२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुष प्रजनन: विश्वभर शुक्रकीटको मात्रा निरन्तर घट्दै, के के हुन् कारणहरु?

२०७९, ५ पुष मंगलवार ०७:१४

पुस ५, काठमाडौँ | पुरुषको वीर्यमा हुने शुक्रकीटको औसत मात्रा विगत ५० वर्षमा ५१% ले घटेको बताइएको छ।

इजरेलस्थित हीब्रू विश्वविद्यालय तथा अमेरिकाको माउन्ट साइनाई स्कूल अफ मेडिसिनले हालै गरेको अनुसन्धानबाट प्रकाशमा आएको यो एक प्रमुख तथ्य हो। अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे भने अहिले त्यो मात्रा घटेर ४ करोड ९० लाखमा आइपुगेको छ। सङ्ख्या मात्र नभई शुक्राणुको गुणस्तरमा पनि ह्रास आएको प्रमाण भेटिएको छ। महिलाको डिम्बभित्र प्रवेश गर्न सक्षम शुक्रकीटको सङ्ख्या पनि पछिल्ला दशकहरूमा घटेको छ।


"सबभन्दा अनौठो त हामीले शुक्रकीटको गतिशीलताको ह्रासमा देखेका छौँ। यो क्षमताको अभावमा निषेचनको सम्भावना घट्छ," ब्रजिलिएन असोसिएशन अफ असिस्टिड रिप्रोडक्शनका उपाध्यक्ष तथा यूरोलजिस्ट र एन्ड्रोलजिस्ट मोएसर राफाएल राडाएलीले भने।"यो चिन्ताजनक विषय हो किनभने यो गिरावटको गति बढिरहेको छ। 

त्यसमाथि पुरुषहरूको शुक्रकीटको मात्रा खस्किने दर पछिल्ला वर्षमा झन् बढेको छ। इजरेल र अमेरिकामा गरिएको सोही अनुसन्धानका अनुसार सन् १९७० र १९९० को दशकबीच शुक्रकीटको मात्रा खस्किने दर प्रतिवर्ष १.१६% रहेकोमा सन् २००० को दशक सुरु हुँदै गर्दा त्यो दर बढेर २.६४% पुग्यो। अर्थात् त्यो गिरावट दोबरले बढ्यो। अनि यो संसारभरि नै देखिएको छ – सबै महादेशमा मानिसको शुक्रकीटको मात्रा घट्दो छ। युरोप, अफ्रिका, तथा मध्य र दक्षिण अमेरिकामा यो दर अन्यत्रभन्दा धेरै छ।

किन यसो भइरहेको छ त? विज्ञहरूले कम्तीमा पाँचवटा कारण उल्लेख गरेका छन्।

१. मोटोपना

शरीरमा बढ्ने हरेक अतिरिक्त किलोग्रामले शुक्रकीटलाई हानि हुने खालका परिवर्तनहरू गराउँछ। बोसो भण्डारण गर्ने एडिपोज तन्तुले सुजन गराउने तत्त्व निष्काशन गर्छ जसले पुरुषमा शुक्रकीट उत्पादनका निम्ति सबभन्दा महत्त्वपूर्ण मानिने टेस्टस्टरोन होर्मोनलाई प्रभावित गर्छ। मिरान्डाका अनुसार अधिक तौलले 'अक्सिडेटिभ' तनाव पनि निम्त्याउँछ जसले शरीर विभिन्न प्रकारका कोषमा हानि पुर्‍याउँछ। "साथै, मोटोपना भएका व्यक्तिको जननेन्द्रियवरपर धेरै बोसो हुन्छ जसले शुक्रकीटलाई धेरै नराम्रो असर गर्छ," उनले भने।


पुरुषका प्रजनन क्षमतायुक्त कोषहरूको उत्पादन अनि सञ्चय गर्ने अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअस कम तापक्रममा रहनुपर्छ। त्यसैले अण्डकोष शरीरबाहिर रहने गर्छ। बोसो तत्त्व बढ्दाखेरि त्यसले जननेन्द्रियको तापक्रम पनि बढ्छ र त्यसले तिनको कार्यक्षमता प्रभावित हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरिका पुरुषमध्ये ३९ प्रतिशतको तौल आवश्यकताभन्दा बढी छ भने ११ प्रतिशत मोटोपनाबाट पीडित छन्। यो तथ्याङ्कले पनि पछिल्लो पाँच दशकमा शुक्रकीटको मात्रा किन घटिरहेको छ भन्ने कुरा बुझाउन सहयोग गर्छ।

२. दुर्व्यसन

मदिरा, सुर्ती, भेपिङ, गाँजा, कोकेन अनि 'एनाबोलिक स्टेरोइड' … यी सबैबीचको समानता तपाईँलाई थाहा छ? यी सबैले पुरुषको शुक्रकीटको गुणस्तरमा प्रभाव पार्छन्। "यी मध्ये केही पदार्थले शुक्राणु उत्पन्न गराउने कोषिकाहरूलाई प्रत्यक्ष रूपमै हानि पुर्‍याउँछन्," मिरान्डा भन्छन्। अन्य पदार्थले अण्डकोषलाई क्रियाशील पार्न जिम्मेवार होर्मोन उत्पादनमा असर पार्दै अप्रत्यक्ष रूपमा हानिकारक कार्य गर्छन्। विशेषज्ञहरूले सबैभन्दा बढी दिने उदाहरण चाहिँ टेस्टस्टरोन प्रतिस्थापनका लागि भनेर मांसपेशी बढाउन व्यापक रूपमा प्रयोग गरिने चक्की, जेल र सुईहरू भएको औँल्याएका छन्। ''पछिल्ला वर्षहरूमा यसको बजार व्यापक र डरलाग्दो रूपमा बढेको छ,'' राडाएली भन्छन्। चिकित्सकका अनुसार जब कुनै कारणबिनै यो होर्मोनलाई प्रतिस्थापन गरिन्छ, शरीरले यसलाई प्राकृतिक रूपमा उत्पादन गर्नुपर्ने आवश्यकता नरहेको ठान्छ। अनि यसको प्रभाव शुक्रकीटको मात्रामा पर्न जान्छ।

३. यौनाङ्गबाट सर्ने सङ्क्रमण

क्लमिडिया र गोनोरियाजस्ता रोगहरू ब्याक्टेरियाको सङ्क्रमणबाट हुन्छन्। तिनले यसले 'एपिडिडिमिस' मा सुजन गराउन सक्छन्। यो भाग अण्डकोषसँग जोडिएको हुन्छ र यसमा शुक्रकीट सङ्कलित भएर बसेको हुन्छ। त्यसैले त्यहाँ कुनै प्रभाव पर्दा शुक्रकीटको अस्तित्वमा जोखिम निम्तिन्छ। सन् २०२० मा महिला र पुरुष दुवैमध्ये १२ करोड ९० लाख क्लमिडियाका अनि ८ करोड २० लाख गोनोरियाका नयाँ बिरामीहरू पाइएको विश्व स्वास्थ्य सङ्गठनले अनुमान गरेको छ। यसमा राडाएलीले तेस्रो जीवाणु पनि थपेका छन्: ह्यूमन पापिलोमाभाइरस जसलाई एचपीभी भनेर पनि चिनिन्छ। "यसले शुक्रकीटको उत्पादन वा त्यसको डीएनएमा समेत असर गर्ने थाहा भएको छ," उनले भने।

४. काखमा कम्प्युटर

सामान्यतया पुरुषको अण्डकोष शरीरको तापक्रमभन्दा १ देखि २ डिग्री सेल्सीअसले कम हुनु पर्छ। पछिल्ला दशकहरूमा भएका अध्ययनका अनुसार काखमा ल्यापटप वा नोटबुक राखेर प्रयोग गर्नाले शुक्रकीट उत्पादनमा थप खतरा पैदा गर्छ। त्यसको कारण ती उपकरणको ब्याटरीको तातो हो। यसले शुक्रकीटलाई प्रभाव पार्छ।


मिरान्डाका अनुसार उच्च तापमानमा गरिने गतिविधि – लामो समय लगाएर तातो पानीमा नुहाउनु वा 'साउना'मा बस्नुले पनि प्रजनन क्षमतामा समस्या पार्न सक्छ। प्रविधिसँग जोडिएको अर्को खतरा पनि छ। चिकित्सकहरूले 'विद्युत्-चुम्बकीय तरङ्ग', टेलिफोन 'सिग्नल' अनि ताररहित इन्टरनेटका सम्भावित नकारात्मक प्रभावको पनि चर्चा गरेका छन्। "प्रयोगशालामा गरिएको प्रयोगले वाईफाई अनि विद्युत्-चुम्बकीय तरङ्गले शुक्रकीटमा प्रभाव पार्ने देखाउँछ," उनले थपे। "तर यी प्रविधिहरूले यी कोषिकाहरूलाई साँच्चै हानि गर्छ कि गर्दैन भन्ने निश्चित हुन अझै सम्भव छैन।"

५. एन्डक्रिन अवरोधकहरू

एन्डक्रिन ग्रन्थिहरूले होर्मोन उत्पादन गर्छन्। विशेषज्ञहरूले एन्डक्रिन अवरोधक भनेर चिनिने विषाक्त यौगिकहरूको बारे पनि चर्चा गरेका छन्। यो सूचीमा वायुमण्डलमा फेला परेका प्रदूषक तत्त्वका साथै प्लास्टिक र कीटनाशकहरू समाविष्ट छन्। यी अणुहरूको संरचना हाम्रो शरीरको होर्मोनसँग मिल्दोजुल्दो छ जसकारण यी कोषिकाका रिसेप्टर अर्थात् ग्रहण गर्ने भागमा मिसिन सक्छन्। त्यसो हुँदा अवाञ्छित र अनपेक्षित प्रक्रियाहरू सुरु हुनसक्छन्। एउटा पछिल्लो अध्ययनले यसले पुरुषहरूको प्रजनन क्षमतामा प्रभाव पार्ने देखाएको छ। -बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण