एमालेका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ

Posted on: 17 Jul, 2023

साउन १, रुपन्देही | नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका छन् |

लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरीले जानकारी दिए ।

यादवले गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवको नाममा काटेको चेक अनादर(बाउन्स) भएको थयो। यादवले १२ लाख २८ हजार रुपैयाँ चेक काटेर दिए पनि पटक पटक बैंक जाँदा खातामा रकम नभएको देखिएपछि चेक अनादर (बाउन्स) भएको थियो। 

भुक्तानीका लागि चेक लिएका यादवले प्रहरीमा पूर्वमन्त्री यादवविरुद्ध चेक बाउन्सको उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले यादवलाई आइतबार बाँकेको डुडुवा गाउँपालिकाको होलियाबाट नियन्त्रणमा लिएको हो। 

२०७४ सालको प्रदेश सभा निर्वाचनमा यादव बांके क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित यादवले पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री एमाले नेता शंकर पोखरेललाई समर्थन गर्दै सरकारमा सहभागी भएका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!