सोमबारदेखि २९ विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडान गर्न नपाइने

Posted on: 03 Aug, 2023

साउन १८, काठमाडौँ | खराब मौसमका कारण हुनसक्ने हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न दुर्गम भेगका २९ वटा विमानस्थलमा जुलाईदेखि सेप्टेम्बरसम्म (तीन महिना) दिउँसो साढे बाह्र बजेपछि व्यवसायिक/चार्टर उडान गर्न नपाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरेको हो ।

‘यो नियम जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनाका लागि हो,’ प्राधिकरणका एक उपमहानिर्देशकले भने, ‘असोज १३ गतेसम्म दुर्गमका विमानस्थलमा दिउँसो साढे १२ बजेपछि बन्द हुने छन् ।’ यो नियम अनुसार, अब ताप्लेजुङ, मनाङ, जोमसोम, फाप्लु, सिमकोट, भोजपुर, डोल्पा, थामखर्क, रारा, मसिनेचौर, बाजुरा, साँफेबगर, चौरजहारी, दाङ, रुम्जाटार, बैतडी, डोटी, टिकापुर, महेन्द्रनगर, इलाम, खिजिचण्डेश्वरी, गुल्मी, सल्ले, खानिडाडा, काँगेलडाडा, बाग्लुङ, दार्चुला र मेघौली विमानस्थलमा १२ः३० बजेपछि उडान हुने छैनन् ।


प्राधिकरणको विमानस्थल सञ्चालन निर्देशिकाले उडान सञ्चालनको समय बिहान ६ः४५ देखि दिउँसो १२ः३० सम्म तोकेको छ । तर, वायुसेवाहरुको अनुरोधमा प्राधिकरणले ५ वर्षअघि यो नियम खुकुलो बनाउँदै वायुसेवाहरुलाई १२ः३० पछि पनि चार्टर/व्यवसायिक उडान अनुमति जारी गर्दै आइरहेको थियो ।

केही दिनअघि नेपालगञ्ज विमानस्थलले खराब मौसमका कारण सिमकोटको उडान रोकेको थियो । तर, त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलले दिउँसो ३ बजे एक निजी वायुसेवालाई काठमाडौंबाट सिमकोट उडान अनुमति जारी गर्‍यो । यो प्रकरणपछि प्राधिकरणले उडान अनुमतिमा संलग्न कर्मचारीहरुलाई चेतावनी दियो । ‘उक्त घटना जानकारीमा आएपछी सम्बन्धित कर्मचारी र सरोकारवालाई चेतावनी दिइएको थियो,’ ती उपमहानिर्देशकले भने, ‘एउटा विमानस्थलले मौसम खराबी हुँदा अर्कोले उडान अनुमति दिनु सर्वसाधरणको जीउधनको सुरक्षामा संवेदनशील नहुनु हो ।’

उक्त घटनापछि प्राधिकरणले अतिरिक्त समयमा चार्टर उडान अनुमति दिने क्षेत्राधिकार काठमाडौंबाहिर रहेका विमानस्थल कार्यालय तथा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट झिकेको छ । ‘०४६ अघि नेपाल वायुसेवा निगमले दिउँसो १२ः३० बजेपछि दुर्गम उडानमा गर्दैनथ्यो । पाइलटले हुन्न भनेपछि कसैले पनि दबाब दिँदैनथे । कसैको पनि ज्यानलाई खतरा हुने गरी अब बर्खाको मौसममा उडान अनुमति जारी हुने छैन । हेरेर हुने भीएफआर उडान हुन सक्ने भए चार्टर उडानको गम्भीरताका आधारमा केन्द्र (प्राधिकरण) ले अनुमति जारी गर्न सक्ने छ ।’

यी दुर्गम विमानस्थलबाहेक अरु विमानस्थल तथा हवाई रुटको मौसम खराब भए जबर्जस्ती उडान गर्न पाइने छैन । यसका लागि प्राधिकरणले केन्द्रमा एयर ट्राफिक कन्ट्रोलर (एटीसी), फ्लाइट अपरेसन निरीक्षक (पाइलट) र एयर ओर्दिनेश इन्जिनियर सम्मिलित तीन सदस्यीय समिति बनाएको छ । अधिकारीहरुका अनुसार, यसले देशभरका सबै विमानस्थल तथा इनरुटको मौसम केन्द्रबाट अनुगमन गर्ने छ । ‘उडान सुरक्षामा चुनौती देखिए यो तीन सदस्यीय विज्ञहरुको टिमले विमानस्थल सञ्चालन रोक्न सक्ने छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यसलाई विशेष अधिकारी प्रत्यायोजन गरिएको छ । मौसमको जोखिम अनुसार विमानस्थल खोल्ने/बन्द गराउन बिहानदेखि बेलुकीसम्म यो टिम तयारी अवस्थामा रहने छ ।’ आन्तरिक विमानस्थलले चुस्तदुरुस्त रुपमा उडान सञ्चालन गरे/नगरेको हेर्ने अधिकार पनि उक्त टिमलाई दिइएको छ ।

यसैबीच प्राधिकरणले आन्तरिक उडानमा रहेका पाइटलहरुलाई उडानमार्ग तथा गन्तव्य विमानस्थलको मौशम उडानका दृष्टिले अनुकुल भएमात्रै वायुयान उडान निर्देशन दिएको छ । ‘प्रमुख वायुयान चालक (पाइलट इन कमाण्ड) सन्तुष्ट हुनुपर्छ । मौसम अनुकूल नभए पाइलटले जहाज उडाउन नमिल्ने प्राधिकरणको नियमावलीमा समेत उल्लेख भएकाले पुनः सबै वायुसेवालाई पत्राचार गरिएको छ,’ ती उपमहानिर्देशकले भने ।

नेपालमा ५२ वटा विमानस्थल छन् । यीमध्ये ३३ वटा मात्रै सञ्चालनमा छन् भने १९ वटा जहाज तथा यात्रुको अभाव लगायतका कारण सञ्चालनमा छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!