कुनै पनि हालतमा सेनाको सङ्ख्या घटाउनु हुन्न : वामदेव गौतम

Posted on: 20 Jul, 2023

साउन ४, काठमाडौँ | राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । गौतमले राष्ट्र र नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गरे ।

बिहीवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै ऊनले सेनाको सङ्ख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि दुई लाख सेना थप गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् |  त्यसो गरियो भने सेनाले आउँदो पाँच वर्षभित्र देशलाई आत्मनिर्भरमात्रै बनाउने नभई विदेश निर्यात गर्ने देशको स्तरमा पुर्‍याउने गौतमले दाबी गरेका छन् ।

उनले भने, ‘नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन । नेपाली सेना अहिले लगभग ९६ हजारको छ । नेपाली सेनाले धेरैधेरै अफ्ठ्यारोमा नेपाल राष्ट्रको रक्षा गरेको छ । नेपाली नागरिकको रक्षा गरेको छ । जसले सेनाको सङ्ख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ, म ती साथीहरूलाई सेनाको इतिहास पढ्न आग्रह गर्छु । नेपाली सेनालाई एक लाख राख्नु । अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण तथा औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा राख्नु । सेनाले गरेर देखाउँछ । र उसले पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन विदेश पठाउने गरी देशमा उत्पादन बढाउन सक्छ ।’

सदस्य गौतमले गौरवगाथाले भरिएको सेनाको सङ्ख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको सङ्ख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!