धादिङबासीको ख्यातिप्राप्त मण्डलीमाई (भिडियो सहित)

Posted on: 19 Jul, 2023

अनिल अधिकारी । धादिङ जिल्ला भौगोलिक, धार्मिक, सांस्कृतिक र जातीय विविधताले धनी जिल्ला हो । यहाँ कयौं धार्मिक आस्थाका धरोहरहरु प्रचारको कमीको कारण छायाँमा परेका छन् । यस्तैमा नाम लिनु पर्दा जिल्लामै कयौं धार्मिक आस्थावानहरुको मनमुटुमा छिन् मण्डली माई । 

धादिङ र धादिङसँग सिमाना जोडिएका गोरखाका बासिन्दाहरुले भाकल गर्ने क्रममा मण्डली माईको भाकल गर्ने चलन छ । केहि कुरा मनले चिताएको छ भने वा कुनै संकट/समस्यामा भएको अवस्था छ भने 'हे मण्डली माई' भन्दै मण्डली भाक्ने चलन छ ।  

हिन्दु धर्ममा यहिनै सकारात्मक कानुन हो । यसरीनै आस्थालाई जोडेर धर्मकै परिधिमा समाजका मान्छेहरु अनुसाशनमा छन् । त्यसैले भनिन्छ 'धर्म हराएको अवस्थामा मात्र प्रमाण चाहिन्छ । यहाँ मण्डली माईलाई यसै विषयमा जोडेर भन्नु पर्दा अहिलेसम्म पनि गाउँघरमा यस्तो छ कुनै गल्ति गरेको, चोरेको वा कुनै कुराको सत्यताबारे कसैले संका गर्यो भने पनि 'मण्डली माइले सक्ला' भनेर आफ्नो अनुसासनको प्रष्टीकरण दिइन्छ । सम्भवत: धर्मको पथमा हिड्ने कयौं मानिसहरुले अझै सम्म पनि मन्दिरको नाम लिएर झुटो बोल्दैनन् पनि । योनै हाम्रो धर्मको सबैभन्दा सबल र सकारात्मक पक्ष हो ।

हामी आज कुरा गर्दै थियौं मण्डली माईको । मण्डली भाकेपछि केहि अवधिमा भाकल अनुसारको पाठी सहित पुरुषहरु मात्र मण्डलीको भाकल पुरा गर्न आउँछन् । त्यस क्रममा सबै पुरुषहरुले मण्डलीको परिसरकै आसपासका क्षेत्रमा बनभोज खाएजसरी बलि चढाएको प्रसाद बनाई ग्रहण गर्ने गर्छन् । जति प्रसाद बनेको छ घर फिर्ता लिएर जान नमिल्ने प्रथा चलनमा छ ।  


मण्डली माई एक देवी हुन् । उनलाई पाठी बलि दिने चलन छ । त्यसो त मण्डलीमा बलि चढ्ने पाठीको सम्बन्धमा धार्मिक मान्यता अनुसार केहि नियमहरु लागु हुन्छन् । बलि दिने पाठिको उमेरदेखि सारीरिक अवस्थाको समेत ख्याल गरिन्छ । जन्मिएपछि २२ दिन भन्दा बढी उमेरकी पाठी, त्यो पनि कहिककतै घाउचोट तथा खुट्टा नभाचिएको अवस्था छ भने मात्र बलिको लागि उपयुक्त मानिन्छ । 

मण्डली धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्वर ४ मा अवस्थित छ । मण्डलीमा भाकल गरेपछि मनोकामना पुरा हुने विस्वासका साथ बर्षौंदेखि यहाँ हरेक मंगलबारका दिन भाकल चढ्दै आएको छ । यहाँ बिशेष गरि ज्वालामुखी गाउँपालिका भित्रकै भक्तालुहरुको बढी उपस्थिति रहने गरेको छ । तर नेपालको धार्मिक स्थलहरुलाई केलाउँदा यो धार्मिक स्थल प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थलहरूमै पर्दछ । यहाँ पुग्न धादिङबेसीबाट लगभग तीन घन्टा पैदल हिड्नुपर्छ । पछिल्लो समय सडक बाटो पुगेपछि ४५ मिनेटमै पुग्न सकिन्छ । 

यहाँ मंगलबारका दिन बाख्राका पाठी लिएर भाकल पुरा गर्न भक्तालुहरुको ठेलमठेल हुने गरेको छ । साविकको ढोला गाविसमा पर्ने मण्डलीमाईको उत्पत्तिको किंवदन्ती विचित्र छ । परापुर्व कालमा त्यतिबेला एकजना मगरजातिका मानिस घर बनाउनका लागि सालको थाम काट्ने उद्देश्यले बन्चरो लिएर वनमा आए । सालको रूख काट्न लाग्दा बन्चरोको धार गयो । सालको रूखमा डोब पनि लागेन । यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा फर्किए । भोलिपल्ट धार झरेको बन्चरो आरनमा गई अर्जापेर ल्याए र फेरि सालको थाम काट्न त्यही अघिल्लो दिन काट्न लागेको सालको रूख ढाल्न भनी गए । पहिलोपटक बन्चरोले सालको रुखमा प्रहार गर्दा उक्त रूखबाट रातो रगत बग्न थालेछ । त्यो देखेर ती मगर आश्चर्यचकित हुँदै रूख काट्नै छोडेर घर फर्किए ।

सोहि दिन बेलुका खाना खाएर सुतेपछि राति सपनामा कसैले भनेछ ‘म मण्डली माई हु्ँ । म यही सालको रूखमा बसेकी छु । यो सालको रूखलाई काट्न प्रयास नगर्नू । गाउँ, सहर, राष्ट्र र त्यहाँका निवासी सबैलाई सङ्कट आइपरेको बेलामा मैले संरक्षण गर्नेछु । मेरा पूजाविधि निम्न प्रकारको छ । जस्तैः पूजा गर्नका लागि १२ वर्षभित्रको कुमार केटो हुनुपर्छ । बाख्राका पाठीहरू मेरा निम्ति भोग लगाउनुपर्छ । लावा, चन्दन, अक्षता, फूल, नैवेद्य, फलफूल आदिद्वारा मेरो पूजाआजा गर्नुपर्छ । महिलालाई यहाँ आउन र मेरो प्रसाद खान नदिनु । पूजा गरेपछि प्रसाद घरमा लैजान नदिनु । भोग दिएको पाठी त्यतै कुनै ठाउँमा भोज गर्नु । मेरो पूजा हरेक वर्षको चण्डीपूणिर्माको दिन निमपूजा गर्नु ।’ त्यहि बेलादेखिनै मण्डलीमा भाकल पुजा गर्न थालिएको बताइन्छ । 

मण्डली भाकल गरेको कुरा पुग्दै आएको विश्वास सहित यहाँ आई भाकल चढाउनेहरु र यो मन्दिरप्रतिको आस्था अझै पनि उतिकै जीवित छ । पछिल्लो समय बसाईसराई गरि बिभिन्न जिल्ला पुगेकाहरुले समेत मण्डलीको भाकल पुरा गर्न आउने गरेका छन् । साथै विदेश रहेकाहरुले समेत आफ्नो भाकल बिदामा आएको बेला चढाउने गरेका छन् । मण्डलीसँग सम्बन्धित अरु पनि केहि किम्बदन्ती छन् जसले मण्डलीको प्रसाद ग्रहण र पुजा गर्दाको अनुसासनलाई दिशानिर्देश गरेको छ । 

मण्डलीमाईको शक्ति र सत्यतामा शंका नगर्न भाकल गर्नेहरु भन्छन् । केहि बर्ष अघिसम्म यहाँ कथित दलितहरुलाई प्रवेश दिईएको थिएन । एक पटक यो विषयले अदालतनै प्रवेश पाएको थियो । अदालतबाट आएको आदेश अनुसार यहाँ प्रवेशको लागि कसैलाई नरोक्न भनियो । जसको प्रभावले अहिले यहाँ त्यस्तो भेदभाव हुन छाडेको छ । जसको कारण अहिले यहाँ जातिका नाममा कसैलाई रोकतोक छैन । धार्मिक आस्था हुने जोसुकै यहाँ आउन सक्छन् । आफ्नो भाकल पुरा गर्न सक्छन् । यहाँ साउन महिनाभर र सोर्हश्राद्ध चल्दा भने पुजाआजा चल्दैन । पुजा लाग्ने दिन यहाँ दुई हजार भन्दा बढी मानिसहरुको उपस्थिति रहने गरेको छ । 

पछिल्लो समय यहाँ आउने भक्तालुहरुको सुविधाको लागि नियमित बार्षिक बजेटहरु तर्जुमा गरिने समेत गरिएको छ । मण्डली माईको अझै धेरै प्रचार अभावको कारण यसको धार्मिक आस्था ओझेलमा परेको बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!