२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ

२०८१, ११ मंसिर मंगलवार १५:०४

काठमाडौँ | प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिरासतमा भएको मौका छोपेर आफू विरुद्ध केही मिडियाले गलत प्रचार गरिरहेको बताएका छन् ।

लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय, रुपन्देहीबाट गैरकानूनी क्रियाकलाप भएको दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र महान्यायाधिवक्ता रमेश बडालको गम्भीर ध्यानाकर्षण समेत गराएका छन्।

हिरासतबाटै लामिछानेले आफ्नो सत्यको पक्षमा अडिग रहेको भन्दै “सत्यमाथि शक्ति प्रदर्शन” नगर्न चेतावनी दिएका छन्। उनले न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा रहेको उल्लेख गरेका छन्।

उनले नागरिकले दुःख नपाउन् भनेर शान्तिपूर्ण आन्दोलनसमेत रोकेको स्मरण गराउँदै आफूविरुद्ध राज्य र केही सञ्चारमाध्यम सुनियोजित रूपमा लागिरहेको आरोप लगाए। लामिछानेले भने, “यसो गर्दा हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने अवस्था आउनेछ।”

उनको यो सन्देश पार्टी नेता तथा सांसद मनिष झासँगको कुराकानीबाट सार्वजनिक भएको हो। मनिष झाले लामिछानेको भनाइलाई आफ्नो फेसबुक स्टाटसमा उद्धृत गर्दै सार्वजनिक गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहनुभएका रास्वपा सभापति रवि लामिछानेको सन्देश:

केही मिडियाले संगठित रुपमा आक्रमण गरेको खबर रवि दाइले जानकारीमा राख्नु भएको छ। हिरासत बाहिर हुँदा उहाँले हरेक ‘फेक’ तथा ‘मिस लिडिङ’ न्यूजको तथ्य र प्रमाणसहित जवाफ दिँदै आउनु भएको थियो। प्रेसमिट समेत गरेर प्रश्नहरुको सामना तथा सवालहरुको सप्रमाण जवाफ दिनुभएको थियो। अहिले उहाँलाई एक शब्द, वाक्य बोल्न दिने त परेको कुरा अनुहारको भावसमेत नदेखियोस् भनेर थुनेर/छेकेर राखिएको छ। यसरी थुनिएको मौका छोपेर कायरतापूर्वक गरिएको ‘मिडिया ट्रायल’ र संगठित मिडिया आक्रमणको तथ्य प्रमाणसहितको जवाफ दिन पाए त हुन्थ्यो तर यतिबेला धैर्यतापूर्वक प्रतिक्षा गर्नुको विकल्प उहाँसँग छैन। पटकपटक गलत समाचार लेखेर माफी माग्दै आएकाहरुलाई जवाफ दिन होइन उहाँ आमनागरिकलाई भ्रम नपरोस् भन्नेमा चिन्तित हुनुहुन्छ।

जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न मिल्छ? जिल्ला सरहकारी वकीलको कार्यालय, रुपन्देहीको नियत संगठित ‘मिडिया ट्रायल’लाई सघाउने हो? सिंगो राज्य संयन्त्र र केही मिडिया उहाँविरुद्ध कसरी लागेका छन् भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला! उहाँले हस्ताक्षर गरेका चेकबारे दिएको जवाफ भनी उहाँकै जवाफलाई तोडमोड गरी अझ एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बङ्ग्याएर आममानिसमा भ्रम छर्ने काम कायरताको पराकाष्ठा हो। हातखुट्टा बाँधेर, मुख थुनेर, खोरभित्र कोचेर, खोर बाहिरबाट ढुंगा हान्ने तहको कायरता उहाँले कल्पना नै गर्नुभएको छैन।

हिरासत कक्षमा भएको भेटमा रवि लामिछानेले भन्नुभयो–

‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई÷तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ। सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो।’

दोस्रो कुरा भन्दै उहाँले अगाडि भन्नुभयो–

‘मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रष्ट रुपमा भनेको थिएँ। सहकारीबाट ऋण लिने कुनै निर्णय कम्पनीले गरेको छैन। कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिवी राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमा कुनै चेकहरु काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला। साथै, व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो कि? जे भए पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाट ऋण लिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्ता तिर्न भनी कुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिक भएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको थिएँ।’

कम्पनीको जिम्मेवारी पूरा गर्दा पनि आफूमाथि निरन्तर अन्याय गरिएको भन्दै रवि लामिछानेले भन्नुभयो–

‘तर यस प्रसंगलाई यसरी उचालिएको छ कि मानौं मैले सहकारीबाट ऋण मागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेला प¥यो। गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानी दिन प्रदान गरिएका चेकहरुबारे तथा कार्यकारी अध्यक्षको निर्देशन पालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी, वा व्यक्तिका हकमा मेरो जवाफदेहित रहन्छ। प्रचलित कम्पनी ऐन बमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट मैले निमुख हुन्छु भनेको छैन, हुन्न। तर, सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नता थिएन, छैन। मैले गोर्खा मिडियाका खाताहरु रहेको चेकमा हस्ताक्षर गरी भुक्तानी गर्दा कुन–कुन चेकले कुन–कुन कानूनको उलंघन भयो? आज पो सुप्रिम, सूर्यदर्शनजस्ता सहकारीका समस्या सार्वजनिक भयो। तीन वर्ष अगाडि लगानीकर्ताको निर्देशसनसँगै निश्चित विधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तिय संस्था, सहकारी वा कुनै कम्पनीलाई दिइने चेकमा हस्ताक्षर गर्न किन सोच्नुपथ्र्यो र?’

निजी क्षेत्रमा भइरहेका अभ्याससहित आफूविरुद्ध गरिएको षड्यन्त्रबारे उहाँले भन्नुभयो–

‘निजी क्षेत्र विश्वासमा चल्छ। मैले हस्ताक्षर गरेका चेकहरु गोर्खा मिडियाका चेकहरु हुन्। कम्पनी ऐनको अधिनमा रहेर गरिएका प्रत्येक कारोबारको जवाफ म दिन्छु। सहकारीका कुरा सहकारीका मान्छेले जानुन्। सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन भनेर संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पृष्ठ नम्बर ४४९ मा लेखेको छ। ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्नेमा सहकारी ठगीको झुटो मुद्दामा गिरफ्तार गरियो, अझ प्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दा लगाइँदैछ। त्यतिले नपुगेर सरकारी वकील कार्यालय नै लागेर मेरा बयानका अधुरा, अपुरा र मेरोविरुद्ध हुनेगरी मिडियालाई सूचना चुहाउने कार्य हुँदैछ।’

रवि लामिछानेले चेतावनीपूर्ण रुपमा अगाडि भन्नु भएको छ–

‘म चाहिँ नागरिकले दुःख नपाउन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनी मेराविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने? यसरी एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नाङ्गो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायलयमा पनि चल्छ भन्दै खुलमखुला तर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ।’

हिरासत कक्षको पाँच नम्बर कोठाबाट छुटिदै गर्दा यो सन्देश चाहिँ नछुटोस् है भनेर भन्नुभयो–
‘म जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीबाट भएको गैरकानूनी क्रियाकलापप्रति सम्माननीय प्रधानमन्त्रीज्यू र महान्यायाधीवक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यायका कयौं सीमारेखा पार भइसके, सत्यमाथि शक्ति प्रदर्शन बन्द होस्। मलाई न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा