लाखभन्दा बढी रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको थियो । अल्पकालीन रूपमा कतारको अर्थतन्त्रलाई पर्यटक आगमनले फाइदा पुर्‍याउने पनि उसको अपेक्षा थियो । अनि पर्यटकीय गन्तव्यका रूपमा आफ्नो अन्तर्राष्ट्रिय प्रोफाइल बढ्ने पनि उसले आशा गरेको थियो । विश्वकप आयोजनबाट उसले यसमा कत्तिको अपेक्षाकृत सफलता पायो भन्ने कुरा भविष्यले देखाउनेछ । 

तर आफैं अन्य अरबी मुलुकहरूको नाकाबन्दीमा परेर पनि दह्रो अडिएको र विश्वकप आयोजनासँगै सफ्ट पावरको मामिलामा खाडीका अरू मुलुकहरूभन्दा बढी परिचित बनेको कतारको भविष्य उज्ज्वल नै देखिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!