चीनद्वारा संघीय संसद् सचिवालयलाई ८ वटा विद्युतीय सवारीसाधन सहयोग

Posted on: 18 Jul, 2023

साउन २, काठमाडौँ | चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोगस्वरूप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकाङ्ग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरूप ती सवारी साधन प्राप्त भएको हो । 

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव  सुरजकुमार दुराले जानकारी दिए । 

करिब रु तीन करोड मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो ।

हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र  नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ । यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरूप केही सवारी साधन उपलब्ध गराएको थियो । विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!